बाँकेको बैजनाथ गाउँपालिका-१ स्थित दीपज्योति सेकेन्डरी स्कुल चिसापानीका प्रिन्सिपल दमन पाण्डे आत्मदुरूत्साहन मुद्दामा पक्राउ परेका छन्।
उक्त विद्यालयमा कक्षा ११ मा अध्यनरत बैजनाथ -१ गाभरकी १७ वर्षीया एलिशा शाह दश दिनअगाडि आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन्।
शाहका परिवारले शुक्रबार इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रिन्सिपल पाण्डेविरूद्ध आत्महत्या दुरूत्साहन तथा जबरजस्ती करणी मुद्दा दर्ता गरेपछि उनी पक्राउ परेका हुन। एलिशाले असोज १० गते गाभरस्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन्।
शाहका फुपुका छोरा आदर्श हमालले बहिनी एलिशाको मृत्युपछि असोज १७ गते काजकिरियाको कार्यक्रम सकेर मोबाइलमा म्यासेज हेर्दा प्रिन्सिपलले विभिन्न प्रलोभन देखाएको थाहा भएपछि पाण्डेविरूद्ध किटानी जाहेरी दिएको बताए।
‘बहिनीको मोबाइल म्यासेज बक्समा ल्यापटप र मोबाइल किन्दिन्छु भन्नेजस्ता प्रलोभनमा पारेर करणी गरेको आशंका गर्ने ठाउँ छन्,’ हमालले भने, ‘बहिनीको सुसाइड नोटमा स्पष्ट उल्लेख नभए पनि मम्मीको नाक काट्ने काम गरेको हुँदा आत्महत्या गरें भन्ने उल्लेख रहनुले पनि ऊमाथि अत्याचार भएको स्पष्ट हुन्छ।’
एसइई उत्तीर्ण भएपछि कक्षा ११ को कक्षा लिन थालेको दश दिन जतिमा बहिनीले प्रिन्सिपल पाण्डेको यातना सहन नसकेर आत्महत्या गरेको हमालले दाबी गरे।
‘अघिल्लो महिनामात्रै बहिनीले जन्मदिन मनाएका थियौं,’ हमालले भने, ‘उनी निकै सोझो र इमान्दार थिई, त्यही सोझोपनको फाइदा प्रिन्सिपलले उठाएको हुँदा बहिनी सहन नसकेर मृत्युको मुखमा पुगेको हुनुपर्छ।’
हमालले यसअघि प्रहरीले समेत जाहेरी लिन नमानेको भए पनि गृह मन्त्रालयमा गुनासो गरेपछि मात्रै बल्ल शुक्रबार प्रिन्सिपलविरूद्धको जाहेरी लिन मानेको भन्दै रोष प्रकट गरे।
‘पीडितले अन्यायमा परेको महशुस गरेपछि मात्रै जाहेरी दिन प्रहरीमा पुग्ने हो नि,’ हमालले प्रश्न गरे, ‘त्यो जाहेरीको आधारमा सत्य तथ्य के हो, त्यो छानबिन गरेर न्याय दिन काम प्रहरीको हो नि! सुरूमै जाहेरी लिन नमान्ने हो भने प्रहरीको के काम?’
शुक्रबार पीडितको तर्फबाट स्थानीयले चिसापानीस्थित विद्यालय परिसरमा प्रिन्सिपलविरूद्ध चर्का नाराबाजी गर्दै प्रर्दशनसमेत गरेका थिए।
शाहको सुसाइड नोटमा कसैप्रति स्पष्ट आरोप छैन: डिएसपी
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रवीन्द्र खनालले शाह परिवारले दिएको जाहेरीका आधारमा प्रिन्सिपललाई पक्राउ गरी अनुसन्धान थालिएको बताए।
‘बुझ्दा प्रिन्सिपल र शाहका बीचमा मित दाजु-बहिनीको नाता रहेको भन्ने कुरा खुल्न आएको छ,’ खनालले भने, ‘फेसबुक म्यासेन्जरमा उहाँहरूबीच कुरा भएको पनि देखिएको छ। त्यसबारे अनुसन्धान हुन बाँकी नै छ।’
त्यो कुरा मित दाजु-बहिनीको नाताले भएको हो? प्रिन्सिपल र एउटा विद्यार्थीको नाताले भएको हो? वा त्यसमा अरू कुनै कुरा छिपेको छ? त्यो अनुसन्धानपछि मात्रै खुल्ने डिएसपी खनालले बताए।
शाहको सुसाइड नोटमा कसैप्रति स्पष्ट रूपमा दोषारोपण गरेको भने नदेखिएको खनालले बता । ‘उहाँको सुसाइड नोट पनि फेला परेको छ,’ डिएसपी खनालले भने, ‘त्यसमा कसैलाई कुनै खालको दोष लगाएको देखिँदैन।’
डिएसपी खनालले शुक्रबारमात्रै आरोपित प्रिन्सिपल पक्राउ परेको हुँदा घटनाको गहन ढंगले अनुसन्धान गरेरमात्रै तथ्य कुरा सार्वजनिक गर्ने बताए। दोषी देखिए प्रहरीले कानुनी कारबाहीका लागि कुनै कसुर बाँकी नराख्ने उनले बताए।