नाम चलेकी गायिका विन्दु परियार दाङको एउटा टेलरिङमा लुगा सिउँदै गरेकी भेटिइन् भने अचम्म नमान्नुहोला।
उनी अहिले जन्मथलो दाङमा छिन् र त्यही मौकामा आफ्नी आमाको टेलरिङमा बेलाबेला सघाउन जान्छिन्।
उसो त विन्दु धानखेतमा पनि भेटिन सक्छिन्। उनी घर आउने वर्षको एकपटक दसैंमा हो। यो बेला आमाबाको टेलरिङमा धेरै काम हुन्छ। खेतमा धान काट्ने बेला पनि भइसकेको हुन्छ। त्यही भएर गाउँ आएका बेला आमाबालाई खेतदेखि टेलिरिङको काममा सघाउँछिन्।
'काठमाडौंमा सधैं भ्याइनभ्याइ हुन्छ, दसैंमा घर आएका बेला मात्र शान्तिले सास फेर्न पाउँछु,' उनी भन्छिन्, 'म यी सब काम गर्दै हुर्किएकीले केही अप्ठ्यारो लाग्दैन। काठमाडौंको व्यस्तता भुलेर आनन्दले दिन बिताउँदा रमाइलो हुन्छ। आफ्नो विगत फेरि जिउन पाएझैं लाग्छ।'
दाङमा बसुञ्जेल बाल्यकालदेखि गायिका हुँदासम्मका सम्झना सजीव भएर आउने उनी बताउँछिन्। कसरी हुर्किइन्, कसरी गाउन सिकिन् र सार्वजनिक रूपले गीत गाउँदा पाएको जिन्दगीकै पहिलो ताली मिठो याद बनेर आउने उनको अनुभव छ।
सार्वजनिक रूपमा पाएको त्यही पहिलो तालीले नै उनलाई गायिका बन्ने सपना पछ्याउन हौस्याएको थियो।
यिनै कथा सोध्न भनेर हामी उनलाई भेट्न गएका थियौं।
विन्दु सानै छँदा उनको परिवार तुलसीपुरबाट पर्सेनी भन्ने ठाउँमा बसाइँ सरेको थियो। विन्दुको घरनजिकै उनका मावली (आमाका बुवा) हजुरबुवा कृष्ण परियारको घर थियो। मावली हजुरबुवा एक्लै छँदा प्राय: गीत गाइरहन्थे। त्यति बेला उनले साँझबिहान गाउने गीतहरू नारायण गोपालका रहेछन् भन्ने विन्दुले आफू ठूलो भएपछि मात्र थाहा पाइन्।
‘गाउँले धेरैले उहाँलाई नारायण गोपाल नै भन्ने गर्थे,' विन्दुले सम्झिइन्, 'उहाँले दुरूस्तै गाउनु हुन्थ्यो।'
हजुरबुवाले रेडियोमा बज्ने गीतजस्तै गाउन सकेको देख्दा विन्दुलाई अचम्म लाग्थ्यो। तिनै गीत गाएर हजुरबाले पाएको तारिफले विन्दुको बालमन प्रभावित हुन्थ्यो। यसैबाट प्रेरित भएर उनले बिस्तारै गुनगुनाउन थालिन्।
घरको रेडियोमा नारायण गोपाल, तारादेवी, रामकृष्ण ढकाल, यम बराल, उदितनारायण झाका गीतहरू बजिरहन्थे। विन्दुलाई ती सबैका गीत मनपर्थे र त्यही सुनेर आफू पनि गाउने अभ्यास गर्थिन्।
विन्दुले गाएको सुनेर गाउँघरका मान्छेले पनि भन्न थाले, 'कति राम्रो गाउने रैछ। यसको गला त माउली हजुरबातिर गयो कि क्या हो!'
गाउँलेका यस्ता प्रतिक्रिया सुनेर विन्दु दंग पर्थिन्। बिस्तारै उनको चर्चा गाउँघर हुँदै स्कुले सहपाठी र साथीहरूबीच पनि हुन थाल्यो।
उतिखेर उनले पढ्ने कालोखोला माध्यमिक विद्यालयमा शुक्रबार विभिन्न अतिरिक्त क्रियाकलाप हुन्थे। कक्षा ७ मा पढ्दै गर्दा एक दिन विन्दुका साथीहरूले उनलाई गीत गाउन भने र उनको नाम गाउनेहरूको सूचीमा टिपाइदिए।
साथीहरूकै करकापमा उनले पहिलोपटक विद्यालयमा सबैका अगाडि उभिएर गीत गाइन्।
पहिलोपटक स्कुलको मञ्चमा उक्लेर गीत गाउन खोज्दा हातखुट्टा लगलग कामेको उनलाई अझै याद छ। तै जसोतसो गीत गाएको उनी बताउँछिन्।
त्यस दिन विन्दुले गीत सिध्याउँदा सबैले जोडले ताली बजाएका थिए। कतिले हुटिङ नै गरेका थिए। शिक्षकहरूले पनि खुब तारिफ गरे, उनले भनिन्, ‘रमेश रेग्मी सरले मलाई त्यतिखेरै भविष्यमा राम्रो गायक बन्ने घोषणा गरिदिनुभयो। त्यही हौसलापछि म विद्यालयमा हुने हरेक शुक्रबारे कार्यक्रममा सहभागी बन्दै गएँ।’
त्यसपछि कक्षाकोठामा मात्र होइन, विद्यालयमै उनको स्वरको प्रशंसा चुलिँदै गयो। लोकगीतदेखि चलचित्रका गीत र सुगम संगीतमध्ये चलेका गीतहरू उनले गाउन थालिन्।
विभिन्न दिवस र उत्सवमा साथीहरूले शब्द लेख्थे, गीत तयार पार्थे र विन्दुलाई गाउन दिन्थे। कहिले सामूहिक गीत गाउँदा विन्दुले नेतृत्व गर्थिन्। उनको स्वर अरूभन्दा राम्रो भएकाले सामूहिक गीति कार्यक्रममा उनलाई नै नेतृत्व गर्न लगाइन्थ्यो।
पछि उनले विद्यालयस्तरीय गायन प्रतियोगितामा पनि भाग लिन थालिन्।
‘कक्षा ८ मा पढ्दा रमेश सरले नै मलाई तुलसीपुरको रक्षाचौरस्थित नमूना माविमा प्रतिस्पर्धा गराउन लैजानुभएको थियो,’ विन्दुले भनिन्, ‘म तेस्रो भएकी थिएँ।’
विन्दु पढाइमा पनि कमजोर थिइनन्। उनले कालोखोला माविबाट २०६६ सालमा एलएसली पास गरिन्। यसबीच प्रशंसा र चर्चाले उनको हौसला बढिसकेको थियो। उनले गीत-संगीत क्षेत्रमै केही गरेर देखाउने सपना देख्न थालेकी थिइन्।
एसएलसीपछिको खाली समय उनले तुलसीपुरमै मामा नाता पर्ने व्यक्तिसँग संगीत कक्षा लिइन्। सुरतालबारे जानकारी लिइन्। यसले उनलाई गायन क्षेत्रमा अघि बढ्ने थप हौसला दियो। उनको मनमा आफ्नो गायन तिखार्ने हुटहुटी चलिरहन्थ्यो। कुनै ठाउँमा प्रतियोगिता हुँदैछ भन्ने थाहा पाउनेबित्तिकै उनी भाग लिन पुगिहाल्थिन्।
‘चुम्बकले फलाम तानेजस्तै म त्यस्ता कार्यक्रममा आकर्षित हुन थालेकी थिएँ,’ विन्दुले भनिन्।
उनी कालोखोला माविमै कक्षा १२ पढ्दै गर्दा २०६८ सालमा घोराहीमा 'राप्ती आइडल' भन्ने गायन प्रतियोगिता भएको थियो। त्यसमा विन्दु प्रथम भइन्। यसले उनको आत्मविश्वास झन् बढायो।
त्यही समय तुलसीपुरमा 'रेडियो सर्यु गंगा' भन्ने एफएम खुल्यो जसले ‘सर्यु स्टार’ नामक गायन प्रतिस्पर्धा गरायो। लगभग पाँच सय प्रतिस्पर्धी सामेल त्यो प्रतियोगितामा लगातार तीन महिना प्रतिस्पर्धा गरेर विन्दु प्रथम भइन्।
प्रथम हुनेलाई एउटा सिनेमाको गीत गाउन अवसर दिने सर्त थियो। यसैअनुसार उनले 'अप्रिलफुल' भन्ने फिल्ममा गाउने अवसर पाइन्। त्यही गीत गाउन उनी पहिलोपटक २०७० सालमा काठमाडौं गएकी थिइन्।
उनले 'तेरो मेरो पिरती भयो कस्तो कस्तो ... छुटेपछि नभेट्ने मुना मदनजस्तो ... ' गीतमा महिला स्वर दिएकी थिइन्।
यो गीत गाएपछि उनलाई धेरैले भने, 'तपाईंको राम्रो सम्भावना छ, काठमाडौंमै बसेर संघर्ष गर्नुहोस्।'
त्यतिबेलासम्म विन्दुको मनमा एउटा गीत मात्रै रेकर्ड गर्न पाए हुन्थ्यो भन्ने रहर थियो। काठमाडौंमा बस्ने र गायनलाई नै पेसा बनाउने अवसर यति छिट्टै पाइएला भन्ने उनले सोचेकै थिइनन्।
काठमाडौंमा गीत रेकर्ड गराएर घर फर्किएपछि आफ्नै ठाउँका रेडियोबाट समेत उनले गाएको गीत बज्न थाल्यो। त्यसपछि त विन्दुको खुसीको सीमा नै रहेन।
‘बसमा यात्रा गर्दा र रेडियोमा आफ्नो गीत बज्दा यति खुसी लाग्थ्यो, म वर्णन पनि गर्न सक्दिनँ,’ उनले भनिन्, 'म आफैंलाई अर्कै मान्छे भएँजस्तो लाग्थ्यो। गाउँघर, छरछिमेक, साथीहरूले पनि सेलिब्रेटीलाई झैं मान्न थाले।'
त्यसपछि लगालग विन्दुलाई धेरै गीतका अफर आए। उनले निरन्तर दर्जनभन्दा बढी गीत गाइन्। यसबीच उनी दाङ–काठमाडौं आउजाउ गरिरहन्थिन्। आउजाउ गर्न गाह्रो हुँदै गएपछि उनी काठमाडौंमै दिदीसँग बस्न थालिन्।
काठमाडौंमा बाँच्न कहाँ सहज थियो र? सुरू–सुरूमा खर्च जुटाउन कोरस (समूह) र रेस्टुरेन्टमा पनि गाएको उनले बताइन्।
'मैले धेरै गीत गाएँ, कहिले समूहमा गाएँ, कहिले रेस्टुरेन्टहरूमा गजल गाएँ,' उनले भनिन्, 'काठमाडौंमा खर्च ज्यादा हुन्थ्यो, गीत गाएर पैसा धेरै आउन्नथ्यो। यहाँ टिकिरहन मैले टेलरिङको काम पनि गरेँ।'
रेस्टुरेन्टमा रातिराति काम गर्दा चिसोले घाँटी खराब हुने डरले उनले त्यो काम छाडिदिइन्।
केही वर्ष यसरी नै संघर्ष गरेपछि २०७४ सालमा चलचित्र 'मंगलम' का लागि गीत गाउने अफर आयो। यही अफरले उनको करिअरलाई नयाँ मोड दियो। यो फिल्मको ‘पर्ख पर्ख मायालु म पनि त आउँला, रेलको झ्याल समाएर सँगै भागम्ला’ बोलको गीत सुपरहिट भयो।
विन्दुले यो गीतबाट पहिलो राष्ट्रिय अवार्ड जितिन्। त्यसपछि देशभरका मेला-महोत्सवबाट उनलाई निम्ता आउन थाले।
तीन वर्षपहिले ‘छक्कापञ्जा’ चलचित्रको ‘पहिलो नम्बरमा’ बोलको गीत गाएपछि त उनी देश-विदेशमा बस्ने नेपालीहरूकी प्रिय गायिका बनिन्। हालसम्म विभिन्न फिल्ममा समेत गरी झन्डै तीन सय गीत गाइसकेको उनी बताउँछिन्।
अचेल विन्दु निकै व्यस्त छिन्। झन्डै तीन साताअघि उनको ‘तिम्रै हुन पाउँ’ बोलको गीत सार्वजनिक भएको छ जसमा उनले आफैंले पहिलोपटक मोडलिङ पनि गरेकी छन्।
उनी दिनहुँ बिहान सबेरै उठेर साधना गर्छिन्। त्यसपछि विभिन्न अनलाइनमा समाचार पढ्छिन्। देश-विदेशका घटनाहरू हेर्छिन्। एक्लै हुँदा किताब पढ्न र विभिन्न भाषा सिक्न उनलाई मनपर्छ। देश-विदेशका गीतहरू एक्लै बसेर खुब सुन्ने गरेको उनी बताउँछिन्।
आफूले नयाँ गीत रेकर्ड गरेपछि कोठामा एक्लै बसेर महिना दिनसम्म ध्यान दिएर सुन्ने उनको बानी छ। ‘गीतमा कहाँनिर गल्ती छ भनेर पहिल्याउन म आफ्ना गीतहरू एकान्तमा सुन्छु,’ उनले भनिन्, 'पहिले आफूले गाएका गीत सुन्दा धेरै कमजोरी भएको महशुस हुन्छ। सायद मान्छेको चित्त कहिल्यै बुझ्दैन क्यारे!’
विन्दुको अब ठूलो सपना केही छैन। अहिले पाएको सफलता र चर्चालाई जोगाउन पाए हुन्थ्यो भन्ने मात्र छ।
'जिन्दगीको आखिरी पलसम्म गीत गाउन पाए पुग्छ,' उनले भनिन्।
सबै तस्बिर: नारायण खड्का/सेतोपाटी