बर्दियामा गएराति चितुवा खोरभित्र पसेर एकै पटक २१ वटा खसी-बाख्रा मारिदिएको छ।
गुलरिया नगरपालिका वडा नं. ५ को सन्तोषी टोलका चन्द्रकान्त पौडेलको कृषि पशुपंक्षी तथा बाख्रा फार्मभित्र गएराति चितुवा पसेर खसी-बाख्रा मारेको हो।
फार्म सञ्चालक पौडेलले खोरभित्र पसेर चितुवाले सात वटा खसी, एउटा राजस्थानी बोका, सात वटा माउ बाख्रा र अन्य पाठापाठी गरी २१ वटा मारेको सेतोपाटीलाई बताए।
थप एउटा खसी भने फेला नपरेको र अर्को एउटा एक महिनाको पाठी मात्रै ज्युँदो अवस्थामा फेला परेको छ।
‘एउटा एक महिनाको पाठीलाई मैले बेलुका ९ बजेतिर डोकोमा तोरेर घर फर्किएको थिएँ,’ पौडेलले भने, ‘त्यही पाठीमात्रै खोरमुनि खसेर हो कि कसरी हो जोगिएको रहेछ।’
उक्त पाठीको पनि पछाडिको भागमा चितुवाले चिथोरेको देखिएको उनले बताए।
‘सबैलाई घाँटी फोडेर मारेपछि रगत खाएर छोडेको अवस्था देखिएको छ,’ पौडेलले भने, ‘सम्बन्धित क्षेत्रका जानकारले त्यति धेरै क्षति कम्तीमा दुई/तीन वटा चितुवाले गरेको अनुमान गर्नुभएको छ।’
पौडेलले एक महिना अगाडि मात्रै बाख्रा त्यो खोरमा सारेको बताए।
‘पहिला घरमै पाल्दै आएको थिएँ,’ उनले भने, ‘एक महिना अगाडि मात्रै अलि फराकिलो ठाउँमा लैजान्छु भनेर खोर सारेको थिएँ। चितुवाले सबै सखाप पारिदिएछ।’
खोरदेखि उनको घरको दूरी करिब तीन सय मिटर छ। २०/३० मिटर वरपर छिमेकीका घर रहे पनि कसैले पनि चितुवाभित्र प्रवेश गरी धमाधम बाख्रा मारेको कुरा थाहा नपाएको भन्ने जानकारी दिएको उनले बताए।
‘म र परिवार गए राति ९ बजेतिर सबै हेरचाह गरी घर गएका थियौं,’ पौडेलले भने, ‘आज बिहान पाँच बजे खोरमा जाँदा सबै खसी बाख्रा मरेको देखेपछि मेरो होस-हवास उड्यो।’
पौडेलका अनुसार बाख्रा फार्ममा ढोकामा ताल्चा लगाएर गएका थिए। भेन्टिलेसनका लागि करिब दस फिटमाथि खुल्ला छोडिएको एक/डेढ फिट ठाउँबाट खोरभित्र पसेको र सबै बाख्रा मारेपछि फेरि त्यही ठाउँबाट बाहिर निस्किएको देखिएको पौडेलले अनुमान गरे।
‘अब जाडो सिजन आउँदै छ र छिट्टै त्यो खाली ठाउँ पनि तार जाली लगाएर बन्द गर्नुपर्ला भनेर सोच बनाएको थिएँ,’ पौडेलले भने ‘त्यही सानो छिद्रबाट छिरेर मेरा जम्मै खसी-बाख्रा मारेर लाखौं क्षति गरिदियो।’
उनले झन्डै तीन लाख बढीका खसी बाख्रा चितुवाले एकै रातमा स्वाहा पारेको बताए। वनका मानिसले स्थानीय सरकार, प्रहरी प्रशासन र भेटनरीबाट क्षतिको विवरण ल्याउन आग्रह गरेको पौडेलले जानकारी दिए।
‘उहाँहरूले आफैं फोन गरेर त्यो कुरा गर्नुभएको हो, पछि हेरौंला भन्नुभएको छ,’ पौडेलले भने, ‘मेरो खोर त रित्तिसक्यो अब फेरि त्यसलाई चलाउन सहायता गरिदिए हुन्थ्यो।’
चितुवाले बाख्रा फार्मको नजिकै खुल्ला ठाउँमा बाँधेर राखेका दुई वटा गाई र त्यससँगै रहेका झन्डै डेढ सय जति लोकल कुखुराको खोरमा चितुवाले कुनै पनि असर गरेको छैन।
४/५ वर्षदेखि व्यवसायिक रूपमा बाख्रा पालन गर्दै आएका पौडेलले एक वर्ष पहिलेमात्रै फार्म दर्ता गरेको बताए।
‘दशैं नजिक आइसक्यो र सात वटा खसी बचेर दशैंको गर्जो टारौंला भन्ने थियो,’ पौडेलले भने, ‘छोरी काठमाडौं पढ्छिन् उनले दशैंअगाडि कलेजको फी तिर्नुपर्ने कुरा गरेकी थिइन्। घर आउन पैसा पठाउन भन्दै थिइन्। मैले खसी बेचेर पठाउँछु भनेको थिएँ। अब सबै बर्बाद भयो।’
पौडेलको बाख्रा फार्मको करिब एक सय मिटरपर सन्तोषी सामुदायिक वन रहेको छ। त्यहीबाट आएको चितुवाले पौडेलेको बाख्रा खोरमा पसेर सबै बाख्रा मारेको उनले बताए।
गुलरिया नगरपालिका वडा नं. ५ की वडाध्यक्ष सावित्रा गौतमले सोमबार बिहान आफूले फार्मका अनुगमन गरेर फर्किएको बताइन्।
‘म भर्खरै अनुगमन गरेर फर्किएँ,’ गौतमले भनिन्,‘खोरभित्र सबै खसी-बाख्रा ढलेका छन्, सबै मरेका छन्।’
चितुवाले फार्मभित्र पसेर एउटा खसीसमेत तानेर लगेको फार्म सञ्चालक पौडेलले जानकारी दिएको वडाध्यक्ष गौतमले बताइन।
वडाध्यक्ष गौतमले चितुवाले खोरभित्र पसेर एकै पटक यति धेरै खसी बाख्रा मार्नुलाई विपदको रूपमा लिन सकिने बताइन्।
वडाले पीडितलाई कुनै खाले सहयोग गर्छ? भन्ने प्रश्नमा वडाध्यक्ष गोतमले त्यसबारे छलफल गरेर टुंगोमा पुग्ने बताइन्।
‘वडाले विपदको क्षेत्रमा बजेट छुट्याएको र त्यो बजेट यस पटक वितरण गरिसकेको हुँदा के गर्ने भन्ने कुरा हामी छलफल गर्छौं,’ उनले भनिन्।