दक्षिण अफ्रिकामा पहिलोपटक गैंडाको सिटी स्क्यान गरिएको छ।
एक साताअघि त्यहाँको केयर फर वाइल्ड राइनो स्याङ्चुअरीले सामाजिक सञ्जालमा गैंडाको सिटी स्क्यान गरेका तस्बिरहरू सार्वजनिक गरेको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसअघि दक्षिण अफ्रिकामा जीवित गैंडाको सिटी स्क्यान नगरिएको र यो नै पहिलो भएको बताएका छन्।
केयर फर वाइल्ड राइनो स्याङ्चुअरीका अनुसार ओज नामको यो गैंडा स्थानीय आरक्षित क्षेत्रमा बस्छ। यसको अनुहार एकदमै सुन्निएपछि पशु चिकित्सकहरूले जाँच गरेका थिए। उसको दाँतको जरामा समस्या थियो।
ओज सेतो गैंडा हो। सन् २०१५ मा उसका आमाबुवा शिकारमा मारिएका थिए। ओजको भने उद्धार गरी पुनर्स्थापना केन्द्रमा लगियो र पछि आरक्षित क्षेत्रमा छाडिएको हो।
यो वर्षको सुरूतिर गैंडाको परीक्षण क्रममा उसको अनुहार एकदमै असामान्य तरिकाले सुन्निएको पाइएको थियो। अनि चिकित्सहरूको सल्लाहमा उसको सिटी स्क्यान गरिएको हो।
सबै तस्बिरः केयर फर वाइल्ड राइनो स्याङ्चुअरी