जिन्दगीमा आफ्नै मेहनतले दुई-चार पैसा कमाएर आर्थिक जीवन सुधार्न तेज वलीलाई कहिले यो, कहिले त्यो काम गरिरहन पर्यो।
२७ वर्षको उमेरमै तीन वटा जागिर फेरे।
स्कुले जीवनदेखि रेडियोमा बोल्ने, त्यसैमा काम गर्ने सपना बुन्दै हुर्किएका तेज अहिले थ्रिडी वालपेपर व्यवसायमा जमिरहेका छन्। सानैदेखि देखेको सपना पूरा नभएको होइन तर जीवन धान्न चाहिने आर्थिक उन्नति पनि हुनुपर्ने बुझ्दै गए।
रेडियोमा मन बसेको भने उनी स्कुले जीवनमै हो।
रेडियो तुलसीपुरमा 'आरजे हन्ट' कार्यक्रम सुरू हुँदादेखि उनी सुन्थे। पछि त्यही कार्यक्रमको आरजे हन्ट अफ दी इयर बन्न सफल भए।
आरजे अफ दी इयर बन्न सफल भएपछि उनले रेडियोको विज्ञापनमा बोल्ने अवसर पाए। आफू घर र बाटोमा हिँड्दा रेडियोबाट बज्ने विज्ञापनमा आफ्नो आवाज गुन्जिँदा उनी खुसीले पुलकित हुन्थे।
पहिलोपटक रेडियोमा बोल्न पाउँदाको दिन पनि उनी खुब सम्झिरहन्छन्। अकस्मात उनलाई कार्यक्रम सञ्चालन गर्न अफर आयो। उनको बेलाबेला भक्भकाउने बानी थियो। रेडियोमा बोल्दा भक्भकाउँछु कि भन्ने धुकचुक मनमा लिएर स्टुडियो पसे।
'आफू पूरै सचेत र सजग भएर बोल्दा भक्भकाउने समस्या नहुने रहेछ भन्ने मैले बुझेको छु,' तेजले भने, 'छिटो बोल्नु र मतलब नगरी बोल्दा म बाहिर आज पनि भक्भकाउँछु।'
त्यतिखेर तेजलाई लाग्थ्यो, रेडियोमा बोल्न पाए जीवनमा अरू केही चाहिँदैन। उनले बोल्न मात्र होइन रेडियोमै काम गर्ने मौका पाए। त्यतिखेर अहिलेभन्दा रेडियोको क्रेज व्यापक थियो। भर्खर–भर्खरै रेडियोहरू दूरदराजका जिल्लामा भित्रिएका थिए।
रेडियोमा बोल्नु भनेको समाजमा विशेष थियो, इज्जत थियो।
उनले रेडियोमा केही वर्ष काम गरे। त्यो बीचमा तेजले दैनिक ४/५ वटासम्म कार्यक्रमहरू सञ्चालन गरे।
काम गर्न थालेको दुई वर्षपछि बल्ल उनले पैसा पाउन थाले। त्यो पनि तिहारका बेला जम्मा एक हजार रूपैयाँ।
त्यतिन्जेल उनले बुझिसकेका थिए, रेडियोमा काम गरेर पैसा आउँदैन। नाम त छ, तर त्यो अनुपातमा दाम निकै कम रहेछ। उनले आफ्नो रहरको काम गरिरहे।
प्लस-टु पनि पढ्दै थिए। किशोर थिए, त्यसैले प्रशंसा र नाम भए उनलाई पुगेको थियो। कहिलेकाहीँ चाडपर्वमा पाउने दुई/ चार हजारमा उनी मख्ख थिए। खर्च आमाबाबुले नै दिन्थे।
रेडियोमा काम थालेको चार वर्षपछि तेजले बिहे गरे। जिम्मेवारी पनि बढ्दै गयो। उनले अरू पनि काम खोज्न थाले। त्यतिखेरै एक स्कुलमा कम्प्युटर शिक्षकको माग भयो। उनले त्यहाँ काम पाए।
शिक्षण र रेडियो प्रस्तोताको काम गर्दै उनले डेढ वर्ष बिताए।
त्यही बेला उनका शिक्षक साथीले होस्टल खोल्ने प्रस्ताव गरे। त्यतिखेर तुलसीपुरमा एउटा पनि होस्टल थिएन। राम्रै सम्भावना देखेर उनीहरूले बरूवा गाउँमा होस्टल खोले। केही समयमा उनका साथी विदेश गए। तेजलाई एक्लै होस्टल चलाउन मन लागेन। बेचिदिए।
त्यसपछि उनी कामबिहीन भए। रेडियोमा हप्तामा एक दिन कार्यक्रम चलाउँथे। त्यसबाट पैसा आउँथेन।
पैसा आउने काम त गर्नपर्छ भनेर उनले तुलसीपुरकै दोघरेमा एउटा मोटर गाडी वासिङ सेन्टर १२ लाखमा किने। एक डेढ-वर्ष वासिङ सेन्टरमा अनुभव बटुले। यसमा पनि धेरै आम्दानी हुन्थेन। त्योभन्दा पनि गाडी लाइनमा बोलिने छाडा शब्दहरू उनलाई पटक्कै मन परेन। तेजलाई त्यो पेसा उति सम्मानित लागेन।
'मेरा लागि त्यो पेसा उति सम्मानित लागेन र मैले त्यो पनि बेचिदिएँ,' तेजले भने।
त्यसपछि तेजलाई आफन्त र घर परिवारले पनि अविश्वास गर्न थाले। उनी निरास भइसकेका थिए।
'पढाइ पनि छोडिसक्यो। यो कुनै पनि पेसामा टिक्न सक्दैन र जीवनमा यसले कुनै प्रगति गर्न सक्दैन भन्न थाले,' उनले ती दिन सम्झिए, 'मलाई त अधैर्य छस्, बेचैनी छस्। बरू विदेश जा भनेर आफन्त र बुवाले पनि दबाब दिन थालेका थिए।'
तेजको मनमा भने आफ्नै ठाउँमा केही गरेरै देखाउने हुटहुटी थियो। श्रीमतीले भने विदेश नजान र आफ्नै ठाउँमा केही गर्न सुझाइन्। घरको दायित्व पनि थपिँदै थियो। तेज काठमाडौं पुगे। भौंतारिए। एक वर्ष त्यसै बित्यो। त्यसबीच पनि दाङमा रहँदा रेडियोमा कार्यक्रम चलाउन भने गइरहन्थे।
त्यही क्रममा तुलसीपुरमै तेजको पुष्प जिएमसँग भेट भयो। विदेश बसेर आएका जिएमले दाङमा पहिलो पटक थ्रिडी वालपेपरको काम सुरू गर्ने सोचेका रहेछन्। विदेशमा उनले यसको राम्रो बजार देखेका थिए। त्यसैले सम्भावनाको व्यापार भनेरै उनले केही सामान किनेर ल्याएका थिए। तर यहाँ आएपछि गर्न सकुँला झैं लागेनछ।
उनले तेजसँग भने- मैले त सक्दिनँ जस्तो छ। तिमी मिडियाकर्मी हौ, राम्रो गर्न सक्छौ।
काम छाडेर बसेका तेजले आँट बटुलेर हुन्छ भने। जबकि उनलाई थ्रिडी वालपेपर भनेको के हो नै थाहा थिएन। यो भित्ता सजाउने रंगीचंगी पेन्टिङ भएको पेपर रहेछ। अचेल पेन्टिङभन्दा यस्ता चित्र भएका पेपरको चल्ती छ भनेर पुष्पले नै उनलाई सम्झाएका थिए।
पुष्पले किनेर ल्याएका केही सामान तेजले किने। काठमाडौं पुगेर थप पाँच लाखको सामान किनेर ल्याए। आठ लाख जतिको सामान कोठामा थियो। अब त्यो कसरी बिक्री गर्ने? तेजसँग पनि कुनै आइडिया थिएन।
उनले सामाजिक सञ्जालमा वालपेपरबारे खोजी गरे। खास केही भेटेनन्। कसरी लगाउने, कहाँ टाँस्ने? मानिसहरूले के भन्लान् जस्ता कुराको उत्तर तेजसँग थिएन। तुलसीपुरका स्थानीय व्यापारीसँग सल्लाह लिन खोजे। कसैले पनि काम कसरी गर्ने भनेर आइडिया दिन सकेनन्।
'यो कागजको तिमी के व्यापार गर्छौ? फस्टाउन सक्दैन भनेर सबैले भने,' तेजले भने, ‘बुवाले पनि यसको व्यापार सम्भव छैन, सामान घरमै थन्काएर विदेश जा बरू त्यसबाट प्रगति हुन्छ। यो गरेर केही हुँदैन भन्नु भयो।'
तेजले हरेस खाएनन्।
'एक दिन मेरो पनि समय आउँछ' भन्नेमा उनी ढुक्क थिए।
वालपेपरका केही रोल एउटा झोलामा बोकेर तुलसीपुरभन्दा ४८ किलोमिटर पूर्वको लमही बजार पुगे। जिल्लाका प्रमुख सहरहरू तुलसीपुर र घोराहीमा उनले त्यो झोला खोल्दै खोलेनन्। एक्लै मोटरसाइकलमा गएका उनी लमहीको एउटा रेस्टुरेन्टमा दिउँसो खाजा खान पसे। पछाडि बोक्ने झोलाको माथिसम्म वालपेपरका रोल देखिएका थिए।
साहुनीले झिक्न लगाएर हेरिन्। यस्तै पेपर खोज्दा नपाएको भन्दै मूल्य सोधिन्। एउटा रोलको चार हजार।
तर साउनीले फिटिङसहित चार हजार दिन्छु भनिन्। यो फिटिङ पनि गर्नुपर्ने रहेछ भनेर तेजले बल्ल थाहा पाए। फिटिङ आइडिया थिएन। रोल त्यहीँ छाडेर फोन नम्बर दिएर फर्किए उनी।
तुलसीपुरकै शक्ति सुनारलाई उनले सम्झे। शक्तिले काठमाडौंमा वालपेपर फिटिङको काम गरेका थिए। तेज र शक्ति साहुनीकहाँ पुगे। दुई दिन काम गरेर ४० हजार बुझे।
थ्रिडी वालपेपरको व्यापारबाट तेजले गरेको पहिलो कमाइ थियो त्यो। फर्किँदा बाटोमा उनीहरू रोकिएका थिए। त्यहीँ एक जना कार चालक भेटिए। झोलामा स्टिकर देखेपछि कारधनीले पाँच हजारको स्टिकर किने।
त्यसपछि तेज मनमनै निश्चिन्त भए –बुझाउन सकेँ भने व्यापार राम्रो रहेछ।
उनले तुलसीपुरकै मानिसलाई पनि विस्तारै थ्रिडी वालपेपरबारे बुझाउन थाले। नयाँ खुलेका रेस्टुरेन्ट र होटेलका साथै नयाँ निजी घरमा पनि काम गरे। सामान कहाँबाट कसरी किन्ने, कतिमा बेच्ने, ग्राहकलाई कसरी बुझाउने भन्ने जस्ता व्यवहारिक कुरा सिक्दै गए।
व्यापार राम्रो हुँदै गयो।
तेजको व्यापार दाङमा मात्रै होइन, आसपासका जिल्लामा पनि फैलिँदै गयो। दाङसहित २० जिल्लामा उनको कारोबार हुन्छ। सामाजिक सञ्जालको सहयोगमा उनले व्यापार विस्तार गर्न सकेका हुन्।
अहिले उनी थ्रिडी वालपेपरका होलसेल बिक्रेता पनि हुन्। पसलमा एक करोड जति लगानी पुगिसकेको उनले बताए। २० जनालाई रोजगारी दिएका छन्।
'अब बन्ने नयाँ घर हुन् कि होटल, सबैले आफ्ना संरचना आकर्षक बनाउन चाहन्छन्। वालपेपरले उनीहरूको चाहना पूरा गरिरहेको छ,' तेजले भने, 'एकपटक लगाएपछि आठ/दस वर्ष ढुक्कले टिक्ने हुँदा भविष्यमा यसको माग झनै बढ्दै जाने विश्वास गर्न सकिन्छ।'
नयाँ वर्ष र चाडपर्वमा मासिक २० लाखसम्मको र अघिपछि आठ/दस लाखको व्यापार हुने तेजले बताए।
'सामान्य अवस्थामा पनि खर्च कटाएर मासिक एक-डेढ लाख मज्जाले बचत हुन्छ,' तेजले भने, 'व्यापार बिस्तार गर्दै जाने सोचमा छु। सोरूम खोल्ने मन छ अब।'
तेज आज पनि रेडियो तुलसीपुरमा कार्यक्रम सञ्चालन गर्न भने गइरहन्छन्। तर अचेल शनिबार मात्रै।
'मलाई चिनाएको र स्थापित बनाएको रेडियोले हो नि,' तेजले भने, 'त्यो मेरो सपना हो। त्यसैले म त्यसलाई विस्तारै भए पनि पच्छ्याइ रहनेछु।'