सूर्यविनायक नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ।
नगरपालिकाको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको हो।
पाठ्यक्रम निर्माणपछि अन्तिम रूप दिएर त्यसलाई कार्यान्वयमा ल्याउने तयारी भइरहेको स्थानीय पाठ्यक्रम निर्माण तथा सहजीकरण समितिका संयोजक किरण थापाले जानकारी दिए।
चालू शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्म र आगामी शैक्षिक सत्रमा ६ देखि ८ कक्षासम्म स्थानीय पाठ्यक्रम लागू गर्ने गरिने उल्लेख गर्दै उनले यसै साताभित्र सरोकार व्यक्तिसँग छलफल गरेर पाठ्यक्रमलाई अन्तिमरूप दिइने बताए।
'नगरपालिकाले सूर्यविनायक क्षेत्रमा दसैंपछि भौतिक रूपमा विद्यालय सञ्चालन गर्न अनुमति दिएकाले कक्षा सञ्चालन हुँदा विद्यार्थीले स्थानीय पाठ्यक्रम पढ्न पाउन छन्', नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं ७ का वडाध्यक्ष थापाले भने, 'सूर्यविनायक नगरपालिका भक्तपुरको नयाँ नगरपालिका हो, त्यसैले सुरूका दुई वर्ष ऐन कानून निर्माण, नगरपालिकाको व्यवस्थापन र विकास निर्माणमा केन्द्रित भयौं, त्यसपछि दुई वर्ष कोभिडले पाठ्यक्रम निर्माणमा छलफल गर्ने वातावरण नै भएन, बल्ल अलि सहज भएपछि पाठ्यक्रम निर्माण सकेर लागू गर्न खोजेका हौं।'
कक्षा १ देखि ५ सम्म लागू हुने स्थानीय पाठ्यक्रममा स्थानीय १४ विषयवस्तु समावेश गरिएका छन्।
नगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेलले दसैं अगाडि नै पाठ्यक्रमलाई अन्तिम रूप दिएर सार्वजनिक गर्ने र दसैंपछि कक्षा कोठामा कडाइका साथ कार्यान्वयनमा ल्याउने गरी नगरपालिकाले तयारी गरेको बताए।
उनले स्थानीय पाठ्यक्रमलाई प्रयोगात्मक ढंगले अगाडि बढाइने जानकारी दिए।
नगरपालिकाको शिक्षा शाखा अधिकृत सरस्वती कोइरालाले कक्षा १ देखि ५ सम्म ‘हाम्रो सूर्यविनायक’ नाम दिएर पाठ्यक्रम निर्माण गरिएको जानकारी दिए।
उनका अनुसार पाठ्यक्रममा नगरपालिकाको भूगोल, जनसङ्ख्या, प्राकृतिक सम्पदा, स्थानीय जातजाति, भेषभूषा, व्यक्तित्व, जनसङ्ख्या र प्रमुख धार्मिक सम्पदाका साथै स्थानीय चाडपर्व, बोलीचाली,बाजागाजा, नाच, लोक संस्कृति, धर्म, संस्कार, रहनसहनलाई समेटिएको छ।
यसैगरी कृषि, पर्यटन, पेशा, व्यवसाय, खेल, जडीबुटी, सडक, योग, हरित विद्यालयजस्ता विषय पनि पाठ्यक्रममा राखिएको छ।
आधारभूत कक्षासम्म स्थानीय विषयवस्तु र पहिचानलाई व्यवहारिक शिक्षाको रूपमा लैजाने र कक्षा ६ देखि ८ कक्षासम्म स्थानीय पेशा, ज्ञान, सीप र प्रविधिलाई जगेर्ना गर्दै सीप दिने गरी लैजाने लक्ष्य रहेको अधिकृत कोइरालाको भनाइ थियो।
स्थानीय तह सरकार सञ्चालन ऐन, २०७४ लागू भएपछि स्थानीय तहहरूले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्दै आएका छन्।
जिल्लाका चार नगरपालिकामध्ये भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम ‘ख्वपःको पहिचान’ भाग–१ र २ प्रकाशन गरी कार्यान्वयनमा ल्याएको थियो।
उक्त पुस्तकमा ख्वपःको संस्कृति, सम्पदा, इतिहास, जीवनशैली, रैथाने व्यवसाय, सीप र प्रविधि, परम्परागत खेल, वेषभूषा, भाषा र लिपी, पर्यटन, विभिन्न व्यक्तित्वका बारेमा चर्चा गरिएको छ।
त्यसैगरी चाँगुनारायण नगरपालिकाले कक्षा ६, ७ र ८ मा ‘हाम्रो चाँगुनारायण’ पाठ्यक्रम कार्यान्वयनमा ल्याइसकेको छ।
पाठ्यक्रममा स्थानीय परम्परा, संस्कृति, रीतिरिवाज, सम्पदा, चाडपर्व, सामाजिक व्यवहार, पेसा/व्यवसाय, वातावरण संरक्षण, आर्थिक गतिविधि, स्थानीय प्रविधिलगायत विषयवस्तु समेटिएको छ।
मध्यपुरथिमि नगरपालिकाले पनि ‘मध्यपुरथिमि म्हसिका’ (मध्यपुर थिमि परिचय) नामक पाठ्यक्रम कार्यान्यनमा ल्याइसकेको छ।
सूर्यविनायकले स्थानीय पाठ्यक्रम लागू गरेपछि जिल्लाका चार वटै पालिकामा स्थानीय पाठ्यक्रम हुने भएको छ। रासस