दाङको तुलसीपुर उपमहानगरपालिका-११ मोतिपुरका मनिराम चौधरी धान खेतको पानी फाल्न पम्पसेट चलाउने तयारीमा थिए। परिवारका सबै सदस्य पानी फाल्ने मेसो मिलाउँदै छन्। खेतमा धानका पाँजा पानीमा चुर्लुम्म डुबेका छन्।
खेत नजिकै खलामा धानको खराइ (कुन्यू) छ। त्यो पनि पानीमा डुबेको छ। बिहीबारदेखि बेमौसमी वर्षा रोकिए पनि खेतको पानी पटक्कै घटेको छैन। त्यही भएर चौधरी जमेको पानी फाल्ने तयारीमा लागेका हुन्।
‘काटेको धान सबै उम्रेको छ र काटन् बाँकी धान पनि पानीमै डुबेको छ। त्यसैले जमेको पानी फाल्न पम्पसेट चलाउनु परेको हो,’ सुस्केरा हाल्दै चौधरीले सेतोपाटीसँग भने, ‘दैब पनि कस्तो निष्ठुरी रहेछ भित्र्याउने बेलाको खेति सबै बर्बाद भयो।’
जमिनदारको अधियाँ खेत लगाएका मनिरामको पाकेको बाली सबै नष्ट भएकाले जमिनदारलाई के दिने र आफ्नो परिवारको भोक कसरी मेट्ने भन्ने चिन्ताको पिरोलेको छ।
‘हाम्रो त बाँच्ने आधार नै यही खेतिपाति हो, न जागिर छ, न अरू कुनै इलम? अब कसरी बालबच्चा पाल्ने होला,’ मनिरामले दुखेसो पोखे।
केही पर मोतिपुरकै गनारमा जागुराम चौधरी खेतमा काटेर सुकाए पनि चुलुम्मै डुबेको धानका पाँजा उठाउँदै थिए। चार दिनको लगातार झरीले डुबेको धानका बाला उम्रिसकेका थिए। परालसमेत कुहिएर धानका बाला खेतभरि असरल्ल थिए।
जति जति पाँजा पल्टाउँदै जान्थे जागुरामको अनुहार उति उति मलिन बन्दै गएको थियो। जागुरामले धान हातमा देखाउँदै भने, ‘हे, भगवान फल मात्रै होइन, गाईबस्तुलाई खुवाउने परालसम्म कुहिएर कामै नलाग्ने भइसकेछ।’
हातमा भिजेको धानबाट पानी चुहिरहेको थियो। सँगै जागुरामको आँखाबाट आँशु बगिरहेको थियो ।
त्यसको केही पूर्वमा केही सुख्खा ठाउँबाट काटेको धानको भारी टाउकोमा बोकेर खल्यानतर्फ ओसार्दै गरेकी आशा चौधरीले बेमौसमी झरीले आफ्नो खेतमा काटेर राखेको धान बालामै टुसाएको बताइन। दसैंको अघिल्लो दिन काटेको उनको धान त्यसपछिको लगातार वर्षाले काम नलाग्ने बनाइ दिएको रहेछ।
‘यसरी भिजेको धानको रंग नै फरक भइहाल्छ र खाँदा मिठो पनि हुँदैन,’आशाले भनिन् ‘त्यसैले यो धानले मुल्य पनि राम्रो पाउँदैन। यो वर्षको मेहनत त्यसै खेर गयो।’
लगातार चार दिनको वेमौसमी झरीले मोतिपुरमा मात्रै करिव ६० विगाहा क्षेत्रफलमा काटेको धान बर्बाद पारेको उनले अनुमान गरिन्।
मोतिपुर बबई नदीको तटिय र सिमसार क्षेत्र हो। जहाँ बाह्रैमास खेतमा पानी हुन्छ। मोतिपुर तुलसीपुरको भकारी समान हो । तर, सोही ठाउँमा कात्तिकमा आएको अबिरल वर्षापछिको भेलले काटेको धानसमेत बगाएपछि किसान निराश बनेका छन् ।
काटेको धान मात्र होइन, नकाटेको धान पनि ढलेर पानीमा पुरै डुबेकाले बालामै उम्रन थालेको छ।
मोतिपुरमा अधिकांशले हाइब्रीड धान रोप्ने गरेको र त्यो अबिरल झरीका कारण डुबानले बोटमै उम्रन थालेको स्थानीय मोहन बस्नेतले बताए। मोतिपुरको केही पश्चिमतर्फको गाँउ वेलटाकुराको अवस्था पनि फरक थिएन ।
सन्तबहादुर बुढाथोकीले मेसिन लगाएर एकै दिन कटाएको धान खेतमै डुबेको अवस्था थियो। धान खेतमै मलिन अनुहारमा भेटिएका बुढाथोकीले जसोतसो ऋण गरेर मल विउको जोहो गरि धान खेति गरेको र भित्र्याउने समयमा झरीले सबै स्वाहा पारेकाले कसरी ऋण कर्जा चुकाउने भनेर चिन्ता ब्यक्त गरे।
‘धानको अवस्था देखेर मेरो मन भित्रभित्रै भक्कानिएर रोएको छ,’ उनले भने, ‘दैब लागेपछि कसको के लाग्दो रहेछ र? हामी जस्ता किसानको पीडा कसले सुनिदेला ।’
भिजेको धान कथम कदाचित जोगिए पनि कुटाउँदा धुलैधुलो हुने हुँदा त्यो खानयोग्न नहुने बुढाथोकीले बताए। उनले पनि घर परिवार कसरी पाल्ने भन्ने चिन्ता ब्यक्त गरे।
तुलसीपुर १० गौरीगाँउका दानबहादुर खड्काले धानको पाँजा पल्टाउँदा मन धुरूधुरू रूने गरेको बताए ।
‘यो किसानका लागि खाने बेलाको गाँस खोसिए जस्तै हो,’ खड्काले भने,‘किसानलाई यत्रो बज्रपात पर्दा पनि स्थानीय जनप्रतिनिधि हाम्रा पीडामा कसैले बोलेका छैनन्। हेर्नसमेत आएका छैनन्।’
दुःखमा परेको समयमा आफ्ना नागरिकलाई कुनै साथ सहयोग नगर्ने हो भने राज्य छ भन्नुको औचित्य पुष्टि हुन नसक्ने उनले बताए ।
नजिकको सकारकार हुनुको नाताले यतिखेर स्थानीय जनप्रतिनिधि किसानको खेतको अवस्था नियाल्न र क्षतिको विवरण संकलनमा खटिनुपर्ने उनले बताए ।
दाङमा यो वर्ष ३९ हजार हेक्टरमा धान खेती भएको थियो। त्यसमध्ये काटेको ३० प्रतिशत बढी धानवाली लगभग पुरै नोक्सान भएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी बद्री पौडेलले जानकारी दिए।