मकवानपुरमा डेंगु सङ्क्रमण घट्दै गएको छ।
कोरोना महामारीका कारण सरसफाइ र स्वास्थ्य सावधानीमा जोड दिएपछि लामखुट्टेको टोकाइबाट सर्ने डेंगुका बिरामीको संख्या घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।
कार्यालयका अनुसार गत आर्थिक वर्ष हेटौंडालगायत मकवानपुरमा १४ जनामा डेंगुको संक्रमण देखिएको थियो। आर्थिक वर्ष २०७६/०७७ तीन हजार ३८ जनामा डेंगुको संक्रमण देखिएको थियो।
कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार विशेषगरी साउन महिनादेखि कात्तिक महिनासम्म फेला पर्ने सो रोगका बिरामीको संख्या गत आवमा १४ जनामा मात्र देखिएको थियो।
आर्थिक वर्ष २०७७/७८ मा साउनमा एक महिला र दुई पुरूष, भदौ महिनामा एक महिला र तीन पुरूष, असोजमा दुई महिला र चार पुरुष, कात्तिकमा एक पुरूषमा डेङ्गुरोग फेला परेको थियो।
डेंगु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो। वर्खा लागेसँगै लामखुट्टेले जमेका पानीमा फूल पार्ने गर्दछ। खासगरी वर्षाको पानी जम्ने टिनको भाँडा, पुरानो टायर, ड्रम, गमला र पानी ट्याङ्कीमा यसले फूल पार्ने गर्दछ। यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने गर्दछ। मांसपेशी र हाडजोर्नीहरू दुख्ने, शरीरमा बिमिराहरू देखापर्नेलगायत लक्षणहरू यसमा देखिन्छन्।
डेंगु विरूद्धको खोप तथा खास उपचारसमेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट सुरक्षित रहन आवश्यक रहेको विज्ञको भनाइ छ। रासस