चिनियाँ टेलिकम कम्पनी हुवावेकी प्रमुख आर्थिक अधिकृत र उपाध्यक्ष सरविना मेङ वानजाउ झन्डै तीन वर्षपछि काममा फर्किएकी छन्।
समाचार संस्था रोयटर्सका अनुसार ४९ वर्षीया सरविना सोमबार सेन्जेनस्थित हुवावेको मुख्यालयमा जाँदा उनको भव्य स्वागत गरिएको थियो। उनको स्वागतमा केही कर्मचारी नाचेका थिए। तीन साताअघि स्वदेश फर्किए पनि विदेशबाट आएकाले २१ दिन क्वारेन्टिनमा बस्नु पर्ने नियमका कारण सरविना काममा फर्किन पाएकी थिइनन्।
यसअघि उनलाई लिन चीन सरकारले चार्टर्ड जहाज क्यानडा पठाएको थियो। उनी स्वदे फर्किँदा चिनियाँ राष्ट्रिय झन्डा बोकेर थुप्रै मानिसहरूले विमानस्थलमा उनको स्वागत गरेका थिए।
हुवावेका संस्थापक रेन झेङफेईकी छोरी मेङलाई सन् २०१८ डिसेम्बर १ मा मेक्सिको जान लाग्दा क्यानडाको भ्यानकुवरबाट पक्राउ गरिएको थियो।
अमेरिकाले प्रतिबन्ध लगाएको इरानमा टेलिकम्युनिकेसन सामग्री पठाएको र बैंकिङ कसुर गरेको भन्दै अमेरिकाले मेङलाई पक्राउ पुर्जी जारी गरेको थियो। सोही आरोपमा क्यानेडियन अधिकारीहरूले उनलाई पक्राउ गरेका थिए।
उनलाई अमेरिका सुपुर्दगी गर्नेबारे लामो समयसम्म छलफल भएको थियो। सोही कारणले चीनको अमेरिका र क्यानडासँगको सम्बन्ध चिसिएको थियो। सरविना पक्राउ परेलगत्तै चीनले पनि दुई क्यानडेली नागरिकलाई पक्राउ गरेर हिरासतमा राखेको थियो।
सरविनालाई पछि क्यानडाको अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर त्यसका लागि उनले कडा सर्तहरू पालना गर्नुपर्ने थियो।
समाचार संस्था रोयटर्सका अनुसार पछिल्लो समय अमेरिकी अभियोजनकर्ताहरू सरविनाविरूद्धको बैंकिङ कसुरको मुद्दा फिर्ता लिन सहमत भएका थिए। उक्त सहमतिपछि सरविनाको स्वदेश फर्किने ढोका खुलेको हो।