काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ।
निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए।
उनका अनुसार शवको पहिचान हुनसकेको छैन।
'बेवारिसे व्यक्ति हो। पहिलेदेखि बाटोमा सुत्ने मान्छे नयाँ बनाइरहेको शौचालयको प्यासेजमा बोरा हालेर सुतेको रहेछ,' उनले भने,'त्यसै क्रममा मृत्यु भयो। मापसे अलि धेरे गर्ने गरेकोजस्तो देखिन्छ।'
शव फेला परेको खबर बिहान ९ बजेतिर प्रहरीलाई भएको थियो। खबर भएपछि प्रहरी वृत्त महाराजगन्जको टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थलमा पुगेर शव जाँच गरेको छ।
शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आइतबार मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताए।
वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार शव पोष्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको छ।
उनको मृत्यु शंकास्पद भए/नभएकोबारे यत्तिकै भन्न नसकिने उनले बताए।
'अटोस्पीको लागि शव पठाइएको छ। शंकास्पद भए/नभएको त्यसै हेरेर भन्न सकिने अवस्था छैन,' उनले भने,'रिपोर्ट आएपछि थाहा होला।'
प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।