काठमाडौं महानगरपालिकाले दसैं लगायतका चाडपर्वलक्षित कोभिडविरूद्धको खोप कार्यक्रम सुरू गरेको छ।
काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका विभागीय प्रमुख हरि कुँवरले दसैंलगायतका चाडपर्वलाई लक्षित गरेर १८ वर्षमाथिका सबै उमेर समूहका नागरिकलाई कोभिड- १९ विरूद्धको भेरोसेल खोप लगाउने कार्यक्रम शुक्रबारदेखि सुरू गरिएको जानकारी गराए।
३ दिनसम्म चल्ने यो खोप महानगरपालिका अन्तरगतको ३२ वटा वडाको ३४ स्थानबाट लगाउन पाउने व्यवस्था गरिएको छ।
चाडपर्वका कारण भिडभाड हुने र कोभिड–१९ को पनि जोखिम बढ्ने भएकाले त्यसैलाई मध्यनजर राखेर सो खोप कार्यक्रम सञ्चालनमा ल्याइएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाका स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले तत्कालका लागि ७० हजार खोप जिल्ला जनस्वास्थ्य कार्यालयबाट व्यवस्था गरिएको र त्यसले नपुगे थप खोपको व्यवस्था पनि हुने बताए।
उनले भने, ‘काठमाडौं महानगरपालिकाभित्र आज असोज २२ गतेदेखि ३ दिनसम्म चाडपर्वलाई लक्षित गरेर मानिसको भिडभाड हुने अनि सार्वजनिक यातायात आवतजावत गर्दा पनि भिडभाड हुने भएकाले त्यस्ता गतिविधिलाई समेत न्यूनीकरण गर्ने उद्देश्यले पनि यो खोपलाई प्राथमिकता दिइएको हो। चाडपर्वलाई लक्षित यो खोप कार्यक्रम काठमाडौं महानगरपालिकाभित्रका ३२ वटै वडाको ३४ वटा खोप केन्द्रबाट आज, भोलि र पर्सि ३ दिन पहिलो चरणको भेरोसेल खोप लगाउने कार्यक्रम रहेको छ।’
काठमाडौं महानगरपालिकाले बिरामी नागरिकहरूलाई भने लाइन नबसी सो खोप लगाउने व्यवस्था मिलाइएको जानकारी गराएको छ।
स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले बिरामीका लागि लाइन नबसी सो खोप लगाउने व्यवस्था मिलाइएको बताए। उनले पहिलो चरणको यो भेरोसेल खोप लगाउनेहरूलाई दसैं तिहारको बीचमा दोस्रो चरणको खोप लगाउने पाउने व्यवस्था मिलाउने जानकारी समेत दिए।
काठमाडौं महानगरपालिकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने कार्यमा सहभागी हुन पनि सबैलाई आह्वान गरेको छ। परिचय पत्र नखुलेका नागरिकले वडा कार्यालयको सिफारिसमा सो खोप लगाउने पाउने व्यवस्था पनि गरिएको स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले बताए।