पहिले पहिले लेकबेँसी, गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो चौतारीहरू अहिले नासिँदै गएका छन्।
गर्मीमा दौंतरीहरू बसेर शीतल हावा लिँदै माया प्रेमका कुरा गर्ने तथा बागचाल खेल्ने थलोका रूपमा रहेका चौतारीहरू पछिल्लो समय नासिँदै गएका छन्।
चौतारी, पोखरी ग्रामीण जीवनको मौलिकता दिने संरचना पनि हुन्। यी मौलिकताका पहिचान हराएसँगै यसबाट लिन सकिने आनन्दबाट पनि अहिलेको पुस्ता वञ्चित हुन पुगेको छ।
पहिले अहिलेको जस्तो यातायातका साधनहरू नहुँदा भरियाबाट नै सामान बोक्ने काम हुन्थ्यो। ती भरियाले भारी बिसाउने ठाउँ पनि चौतारी नै थिए। भरिया तथा लामो बाटो हिँड्नुपर्ने बटुवाहरूको थकान मेटाउने उचित स्थान पनि यिनै चौतारी नै थिए।
यति मात्र नभएर युवायुवतीको माया प्रेम दर्शाउने, पाकापुस्ताहरू एकै ठाउँमा जम्मा भएर यसो दुःखसुखका कुराकानी गर्ने ठाउँ हो, चौतारी।
त्यस्तै, चौपाया हेर्न गएका गोठाला तथा घरायसी काम सेकर फुर्सदिला व्यक्तिहरू पनि भेला भएर बागचाल खेली दिन बिताउन चौतारी नै प्रयोग गर्ने गर्दथे।
आध्यात्मिक दर्शनमा पनि चौतारीको ठूलो महत्व रहेको छ। यसलाई मानिसले पुण्य कमाउने एक संरचनाका रूपमा पनि लिने गरिन्छ।
मानिसहरूले पहिले बाटोघाटो बनाउने, चौतारी चिन्ने, पोखरी खन्ने जस्ता कार्यलाई पुण्य कमाउने कामका रूपमा पनि लिने गर्दथे। ती चौतारीमा वर पीपल सार्ने भएकाले पीपलले अन्य बोटवृक्षको तुलनामा बढी अक्सिजन दिने र उकालो ओरालो हिँडेर र भारी बोकेर स्वाँस्वाँ भई सास फेर्न गाह्रो भएका मानिसलाई चौतारीमा बस्दा त्यहाँबाट आउने अक्सिजनले थकाइ मेट्ने गर्दछ। यसरी यी संरचना मानिसको स्वास्थ्यसँग पनि जोडिएका छन्।
नेपालमा पछिल्लो समयमा विकासका नाममा मोटरबाटो खन्ने होडबाजी सुरू भएपछि भौतिक र आध्यत्मिक जीवनका यी महत्वपूर्ण सम्पदा नाश हुँदै गएका छन्।
मोटरबाटोको सुविधा र सवारी साधनको प्रयोगसँगै चौतारीहरू बिर्सिंदै जान थालिएको छ।
मान्छेहरू हिँड्डुल गर्न छाडेसँगै चौतारीको महत्व पनि कम हुन थाल्यो। तर चौतारी अस्तित्व र महत्व विकाससँग मात्र होइन पर्यावरण र मान्छेको जीवनसँग पनि जोडिएको हुनाले चौतारीको महत्व र गरिमा कालजयी बनेर रहने पं नीलकण्ठ शर्मा आचार्यले बताए।
उनले चार कुना मिलाएर बनाइएको चौतारीमा वर र पिपलसँगै (नजिकै) रोपिने हुँदा वर र पीपलको बीचबाट हिँड्न नमिलेर दाहिने पारेर हिँड्ने व्यवस्था मिलाइएको बाटो, छेउमा नै कुवा वा धारो र आनन्दसँग बस्न मिल्ने ठाउँमा बागचाल खेल्ने कोठा परम्परागत चौतारोको विशेषता भएको बताए।
गर्मी महिनामा गुन्द्री बिछ्याएर आराम गर्दा पाइने ‘स्वर्गीय आनन्द’को एउटै आश्रयस्थल चौतारी हुन्। अब के फेरि पनि पहिलेको जस्तै ब्युँतिएलान् त पूर्खाले बनाएको थकान भुलाउने चौतारी ? अन्यत्र यसप्रति कुनै चासो राखेको नपाइए पनि म्याग्दीमा भने केही जनप्रतिनिधि र सर्वसाधारणले बचेका चौतारीहरूको मर्मत र संरक्षण तथा नयाँ चौतारी निर्माणमा चासो देखाएका छन्।
गण्डकी प्रदेश सरकारले पनि पुर्खाले बनाएको चौतारो ब्युँताउने अभियान चलाएको छ।
चौतारी संरक्षण अभियानमा गण्डकी प्रदेश सरकार
गण्डकी प्रदेश सरकार ऐन नै बनाएर चौतारी संरक्षण गर्ने अभियानमा लागेको छ। गण्डकी प्रदेशसभाले विसंं २०७५ माघ २७ गते स्वीकृत गरेको विधेयकले प्रदेशको मातहतभित्रका कुनै पनि चौतारोमा भौतिक क्षति पुर्याउनुलाई कानुनी रूपमा दण्डनीय कार्यका रूपमा परिभाषित गरेको छ।
यसको संरक्षण गर्नु सबैको कर्तव्य भन्दै कसैले यसमा क्षति पुर्याए प्रचलित कानुनबमोजिम दण्ड दिइने व्यवस्थासमेत गरिएको छ।
यो ऐनले वर, पीपल, समी र चौतारोको संरक्षणमा जोड दिएको छ। ऐनले पुराना चौतारोलाई पुनर्जीवन दिन र नयाँ चौतारो निर्माणमा समेत तीव्रता दिनका लागि एउटा कोषको समेत व्यवस्था गर्न भनेको छ।
सो कोषमा नेपाल, सरकार, प्रदेश सरकार, स्थानीय तह, विभिन्न व्यक्ति तथा संस्थाले दिएको सहयोग रकमलाई समेत राख्न सकिने र त्यसरी प्राप्त भएको रकम वर पीपल र समी रोप्न, चौतारो निर्माण, चौतारो वरिपरि कुवा कुण्ड वा पोखरी निर्माण गर्न तथा जीर्ण चौतारोको मर्मतबाहेक अरू काममा खर्च गर्न नपाइने स्पष्ट उल्लेख ऐनमा नै गरेको छ। रासस