थाइल्यान्डका सामाजिक सञ्जालमा अघिल्लो साता एक भिडिओ भाइरल भयो। उक्त भिडिओमा घुँडासम्म बाढीको पानी आइरहेको एक रेष्टुँरामा बसेर मानिसहरू मजाले खाना खाइरहेका देखिन्छन्।
पछिल्ला केही साता थाइल्यान्डमा बाढीले विभिन्न नदीमा पानीको सतह बढेको थियो। बैंककनजिकै चाओ फराया नदीमा पनि दिनदिनैजसो बाढी आएको थियो।
बाढीको पानी रिभरसाइड रेष्टुरेन्टभित्र पसेको थियो। सुरूमा त रेष्टुरेन्टका मालिक टिटिपोन जुतिमानन डराएका थिए। कोरोना महामारीले अस्तव्यस्त भएको रेष्टुरेन्टको व्यापार फेरि चौपट हुने भयो भन्ने उनलाई चिन्ता थियो। यो संकटका बेला उनले आइडिया लगाए- बाढीले डुबेको रेष्टुरेन्टमै ग्राहकलाई खाने सुविधा दिने।
‘ग्राहकहरूले पानीमा खुट्टा भिजाएर खाने हाम्रो योजनालाई निकै मन पराइदिनुभयो,’ जुतिमाननले समाचार संस्था रोयटर्ससँग भनेका छन्,‘मैले ठूलो समस्या हुने भयो भन्ने सोचेको कुरा त अवसर भइदियो।’
जुतिमाननले गत फेब्रुअरीमा उक्त रेष्टुरेन्ट खोलेका थिए। लामो समय कोरोना महामारीले रेष्टुरेन्टमा ग्राहक आउन सकेका थिएनन्। दिनदिनैजसो नदीमा बाढी आएर रेष्टुरेन्ट डुबानमा पर्न थालेपछि उनी आत्तिएका थिए।
उनले लगाएको नयाँ आइडिया मानिसहरूले मन पराएपछि अहिले उनको रेष्टुरेन्टमा ग्राहकहरू भरिभराउ हुन थालेका छन् भने अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि यो समाचारको विषय बनेको छ।
हेर्नुस् तस्बिरहरू: