कोरोनाभाइरसका कारण संसारभरिको अर्थतन्त्रमा विभिन्न रूपले असर परेको छ। संक्रमण रोक्न सरकारहरूले देशव्यापी लकडाउन गर्दा दिनभरि काम गरेर बिहान-बेलुकाको छाक टार्नेहरूलाई धौ-धौ भएको छ।
लकडाउन भएपछि थाइल्यान्डको राजधानी बैंककका ट्याक्सी चालकले पनि आफ्ना ट्याक्सी थन्काउनु पर्यो। तीमध्ये कति ट्याक्सी चालक आफ्नो गाउँ फर्किए भने कतिले अर्कै काम सुरू गरे।
उनीहरूले आफ्ना ट्याक्सी एकै ठाउँमा पार्किङ गरेर राखेका थिए। त्यो ठाउँलाई ट्याक्सीको चिहान पनि भनिन्छ।
अहिले तिनै ‘चिहान’ मा रहेका ट्याक्सीका छतमाथि एक संस्थाले तरकारी खेती सुरू गरेको छ।
बिबिसीका अनुसार राचाफरूक ट्याक्सी कोअपरेटिभका कर्मचारीहरू अहिले ट्याक्सीका छतमा माटो र गमला राखेर विभिन्न तरकारीका बिरूवा हुर्काइरहेका छन्। उनीहरूले काँक्रा, खुर्सानीलगायत विभिन्न तरकारी रोपेका छन्। तरकारी फलाएर ट्याक्सी चालकलाई दिने र उब्रेको तरकारी स्थानीय बजारमा बेच्ने उनीहरूको योजना छ।
हेर्नुस् तस्बिरहरू: