रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-८ स्थित वीरबहादुर खड्काको घरबाट कात्तिक १५ गते नगद र गरगहना चोरी भयो।
परिवारका सदस्यभित्रै बसेर खाना खाइरहेका बेला माथिल्लो तलाबाट साढे नौ तोला सुनका गरगहना, ५० हजार नगद र दश हजार बराबरको रिचार्ज कार्ड चोरी भएको थियो।
घटना हुँदा रात छिप्पिसकेको थिएन। घरको माथिल्लो तलाबाट चोरी भएपछि पीडितले स्थानीय सोलावाङ प्रहरी चौकीमा जानकारी दिए।
आशंकाको आधारमा एक जना स्थानीय १५ वर्षीया किशोरीलाई अनुसन्धानका लागि कात्तिक १७ गते प्रहरीले नियन्त्रणमा लियो। त्यसको दोस्रो दिन बिहानै अँध्यारोमा खड्काको घरमा झन्डै नौ तोला सुनका गरगहना झोलासहित कसैले ढोकामा लगेर राखिदिएको अवस्थामा फेला परे।
चोरी भएको गरगहनामध्ये एउटा आधा तोलाको तिलहरी भने फेला नपरेको खड्का परिवारले प्रहरीलाई बताएको छ।
जिल्ला प्रहरी प्रमुख डिएसपी ध्रुवकुमार श्रेष्ठले खड्काको घरबाट चोरी भएको नगद ५० हजार र दश हजार बराबरको रिचार्ज कार्ड अझै फेला नपरेको जानकारी दिए।
कान्लामा गाडेको रकम फेला
मुसिकोट नगरपालिका-१२ थारकोट बुडेरीका लोकबहादुर पुनको घरबाट गत असोज २५ गते घरमा कोही नभएको मौका छोपी चोरले चार लाख ९९ हजार नगद र एक लाख बराबरको रिचार्ज कार्ड चोरेर लगेका थिए। पक्राउ परेकी ती किशोरीलाई सोधपुछ गर्ने क्रममा पुनको घरबाट उनैले चोरी गरेको खुल्न आएको डिएसपी श्रेष्ठले सेतोपाटीलाई बताए।
उनलाई सोधपुछ गर्दा सोही वडाको थारकोट डाँडा भन्ने स्थानमा बाटोमुनि कान्लामा प्लाष्टिकले बेरेर लुकाएर राखेको बयान दिइन्। प्रहरीले ती किशोरीलाई सँगै लगेर कात्तिक १७ गते नगद ८८ हजार कान्लामुनि लुकाएको अवस्थामा फेला पार्यो।
त्यसपछि किशोरी बस्ने घरबाट थप १७ हजार पाँच सय ३२ रुपैयाँ र ३० वटा रिचार्ज कार्ड फेला परे।
डिसएसपी श्रेष्ठका अनुसार ती किशोरीलाई सोधपुछ गर्दै जाँदा कात्तिक १९ गते फेरि प्रहरीले थारकोटस्थित उनको मामाको घरनजिकै मकैको नलको थुप्रोमा लुकाएर राखेको अवस्थामा ८९ हजार नगद फेला पार्यो। योसँगै २३ वटा एक सय रूपैयाँ पर्ने रिचार्ज कार्ड पनि फेला परेको डिएसपी श्रेष्ठले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान जारी रहेको डिएसपी श्रेष्ठले बताए।
‘ती किशोरी विश्वासै नगर्ने गरी चोरी कार्यमा संलग्न रहेको देखियो,’ डिएसपी श्रेष्ठले भने, ‘खड्काको घरबाट नगद र सुनका गरगहना चोरीमा उनको संलग्नता छ कि भनेर अनुसन्धान भइरहेको छ।’
डिएसपी श्रेष्ठका अनुसार ती किशोरीका बुवा-आमा रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका छन् भने उनी मामाको घरमा बस्दै आएकी छन्।
‘ती किशोरीले किन यसरी लाखौं नगद र गरगहना चोरी गरेकी हुन भन्नेबारे प्रहरीले अनुसन्धान गर्ने छ,’ डिएसपी श्रेष्ठले भने।
नाबालिका भएको हुँदा ती किशोरीको नाम भने प्रहरीले गोप्य नै राखेको छ।