जापानी राजकुमारी माकोले मंगलबार आफ्ना प्रेमीसँग विवाह गरेकी छन्। राजपरिवार बाहिरका केइ कोमुरोसँग लगनगाँठो कस्न माकोले राजपरिवारको पदवी त्याग्नुपर्यो।
मंगलबार विवाह दर्ता गरेपछि माको राजदरबारबाट बाहिरिएकी छन्। माको राजकुमारीबाट आमनागरिकजस्तै बनेपछि संसारका पूरानामध्येको एक जापानी राजसंस्थामा एक जना सदस्य घटेका छन्।
ब्लुमबर्गका अनुसार अब जापानी राजपरिवारमा १७ जना सदस्य बाँकी छन् जबकी दोस्रो विश्वयुद्ध सकिएपछि जापानी राजपरिवारमा ६७ जना सदस्य थिए।
अहिले राजपरिवारमा रहेका १७ मध्ये १२ जना महिला छन् भने पाँच जना पुरुष छ। तीमध्ये पनि राजगद्दीका उत्तराधिकारी तीन जनामात्रै छन्। पितृसत्तात्मक समाज भएको जापानमा पुरुषमात्रै राजा हुन पाउने चलन छ। साउदी अरब, ओमान र मोरोक्कोको राजसंस्थामा पनि यस्तै चलन छ।
जापानी राजपरिवारमा महिलालाई पनि उत्तराधिकारी बनाउने र महिलाहरू विवाह गरेर गएपछि पनि राजपरिवारको सदस्य रहने विषयमा छलफल भए पनि कुनै निर्णय भएको छैन।