रूसी राष्ट्रपति कार्यालयले क्रेमलिनले जारी गरेका राष्ट्रपति भ्लादमिर पुटिनका नयाँ तस्बिरहरू अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार बनिरहेका छन्।
समाचार संस्था रोयटर्सका अनुसार क्रेमलिनले आइतबार राष्ट्रपति पुटिनका २० वटा तस्बिर सार्वजनिक गरेको थियो। तीमध्ये एउटामा उनी माछा मारिरहेको देखिन्छ।
क्रेमलिनले दिएको जानकारी अनुसार सेप्टेम्बर महिनाको सुरूमा रूसको सुदूरपूर्वी क्षेत्रको भ्रमणमा गएका पुटिन केही दिन साइबेरियामा रोकिएका थिए। त्यहाँ उनले माछा मारेर र हाइकिङ गरेर समय बिताएका थिए।
रूसमा पुटिनले साहसिक छवि बनाएका छन्। यसअघि पनि उनका राइफल बोकेर शिकार खेल्न गएको, सर्ट नलगाइकनै घोडा कुदाइरहेको तस्बिर सार्वजनिक भएका थिए।
पुटिन कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपति बनेर सन् १९९९ देखि रूसी सत्ताको केन्द्रमा छन्। ६८ वर्षीय पुटिन पश्चिमा मुलुकसँग उभिन सकेको र राष्ट्रिय गौरवलाई बढाएको ठानेर उनलाई समर्थक गर्नेहरू पनि धेरै छन्।
गत वर्ष संविधान संशोधन गरेर पुटिनलाई सन् २०३६ सम्म रूसी राष्ट्रपति बन्न बाटो खुला गरिएको छ। सन् २०२४ मा रूसमा राष्ट्रपतिको चुनाव हुँदै छ, उक्त चुनावमा उम्मेदवार बन्नेबारे पुटिनले अहिलेसम्म औपचारिक रूपमा केही बताएका छैनन्।