आन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङले प्युठानमा एउटै पसलबाट झन्डै २० लाख मूल्य बराबरको कर छलीको सुर्ती बरामद गरेको छ।
प्युठानको सारीबाङमा नारायण पौडेलको पसलबाट कात्तिक ९ गते साढे ७१ बोरा स्टिकर बिनाको कर छलीको सुर्ती बरामद गरी आन्तरिक राजश्व कार्यालय तुलसीपुरमा ल्याइएको कार्यालय प्रमुख गोपीकृष्ण कोइरालाले सेतोपाटीलाई बताए।
‘गोप्य सूचनाको आधारमा पौडेलको गोदाम निरीक्षणमा पुगेको हाम्रो टोलीले बजरंगी नाम गरेको स्टिकर बिनाको अन्त:शुल्क नतिरेको अवैध सुर्ती पौडेलको गोदाममा फेला परेपछि हामीले पसल सञ्चालकसहित सामान नियन्त्रणमा लिएर दाङ ल्याएका हौं,’ कार्यालय प्रमुख कोइरालाले भने।
सुर्ती उत्पादन गरेर बिक्रीका लागि बजार पठाउनुभन्दा पहिले नै आन्तरिक राजश्व कार्यालयले राजश्व असुलउपर गरेको छ भने त्यसमा स्टिकर टाँसिएको हुन्छ। तर, पौडेलको गोदामबाट बरामद साढे ७१ बोरा बजरंगी नामक सुर्ती कुनैमा पनि त्यस्तो स्टिकर फेला नपरेको हुँदा नियन्त्रणमा लिनु परेको कार्यालय प्रमुख कोइरालाले बताए।
‘स्टिकर नभएको र राजश्व नतिरी राज्यलाई ठगी गरेको पाइएको हुँदा हामीले सुर्ती बरामद गरेर आवश्यक कारबाहीका लागि दाङ ल्याएका हौं,’ कोइरालाले भने।
पक्राउ परेका व्यक्तिसँग बयान लिने क्रम सुरू भएको उनले बताए।
गोरखा टोबाको कम्पनीको नेपालमै उत्पादन भएको सुर्तीमा बदमासी देखिएको हुँदा नियन्त्रणमा लिइएको कोइरालाले जानकारी दिए।
‘यो बाँकेको नेपालगञ्जमा कम्पनीले उत्पादन गरेको सुर्ती रहेछ,’ कोइरालाले भने,‘यहाँ कम्पनीको नै मुख्य बदमासी देखिएको छ।’
पक्राउ परेका व्यापारी र कम्पनी दुबैलाई अलग-अलग कारबाही हुने कोइरालाले बताए।
‘हामीले नै कारबाही गर्ने हो,’ कोइरालाले भने,‘अन्त:शुल्क ऐनको दफा १६ को व्यवस्था बमोजिम पक्राउ परेका व्यक्तिलाई बिगोको दोब्बरसम्म जरिवाना र एक वर्षसम्म कैद वा दुबै जरिवाना हुने सक्ने कोइरालाले जानकारी दिए।
बयान लिनेक्रम जारी रहेको हुँदा बयानका आधारमा त्योभन्दा कम पनि जरिवाना हुन सक्ने कोइरालाले बताए।
आफू दाङमा प्रमुखको रूपमा आएपछि यो अहिलेसम्मकै ठूलो कारबाही भएको कोइरालाले जानकारी दिए।