भारतको राजधानी नयाँदिल्ली क्षेत्रमा बढेको प्रदूषणले बालबालिका सबभन्दा बढी प्रभावित भएको पाइएको छ।
नयाँदिल्ली शुक्रबार संसारकै बढी प्रदूषित वायु भएको सहर बनेको थियो। बिहीबार राति लक्ष्मीपूजा र दिपावलीको अवसरमा पड्काइएका पटकाका कारण दिल्लीको वायुमा प्रदूषणको मात्राले खतराको तह पार गरेको हो।
विज्ञ तथा सरोकारवालाले प्रदूषणबाट बालबालिकालाई दीर्घकालीन असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। वायु प्रदूषणको असर बालबालिकामा अहिलेभन्दा पछि बढी देखिने सर गंगाराम अस्पतालका डा. धीरेन गुप्ताको भनाइ छ।
'बालबालिकामा प्रदूषणको असर अहिले के देखिएको छ र? त्योभन्दा बढी असर त पछि देखिन्छ, त्यसैले यो धेरै गम्भीर र दूरगामी समस्या हो,' गुप्तालाई उद्धृत गर्दै रासस/एएनआई लेख्छ।
समाचार संस्था रोयटर्सका अनुसार शुक्रबार बिहानदेखि दिल्लीको आकाश तुँवालोले ढाकेको छ भने दिल्लीको एयर क्वालिटी इन्डेक्स (एक्वुआई) ४५१ पुगेको छ। सरकारले पटाका पड्काउन प्रतिबन्ध लगाए पनि कार्यान्वयन नहुँदा दिल्लीसहित भारतका अरू सहरमा पनि वायु प्रदूषण बढेको छ।
स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार शुक्रबार दिउँसो दिल्लीको एयर क्वालिटी इन्डेक्स ३९२ थियो। एक्वुआई ५० हुनु राम्रो मानिन्छ। शून्यदेखि १०० सम्मलाई मध्यम मानिन्छ भने एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ।
एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। तीन सयभन्दा माथि जानु चाहिँ घातक हो।
बालबालिकामा यसले पार्ने असरबारे चिन्ता, चासो र गाम्भीर्य अधिकांशमा नदेखिनु अर्को चिन्ताको विषय भएको डा. गुप्ताको टिप्पणी छ। विशेष गरेर बालबालिकामा स्वासप्रश्वाससँगै मानसिक समस्या देखिन सक्ने उनले बताए। आँखा पिरो हुने र घाँटी चिलाउने असर तत्काल नै देखिएको र त्यस्ता बिरामी आउने गरेको जानकारी पनि उनले दिए।
सवारी साधन, औद्योगिक उत्सर्जन, धूलो र मौसमका कारण पछिल्ला केही वर्षदेखि भारतको नयाँदिल्ली विश्वको सबभन्दा प्रदूषित राजधानीका रूपमा चिनिँदै आएको छ। हिउँदमा छिमेकी राज्यमा जलाइएका परालका धुवाँका कारण पनि दिल्लीको वायु विषाक्त बन्ने गरेको छ।
सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँको प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन्।
दिल्ली मात्र नभई भारतका अरू पनि धेरै सहर अतिप्रदूषितमा पर्छन्। संसारका सबभन्दा धेरै प्रदूषित ३० सहरमध्ये २२ वटा भारतमै छन्। भारतमा प्रदूषित वायुका कारण बर्सेनि १० लाखको मृत्यु हुने विभिन्न तथ्यांकले देखाउने गरेका छन्।