खप्तड राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन्।
निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना तथा निकुञ्जका कर्मचारीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बझाङ खप्तड छान्ना गाउँपालिका-१ का ५९ वर्षीय दिलबहादुर जेठारा र ३५ वर्षीय वीरेन्द्रबहादुर कार्की रहेका छन्।
पक्राउ परेकाका साथबाट नेपाली सेनाले एक थान भरुवा बन्दुक, बन्दुकमा लाग्ने पाँच थान गोली, बारुद दुई डिब्बा तथा बन्दुकको केप एक डिब्बा बरामद गरेको सिंहसारदुल गुल्म खप्तडले जनाएको छ।
गुल्मका अनुसार उनीहरूलाई खप्तड राष्ट्रिय निकुञ्जको पौवागढीबाट पक्राउ गरिएको हो।
पक्राउ परेकालाई आवश्यक कानूनी कारबाहीका लागि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयमा बुझाइएको नेपाली सेनाले जनाएको छ। रासस