जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजनाले भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ।
कोरोना संक्रमणका कारण धरासायी बन्दै गएको नेपालको पर्यटन क्षेत्र पुनःउत्थानका लागि उक्त परियोजनाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रमअन्तर्गत नदी सफा गर्न दिएको हो।
आइतबार भोटेकोशीबाट सुरू गरिएको कार्यक्रम मंगलबार त्रिशूली र शुक्रबार कर्णालीमा शुभारम्भ गरिने नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)का महासचिव शिशिर खनालले जानकारी दिए।
उक्त कार्यक्रमअन्तर्गत रिभर गाइड र कर्मचारीले नदी सफा र पहुँच मार्ग मर्मत गर्नेछन्।
एक मजदूरलाई १२ दिनको रोजगार दिइने उक्त कार्यक्रममा २०० रिभर गाइड एवं कर्मचारीले काम पाउनेछन्। उनीहरूले काम गरेबापत परियोजनाले दैनिक रु एक हजार प्रदान गर्नेछ।
नेपालमा रहेका करिब छ हजार नदी नालामध्ये कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोशी, सुनकोशी, अरुण, तमोरलगायत १६ नदी साहसिक जलयात्राका लागि खुला गरिएको छ। रासस