नेपाल प्रहरीले अस्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले क्विन्सल्याण्ड एजुकेसन फाउण्डेसन प्रालिको सञ्चालक रहेको बताउँदै अस्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगी गर्ने विराटनगरका ४१ वर्षीय मणि निरौलालाई मंगलबार काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो।
पक्राउ निरौलाले म्याग्दी घर भई टोखा नगरपालिका बस्ने २४ वर्षीय सुजन खत्रीलाई अध्ययनका लागि डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया पठाइदिन्छु भनी विश्वास दिलाइ प्रलोभनमा पारेर उक्त रकम ठगी गरेका थिए।
निरौलाले सञ्चालन गरेको एजुकेसन प्रालि हाल बन्द रहेको पाइएको छ।
पक्राउ निरौलालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाइएको महाशाखाले जनाएको छ। रासस