समूह बनाउने बहानामा डोटी जिल्लाका एक व्यक्तिले दाङको तुलसीपुरका सर्वसाधारणबाट लाखौं रकम उठाएर सम्पर्कविहीन भएका छन्।
डोटी घर बताउने फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ नामक कम्पनीका संयोजक सुगम देउवा नाम बताउने मानबहादुर देउवाले तुलसीपुरका किसान र सर्वसाधारणबाट लाखौं रकम ठगेर सम्पर्कविहीन बनेपछि पीडित प्रहरीमा पुगेका छन्।
पीडितले दिएको निवेदनमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ डुम्रीगाउँमा कम्पनीको कार्यालय खोलिएको थियो। जसको प्रबन्धकमा मानबहादुर देउवा र संयोजकमा सुरेश घले थिए।
समूहमा रकम संकलन गर्नका लागि भनेर उनीहरूले कम्पनीका लागि ४२ जना कर्मचारी राखेका थिए। कम्पनीले दाङ जिल्लाका पाँच वटा पालिकाहरू तुलसीपुर उपमहानगरपालिकासहित त्यस पश्चिमका दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकाका तथा तुलसीपुर पूर्वको घोराही उपमहानगरपालिकालाई आधार बनाएर समूह गठन गरी रकम संकलन गर्दै आएको थियो।
कम्पनीले एक हजार तीन सय कृषकबाट प्रति कृषक पाँच सयका दरले संकलन गरेको रकममध्ये ६ लाख ६५ हजार, कर्मचारीको बीमा बापतको रकम नौ लाख पाँच हजार र कर्मचारीको तलब ५३ लाख ७७ हजार आठ सय समेत गरी ६९ लाख ४७ हजार आठ सय रकम ठगेर भागेको भन्दै पीडिलते बताएका छन्।
‘सस्तोमा बीमा बनाइदिने प्रलोभनमा पारेर हामीबाट पैसा असुल गरियो,’ एक पीडित महिलाले भनिन्, ‘तर, न हाम्रो बीमा नै बन्यो र हामीले पैसा नै पायौं।’
स्थानीय प्रशासनमा असोज ४ गते पीडितले दिएको जाहेरीमा झन्डै ७० लाख रकम हिनामिना गरी कम्पनीका प्रबन्धकमा मानबहादुर देउवा र संयोजकमा सुरेश घले २०७७ माघ महिनादेखि सम्पर्कविहीन रहेको उल्लेख गरेका छन्।
फोन सम्पर्कमा आए पनि विभिन्न धाकधम्की दिने गरेको पीडितको जाहेरीमा उल्लेख छ।
कम्पनीका व्यवस्थापकहरू पार्वती केसी, माया बोहोरा र अनिता वलीले स्थानीय प्रशासनमा दिएको जाहेरीमा किसान र सर्वसाधारणको लाखौं रकम हिनामिना गर्नेहरूलाई झिकाएर आवश्यक कानुनी कारबाहीको माग गरेका छन्।
यही कम्पनीको नामबाट देउवाले दार्चुलाका ९२ जना युवाबाट लाखौं रकम ठगेको आरोप छ।
त्यहाँ पनि उनले सर्वसाधारणबाट जिल्लाका नौ वटै स्थानीय तहमा कम्पनीको तर्फबाट दाङमा जस्तै गरी समूहका नाममा रकम उठाउने लगायतका कार्यक्रम गरेका थिए।
दार्चुलामा ९२ जना युवायुवतीलाई कम्पनीमा जागिर दिने बहानमा नियुक्ति दिएको र एसियन लाइफ इस्योरेन्स बीमा कम्पनीमा बीमा गरिदिने भन्दै उनीहरूबाट जनही ३३ हजार ३ सयका दरले नगद संकलन गरी देउवा सम्पर्कविहीन भएको पीडितले बताएका छन्।
२०७७ मंसिरबाट त्यहाँबाट सम्पर्कविहीन भएर आफूहरूको रकम ठगेर देउवा भागेको दार्चुलाबाट कम्पनीका फिल्ड सहायक रमेश रैखोलाले बताए।
दार्चुलाबाट मात्रै देउवाले ३० लाख ६३ हजार ६ सय रकम ठगी गरेको उनले बताए।
त्यहाँ पनि देउवाले युवायुवतीलाई कम्पनीमा नियुक्तिको नाटक गरेर प्रलोभनमा पारी गाउँ–गाउँमा गएर कृषि समूह गठन गर्न लगाएका थिए।
समूहमा आबद्ध सदस्यहरूसँग पाँच सयका दरले रकम उठाएर सकेपछि देउवा सम्पर्कविहीन बनेको पीडितले बताएका छन्।
देउवाले कम्पनी सञ्चालनको नामा सुदूरपश्चिमको दार्चुला, कञ्चनपुर, कैलाली, डोटी र डडेल्धुरा त्यसैगरी ठगेको पाइएको छ।
त्यस्तै बर्दिया, दाङ, काभ्रे र नुवाकोट जिल्लामा समेत गरी ९ जिल्लामा पुगेर उनले ठगी गरेको देखिन आएको प्रहरी प्रशासनले जानकारी दिएको छ।