प्रतिष्ठित र धनाढ्य पुरूषसँग नजिकिएर 'इमोस्नल ब्ल्याकमेलिङ' गरी लाखौं असुल्न खोजेको आरोपमा घोराहीका तीन महिला पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले पक्राउ परेका तीन जना महिलालाई आइतबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १५ की ३२ वर्षीया सीतादेवी थापा, सोही ठाउँकी ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियार छन्।
असार ६ गते थापा र वली मिलेर ती पीडितलाई फोन गरी एक रेष्टुरेण्टमा बोलाएका थिए।
‘आफूहरूको घरायसी मुद्दा रहेको र तपाईं कानुन विषयको जानकार रहेको भन्दै बोलाएको देखिन्छ,’ दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले भने, ‘तर, पछि उनीहरूले रेष्टुरेन्ट साहुसँग कुरा गरी क्याबिनमा मासु बियर मगाएर खाइसकेपछि रात पर्यो अब घर जामभन्दा ती पुरूषमाथि तथानाम गालीगलौज गर्दै बलात्कार गर्न खोजेको आरोप लगाएको पीडितको जाहेरीमा छ।’
एसपी काफ्लेले तीन जना महिलाहरूको समूहले प्रतिष्ठित र धनाढ्य व्यक्तिसँग सुरूमा आफ्नो दुःख देखाउने, होटलमा लगेर चिया नास्ता खाने र त्यसपछि बियर खान कर गरेर आफूलाई हातपात तथा बलात्कार गर्न खोजेको भन्दै इमोस्नल ब्ल्याकमेलिङ गरी लाखौं असुल्ने षडयन्त्र गरेको पीडितको जाहेरीको आधारमा पक्राउ गर्नुपरेको बताए।
‘तीन जना महिला मिलेर हनी ट्रयापजस्तै गरी प्रतिष्ठित व्यक्तिलाई आफ्नो दुःख देखाएर जालमा फसाउने षडयन्त्र गरेको प्रमाण प्रहरीले फेला पारिसकेको छ,’ एसपी काफ्लेले भने, ‘उनीहरूको बीचमा ती व्यक्तिबाट उठाएको रकम भागबन्डा गर्ने सहमति भएको अडिओ पनि प्रहरीसँग सुरक्षित छ।’
थापाले बलात्कारको मुद्दा हाल्छु भन्दै ब्ल्याकमेल गरेकी थिइन्।
गत असार ७ गते वलीले पीडितलाई फोन गरी थापाले बलात्कारको मुद्दा हाल्छु भनेको हुँदा बसेर छलफल गरे आफूले मिलाइदिने भन्दै पीडितलाई बोलाएकी थिइन्।
पीडितलाई उक्त दिन घोराहीस्थित एक लजमा बोलाएर तीन जना मिलेर 'इमोस्नल ब्ल्याकमेलिङ' गरी एक लाख नगद लगेको प्रहरीले बताएको छ।
तीन जना मिलेर ती प्रतिष्ठित व्यक्तिविरूद्ध आफूमाथि होटलमा बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दिने भन्दै ब्ल्याकमेलिङ गरी सुरूमा ५० लाखसम्म बार्गेनिङ गरेको र पछि १८ लाखमा डिल फाइनल गरेको देखिन आएको एसपी काफ्लेले बताए।
‘असार ६ गतेदेखि आफूमाथि बलात्कारको प्रयास भएको भन्दै बार्गेनिङ सुरू भएको पीडितको जाहेरीमा उल्लेख छ,’ एसपी काफ्लेले भने, ‘त्यही बहानामा पीडितले असार ७ गते एक लाख नगद बुझाएको देखिन्छ र थप १७ लाखको चेक दिएको प्रमाण फेला परेको छ।’
चेकमा भदौ १५ गतेको अन्तिम भाका थियो। ती महिलाहरूले दुई पटकसम्म बैंकमा पुगेर चेक बाउन्स भएको थाहा पाएका थिए। तेस्रो पटक मिति बनाउन आउने थाहा भएपछि पीडित प्रहरीमा जाहेरी लिएर आइपुगेको एसपी काफ्लेले जानकारी दिए।
‘एकातर्फ पीडित व्यक्तिले आफ्नो सामाजिक इज्जतका कारण आफ्नै श्रीमती र परिवारका सदस्यहरूलाई पनि कुरा भन्न नसकेको र बलात्कारको मुद्दा लाग्दा श्रीमती तथा घर परिवारसँगको सम्बन्ध बिग्रने स्थिति आएपछि मर्नु कि बौलाउनुको अवस्थामा म प्रहरीमा आएको हुँ भनेर पीडितले पीडा पोख्नुभएको छ,’ एसपी काफ्लेले भने, ‘यसअघि पनि यस्ता थुप्रै ब्ल्याकमेलिङका घटना दाङ लगायतका देशका अन्य ठाउँमा पनि भएका छन्।’
पीडितको जाहेरीको आधारमा असोज १ गते तीन जना महिलाहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले घटनाबारे अनुसन्धान जारी रहेको बताए।