सियरा लिओनमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा कम्तिमा ९८ जनाको ज्यान गएको छ।
सियरा लिओनको राजधानी फ्रीटाउनमा शनिबार अर्को लरीसँग जुधेँर विस्फोट हुँदा कम्तीमा ९८ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
समाचार संस्था एएफपीका अनुसार आगलागी हुनुअघि इन्धन पोखिएको थियो। त्यसपछि लागेको आगोले नजिकै रहेका मानिस र सवारी साधनमा सल्किएको थियो।
घटनामा परी १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइते हुनेमा अधिकांश महिला र बालबालिका छन्। अधिकांशको शरीरका धेरै भाग जलेका छन्। आफ्ना सवारी साधनमा फसेका कारण कैयौंले ज्यान गुमाउन पुगेका थिए।
प्रत्यक्षदर्शीका अनुसार दुर्घटनालगत्तै घटनास्थलमा धेरै मानिस जलिरहेको, रोइरहेको देखिएको थियो र कोही कोही त जल्दै दौडिँदै गरेको पनि देखिएको थियो।
घाइते र मृतकमध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदलयात्री, सडकका व्यापारीलगायत छन्। शनिबार बिहान किनबेचका लागि सयौँ मानिसको भीड सडकमा लागेको थियो । त्यही भएर पनि मानवीय क्षति धेरै भएको अनुमान गरिएको छ ।
घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्नसक्ने स्थानीय अधिकारीहरुले अनुमान गरेका छन्।
यसैबीच राष्ट्रपति जुलियस मादा बायोले दुखान्तकारी आगलागी र मानिसको ज्यान गएका कारण आफूलाई गहिरो दुःख लागेको बताएका छन्। ट्वीट गर्दै राष्ट्रपतिले पीडित परिवारलाई आफूले सक्दो सहयोग गर्नेसमेत बताएका छन्।
सियरा लिओनको राष्ट्रिय प्रकोप व्यवस्थापन संस्थाका प्रमुख ब्रिमा बुरेह सेसेले यो घटनालाई स्थानीय सञ्चार माध्यमसँग भयानक दुर्घटना भएको बताइन्।
एक लाखभन्दा बढी मानिस बसोबास गर्ने यस बन्दरगाह सहरमा, पछिल्ला वर्षमा निकै गम्भीर प्रकोपहरूको सामना गरेको बिबिसीले जनाएको छ।
गत मार्चमा सोही सहरको एउटा बस्तीमा भीषण आगलागी हुँदा ८० जना भन्दा बढी व्यक्ति घाइते भएका थिए। घटना लगत्तै करिब ५ हजार मानिस विस्थापित हुनु परेको थियो।
त्यस्तै सन् २०१७ मा भारी वर्षापछि आएको बाढीमा परेर एक हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो। बाढीले पछि सहर प्रभावित पारेको थियो जसका कारण ३ हजार मानिस घरबारविहीन भएका थिए।