तुलसीपुर उपमहानगरपालिका १३ फूलबारीस्थित बहुउदेश्यीय गौशाला सञ्चालनमा आएको छ। गोलौराबाट सयौं गाई स्थान्तरण गर्दै शुक्रबारदेखि फुलबारीमा गौशाला औपचारिक रूपमा सञ्चालनमा आएको हो।
लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा सहकारी मन्त्री डिल्लीबहादुर चौधरीलगायतले सामुहिक गाई पुजन गर्दै गौशालाको उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री चौधरीले गाई हिन्दु धर्मको आस्थाको केन्द्र भएकाले यसको संरक्षण र विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए।
उनले फूलवारी क्षेत्र कृषिमा मात्रै नभएर शिक्षाको पनि हव बनाउन सकिने हुँदा के गर्न सकिन्छ त्यसबारे प्रतिवेदन पेश गर्नसमेत आग्रह गरे।
फूलबारी क्षेत्रमा डिप ट्यूवेल खनेर, तटबन्धहरु गरेर कृषि क्रान्ति गर्न आवश्यक रहेको मन्त्री चौधरीले बताए । त्यस्तै उनले फूलबारी क्षेत्रका प्रदेश यूर्निभर्सिटी बनाउन चाहेको भन्दै त्यो सम्भव नभएर बालबालिका र महिलाको लागि तुही खोला क्षेत्रमा युर्निभर्सिटी बनाउन लागिएको आश्वासन दिए।
मन्त्री चौधरीले छिमेकी मुलुक भारतमा ठूला ठूला गौशाला सञ्चालनमा रहेकाले त्यहाँ कसरी सञ्चालनमा रहेको भन्दै ती ठाउँको अध्ययन गर्न जरूरी रहेको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गौशालालाई बहुआयामिक बनाएर गरिबी न्यूनीकरण र पर्यटनसँग जोड्न सकिने बताए।
उनले नमुनायोग्य काम भएको भन्दै यसलाई पर्यटकीय थलो बनाउन अभियान थाल्नुपर्ने तर्क गरे ।
तुलसीपुर ६ का वडाध्यक्ष तथा उपमहानगरपालिका वातावरण समितिका संयोजक नवराज लामिछानेले गौशालासँग स्थानीय सरकारको सहकार्य कायमै रहने बताए। सडक चौपायाको संरक्षण र सडक सुरक्षाका लागि भनेर गौशाला सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।
संस्थाका अध्यक्ष भण्डारीले नयाँ प्रक्रिया अनुसार गौशाला सञ्चालन गरेको बताए। उनले सबैको सहयोग र सहकार्य गौशालालाई आवश्यक रहेको बताए।
तुलसीपुर उपमहानगरपालिकाको शेयर लगानीमा तुलसी गौशाला तथा सरसफाई व्यवस्थापन बहुउदेशीय सहकारी संस्थाले उक्त गौशाला सञ्चालनमा ल्याएको हो। सात विगाह क्षेत्रफलमा फैलिएको गौशाला २०७६ सालदेखि निर्माण सुरु भएको थियो । अहिले गौशालामा ४ सय गाई राखिएका छन् ।
सडकमा छाडा छोडेका गाईलाई संरक्षण र सम्बद्र्धन गरि सहरलाई व्यवस्थित गराउन फूलबारीमा २ करोड बढी लगानीमा गौशाला सञ्चालनमा आएको तुलसी गौशाला तथा सरसफाई व्यवस्थापन बहुउदेशीय सहकारी संस्थाका अध्यक्ष बीरबहादुर भण्डारी (मोहन)ले जानकारी दिए ।
गौशाला सञ्चालनका लागि पूर्वाधार निर्माणको काम पुरा भए पनि गाईका लागि आहारा व्यवस्थापन गर्न समस्या भइरहेको अध्यक्ष भण्डारीले बताए। गौशालाको रूपमा मात्रै नभई आफूहरूले धेरै क्षेत्रमा काम गर्न चाहेको हुँदा युवा वर्गलाई हातेमालो गर्न भण्डारीले आग्रह गरे।
तुलसीपुर ६ गोलौराबाट फूलबारीस्थित गौशाला झन्डै १५ किलोमिटर जति दक्षिणमा अवस्थित छ । बजारको गोलौरास्थित गौशालाबाट यसैसाता गाईका बथानलाई एकै साथ हिँडाउँदै फूलबारी लगिएको थियो ।