महिलालाई प्रलोभन र प्रभावमा पारी सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
घोराही उपमहानगरपालिका वडा नं. १० का २५ वर्षीय सुयोग योगी, २२ वर्षीय सुनिल पुन मगर, १९ वर्षीय दिनेश परियार दुई जना महिलालाई सामूहिक बलात्कार गरेको जाहेरीका आधारमा पक्राउ परेका छन्।
दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार सामूहिक बलात्कारमा संलग्न थप दुई जना फरार रहेका छन्। उनीहरूविरूद्ध गत असारमा एक जना महिलाले र असोज ३१ गते अर्की महिलाले सामूहिक बलात्कार गरेको भनेर प्रहरीमा किटानी जाहेरी दिएपछि पक्राउ गरेको एसपी काफ्लेले सेतोपाटीलाई बताए।
आफूहरूलाई पाँच जनाले सामूहिक बलात्कार गरेको भनेर किटानी जाहेरी दिने महिला एक जना तुलसीपुरकी र अर्की घोराहीकी रहेको एसपी काफ्लेले जानकारी दिए।
‘एक जना २५ वर्षीया विवाहित महिला हुनुहुन्छ र अर्की २२ वर्षीया अविवाहित युवती हुनुहुन्छ,’ एसपी काफ्लेले भने, ‘यो समूहले अरूलाई पनि सामूहिक बलात्कार गरेको मौखिक सूचना आएको छ।’
सुरूमा युवती तथा महिलाको समस्या पहिचान गरी सघाउँदै प्रभावमा पार्ने र पछि जंगलमा लगेर सामूहिक बलात्कार गर्ने गरेको पाइएको एसपी काफ्लेले बताए।
‘युवाहरूको यो समूहले सुरूमा महिला तथा युवतीको पहिचान गर्ने, मोटरसाइकलमा लिफ्ट दिने र दुई-चार हजार आर्थिक सहयोग पनि गरेको देखियो,’ एसपी काफ्लेले भने, ‘महिलालाई पुरै प्रभावमा पारेपछि जंगलमा बोलाएर पाँचै जनाले सामूहिक बलात्कार गर्ने गरेको पाइएको छ।’
युवाहरूले सामूहिक बलात्कारको भिडिओ बनाउने, मारिदिने भनेर तर्साउने, त्यसपछि सुनका गरगहनासमेत लुट्ने गरेको पीडित दुबै जनाले दिएको जाहेरीमा उल्लेख रहेको एसपी काफ्लेले बताए।
‘उनीहरूले सामूहिक बलात्कारको भिडिओ देखाउँदै ब्ल्याकमेलिङ गर्दै फेरि-फेरि एकान्तमा आउन धम्की दिने र त्यसो नगरे सामाजिक सञ्जालमा भिडिओ पोष्ट गरिदिने भनेर मानसिक तनाव दिने तथा त्यो कुरा कसैलाई भने ज्यान मार्ने धम्की दिने गरेको कुरा खुल्न आएको छ,’ एसपी काफ्लेले भने।
एसपी काफ्लेले आरोपितमध्ये योगीले श्रीमतीसँग डिभोर्स गरेका र अन्य सबै अविवाहित रहेको कुरा खुल्न आएको बताए।
यी युवाहरूको उद्देश्य महिलाका समस्या पहिचान गरी उनीहरूलाई प्रलोभनमा पारेर प्रभावमा पार्ने अनि जंगलमा बोलाएर सामूहिक बलात्कार गरि ब्ल्याकमेलिङ गरी कमाउने गरेको देखिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरू विरूद्ध सामूहिक बलात्कारसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ।