मंगलबार नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस दुर्घटनामा परी ३२ जनाको मृत्यु भयो।
भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ७ पिनातपने खोलामा दुर्घटना हुँदा २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो।
चार जनाको उपचारका लागि बाँके लैजाँदै गर्दा र थप चार जना घाइतेको उपचारका क्रममा बाँकेमा मृत्यु भएको प्रहरीले जानकारी दियो।
सायद उनीहरू दसैं मनाउन घर जाँदै थिए। चाडपर्वको बेला यति ठूलो मानवीय क्षति हुँदा मुगु शोकमा डुबेको छ।
अझ अधिकांश मृतकहरू छायानाथ रारा नगरकै छन्। यो दुर्घटनाले धेरैलाई स्तब्ध बनाएको छ।
बसमा चालकसहित ४६ जना सवार थिए। जुन सिट क्षमताभन्दा बढी हो। जसमध्ये १३ जना घाइते छन्। घाइते १२ को अवस्था अहिले खतरामुक्त भएको कर्णाली प्रहरी प्रदेश कार्यालयले जनाएको छ। एक जनाको उपचारपछि डिस्चार्ज भइसकेको छ।
सडकबाट झण्डै तीन सयमिटर तल खसेपछि बस क्षतविक्षत भयो। बस धेरै पटक पल्टियो। पाटपूर्जा छरपस्ट भयो।
ठूलो आवाज आएपछि त्यहाँका स्थानीयहरू घटनास्थल पुगे। प्रहरीलाई पनि पौने २ बजेतिर खबर भयो।
त्यसैबीच बसमा सवार रहेकी तथा दुर्घटनामा परेकी छायानाथ रारा नगरपालिका वडा नम्बर ३ की ६ वर्षीया भूमिका खड्का भने जोगिइन्। उनी सामान्य अवस्थामा छिन्।
उनको दायाँ हात र टाउकोमा सामान्य चोट लागेको छ। स्थानीयले उनलाई सकुशल भेटाएपछि मोटरसाइकलमै राखेर अस्पताल पुर्याए। उनको मुगु अस्पतालमा उपचार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) चित्रबहादुर भट्टराईले जानकारी दिए। अहिले उनी डिस्चार्ज भइसकेकी छन्।
‘अहिलेसम्म दुर्घटनामा परी घाइतेमध्ये १३ जनाको उपचार जारी छ। गम्भीर अवस्थाका १२ जना घाइतेहरूलाई समिट एअर र नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरी बाँके लगेर उपचार भइरहेको छ,’ उनले भने, ‘तर एक जना ६ वर्षीया बालिका भूमिका खड्काको अवस्था भने सामान्य छ। ’
उनी आफ्नी आमा उजेली रावल खड्कासँगै काठमाडौंबाट मुगु जाँदै थिइन्। आमा-छोरी दुबैले नेपालगन्जबाट त्यो बस चढेका थिए। तर आमा घटना हुनु एक डेढ घण्टा अघि नै आफन्तको घरमा झरिन्। उनी भोलिपल्ट मात्रै घर जाने तयारीमा थिइन्। यता छोरी भूमिका बाजेको घर जान चाहन्थिन्। नजिकै छ भनेर उनले छोरीलाई जान दिइन्।
उनी त्यही बस चढेर बाजेको घर जाँदै थिइन्। त्यत्तिकैमा बस दुर्घटनामा पर्यो।
बससँगै उनी झण्डै तीन सय मिटर तल खसिन्। त्यसरी खसेर पनि सामान्य अवस्थामै भेटिएपछि प्रहरी पनि चकित छन्।
भूमिकाको अवस्था सामान्य रहनुलाई ठूलो भाग्यको खेल मान्न सकिने डिएसपी भट्टराई बताउँछन्।
‘भूमिका अति नै भाग्यमानी बालिका हुन्,’ उनले भने, ‘गाडी टुक्रा-टुक्रा परेको छ। क्षतविक्षत छ। तर पनि त्यो नानीको अवस्था सामान्य हुनु चमत्कार नै मान्नुपर्छ।’
उनका अनुसार बस भीरबाट खस्दा धेरै पटक पल्टियो। भीरका पाखामा पनि बसका पाटपुर्जा, मानिसका जुत्ता-चप्पलहरू भेटिएका छन्।
‘बस दुर्घटना भएर गुल्टिँदै एक सय मिटर तल पुगेपछि फेरि अर्को घुम्तीको बाटो आइपुग्छ, त्यहीँ निर बच्ची खसेर तल पुगेकी रहिछन्,’ उनले भने, ‘त्यहाँबाट फेरि ती बच्ची भिरबाट खसेर तल, झण्डै तीनसय मिटर तल बस पुगेकै ठाउँमा खसिन्। त्यहीँ उनी सकुशल भेटिनु भनेको भाग्यमानी हुनु हो।’
उनले घटनास्थलको दृष्य वर्णन गर्न सक्ने अवस्थाको नरहेको तथा हृदयविदारक रहेको बताए।
बसमा सवार अर्का एक जना व्यक्ति पनि सकुशल भेटिएका छन्। उनी बसकै साहु हुन्।
सुरूमा बसमा ४५ जनामात्रै सवार रहेको अनुमान गरेको थियो। तर पछि त्यही बसका साहु नैंन सिंह ठकुरी पनि रहेको खुलेको हो। जसले दुर्घटनामा पर्दा हाम्फालेर आफ्नो ज्यान जोगाए। ठकुरी ढोका छेउमा बसेका थिए।
‘चालक तिरको बसको अगाडि टायर पड्किनासाथ ढोकानिर बसेका साहुले बसबाट हाम फालेर ज्यान जोगाउन सफल भएको देखिएको छ,’ डिएसपी भट्टराईले भने, ‘उहाँले टायर पड्किना साथ छिटो गरी सावधानीपूर्वक सडकमै हामफाल्नु भएछ। उहाँलाई केही पनि भएको छैन।’
कालिकोटका साहु ठकुरीले साँघुरो बाटोमा टायर पड्किना साथ आफूले हाम फालेर ज्यान जोगाए पनि उनी स्तब्ध छन्। हेर्दाहेर्दै बस र मानिसहरू खस्न थालेका दृश्य उनी आफैंले पनि हेर्न नसकेको प्रतिक्रिया दिएको डिएसपी भट्टराईले उनको बयान उदृत गर्दै सेतोपाटीसँग भने।
‘टायर पड्किनासाथ चालकले बस ब्यालेन्स गरेर अर्कै भित्तातिर काट्न प्रयास गरेका थिए। तर गाडी पूरै कोल्टिएर खस्न थालेपछि मानिसहरू चिच्चाउन थालेका थिए। त्यसपछि ममा त्यो भयावह दृश्य हेर्न सक्ने हिम्मत पनि बचेन,’ ठकुरीले भने।
दुर्घटनामा परी ज्यान गुमाएका सबै जनाको अहिले सनाखत भइसकेको छ।
यो पनि: मुगु बस दुर्घटनामा परेका सबै मृतकको सनाखत (विवरणसहित)