भारतमा कोरोनाभाइरसविरूद्धको एक अर्ब डोज भ्याक्सिन लगाइएको छ। समाचार संस्था एपीका अनुसार बिहीबार भारतले एक अर्ब डोज भ्याक्सिन लगाउने कोसेढुंगा पार गरेको हो।
१ अर्ब ३० करोड जनसंख्या भएको भारतमा अहिले खोप लगाउन योग्यमध्ये ७५ प्रतिशतले कोरोना खोपको एक डोज खोप लगाएका छन् भने झन्डै ३० प्रतिशतले पूर्ण खोप लगाएका छन्।
भारतमा केही महिनाअघि फैलिएको डेल्टा भेरियन्टले दैनिक ४ लाखसम्म कोरोना संक्रमित थपिएका थिए। पछिल्लो समय कोरोना संक्रमण घट्दै गएको छ।
भारतले अक्सफोर्ड/अष्ट्राजेनेकाको खोपको आफ्नै देशमा उत्पादन गरिरहेको छ। आफ्ना नागरिकलाई छिटो खोप लगाउन उसले पछिल्लो समय खोपको निर्यात बन्द गरेको थियो।
यसअघि गत जुनमा चीनले कोरोनाविरूद्ध एक अर्ब डोज खोप लगाउने रेकर्ड बनाएको थियो। संसारभरिका मुलुकमध्ये भारत र चीनमा मात्र १ अर्ब बढीको जनसंख्या छ।
१ अर्ब डोज कोरोना खोप लगाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीयले आज इतिहास लेखेको बताएका छन्।