अफगानिस्तानमा तालिबान सरकारले महिला मामिला मन्त्रालय बन्द गरेको छ। त्यसको सट्टामा तालिबानले धार्मिक सिद्धान्त लागू गराउने मन्त्रालय राखेको बीबीसीले जनाएको छ।
शुक्रबार महिला मामिला मन्त्रालयको बोर्ड हटाएर सद्गुण प्रचार तथा दुर्गुण रोकथाम मन्त्रालय राखिएको हो।
सामाजिक सञ्जालमा मन्त्रालयका महिला कर्मचारीले कार्यालयबाहिर काम गर्न पाउनुपर्ने माग गर्दै गरेको भिडिओ सार्वजनिक भएका छन्।
सन् १९९० तिर तालिबानले यो मन्त्रालयमार्फत् महिलाहरूमाथि इस्लामिक नियम र कडा प्रतिबन्धहरू लागू गरेको थियो।
पछिल्लो २० वर्षयता अफगानी महिलाहरूले आधारभूत अधिकारको लागि लड्दै आएका थिए। तर अब तालिबान आएपछि महिलाहरू आफ्नो अधिकार गुमाउने डरमा छन्। तालिबानले हालै बनाएको सरकारमा पनि सबै मन्त्रीहरू पुरूष छन्।
यद्यपि तालिबानले आफूहरू बदलिएको दाबी गरिरहेका छन्।
मानव अधिकार समूहहरूले सद्गुण प्रचार तथा दुर्गुण रोकथाम मन्त्रालयको विरोध गर्दै आएका छन्।
तालिबानी अधिकारीहरूले भने यो संस्था आवश्यक भएको बताउँछन्।
'प्रमुख उद्देश्य भनेको इस्लामको सेवा गर्नु हो। त्यसैले यो मन्त्रालय अनिवार्य हुनुपर्छ,' तालिबानी सदस्य मोहम्मद युसुफले न्यू योर्क पोष्टसँग भने।
यो मन्त्रालय तालिबान सुरूमा आउनु अगाडि नै थियो। तर पछि सन् १९९६ र २००१ मा यसलाई उनीहरूले अझ ठूलो बनाएको बीबीसीले जनाएको छ।
मन्त्रालयले नैतिक प्रहरी सडकमा उतार्ने गर्छ। र शरिया नामक इस्लामिक कानुनको कडा पालना गराउँछ।
तालिबानले यस पटक आफूहरूले उदारवादी शासन गर्ने प्रतिवद्धता जनाए पनि महिलाहरूलाई काममा फर्किन अनुमति दिएको छैन र विश्वविद्यालयमा लगाउन सक्ने पहिरनबारे नियम लागू गरेका छन्।