बेलायतले भारतीय स्वतन्त्रतावादी नेता महात्मा गान्धीको जीवन र विरासतको उत्सव मनाउँदै दिपावलीको अवसरमा बिहीबार नयाँ स्मारक सिक्का अनावरण गरेको छ।
सुन र चाँदीमा उपलब्ध यस विशेष सिक्कामा भारतको राष्ट्रिय फूल, कमलको चित्र र गान्धीको एउटा प्रख्यात उद्धरण ‘मेरो जीवन मेरो सन्देश हो’ भन्ने उल्लेख गरिएको छ।
बेलायतका प्रथम हिन्दू वित्तमन्त्री ऋषि सुनाकले बेलायतले गान्धीको सम्मानमा गरेको यो कामलाई ‘विश्वभरका लाखौं मानिसहरूलाई प्रेरित गर्ने प्रभावशाली नेतालाई उचित श्रद्धा’ भएको बताए।
‘हिन्दू धर्म मान्ने भएकाले दिपावलीका बेला यो सिक्का खुलाउन पाएकोमा म गौरवान्वित छु,’ सुनाकले भने।
विश्वभरि नागरिक अधिकार आन्दोलनका लागि चिनिने गान्धीले भारतमा बेलायती शासनविरुद्धको स्वतन्त्रता अभियानको नेतृत्व गरेका थिए। यसका कारण सन् १९४७ मा भारत स्वतन्त्रता प्राप्त गर्न सहयोग पुगेको थियो ।
बिहीबारबाट बिक्री भइरहेको ५ पाउण्डको सिक्का ‘रोयल मिन्ट’ को दिपावाली संकलनको हिस्सा हो। यो सिक्कामा हिन्दूहरूले मान्ने धनकी देवी लक्ष्मीको चित्रण गरिएको छ।
हिन्दूहरू इसाई तथा मुसलमानपछि बेलायतको तेस्रो ठूलो धार्मिक समूह हो र यो जनसंख्याको लगभग १.६ प्रतिशत छ।
अधिकांश बेलायती हिन्दूहरू नेपाल, भुटान, बर्मा तथा भारतीय मूलका छन्।
सरकारी स्वामित्वमा रहेको टक्सारका मुख्य ग्राहक अधिकारी निकोला हावेलले सिक्का अनावरणबारे भने, ‘महात्मा गान्धीको जीवन र विरासतको सम्झनामा पहिलो आधिकारिक बेलायती सिक्का अनावरण गर्न पाउँदा खुसी लागेको छ।’
यसको बनावट बेलायत र भारतबीचको स्थायी तथा सांस्कृतिक सम्बन्धमा आधारित रहेको उनले बताए।