सल्यानको कालिमाटीबाट दाङ आउँदै गरेको भे१ज ५२२ नम्बरको जीप सोमबार बिहान ९ बजेतिर बबई गाउँपालिका-३, ठाडोखोलामा दुर्घटनामा पर्यो। गाडीसाहु देवबहादुर सुनारको घटनास्थलमै मृत्यु भयो भने थप १५ यात्रु घाइते भए।
यो घटनाबारे प्रहरीले साढे ९ बजे मात्रै खबर पायो। घाइतेलाई उद्धार गरी तुलसीपुर बजारसम्म ल्याइपुर्याउँदा थप एक-डेढ घन्टा समय लाग्यो।
झन्डै ४५ किलोमिटर पश्चिमको बबई गाउँपालिकाबाट तुलसीपुर ल्याइएका घाइतेहरू बाटोभरि ऐया र आत्था गर्दै थिए। निकै कष्टपूर्वक अस्पताल पुगेपछि अब त उपचार होला भन्ने भावमा उनीहरूको अनुहारमा सन्तोष झल्किएको थियो।
तर यो सन्तोष लामो समय रहन पाएन।
तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालले अधिकांश घाइतेलाई थप उपचार निम्ति बाँकेको कोहलपुर मेडिकल कलेज रेफर गरेर पठायो।
त्यसपछि भने घाइतेका आफन्तमा फेरि बेचैनी बढ्न थाल्यो। उनीहरू एम्बुलेन्स खोज्न दौडधुप गर्न थाले।
मध्याह्न सवा १२ बजेसम्म अस्पतालले ९ जना घाइतेलाई रेफर गरिसकेको थियो। सबैका लागि एकैचोटि एम्बुलेन्स पाउन सम्भव थिएन। तिनैमध्ये दंगीशरण गाउँपालिका-२ की ३१ वर्षीया पार्वत ओली खत्रीको अवस्था गम्भीर थियो। स्वास्थ्यकर्मी र चिकित्सकले उनीहरूलाई छिटोभन्दा छिटो काठमाडौं लैजान भनिरहेका थिए। तर लाख कोशिस गर्दा पनि उनका आफन्तले एम्बुलेन्स जुटाउन सकेनन्।
त्यसपछि उनीहरू हेलिकप्टर चार्टर्ड गरेर भए पनि काठमाडौं लैजाने तयारीमा लागे।
हेलिकप्टर पनि भन्नेबित्तिकै पाउन कहाँ सजिलो थियो र!
उनीहरूले तुलसीपुरका भएभरका उद्योगी, व्यापारी र नेताहरू गुहारे। आखिरमा ३ लाख ४० हजार रूपैयाँमा सिम्रिक एयरको हेलिकप्टर बन्दोबस्त भयो।
दिउँसो सवा १ बजेतिर पार्वतीलाई काठमाडौंको न्यूरो अस्पाल लैजान भनेर हेलिकप्टर तुलसीपुरबाट उड्यो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार पार्वतीको टाउकोमा चोट लागेको हुँदा अवस्था गम्भीर छ। घाइतेमध्ये अर्का एक बालक र एक महिलाको अवस्था पनि गम्भीर छ।
उनीहरूका आफन्तलाई पनि अस्पतालले थप उपचार निम्ति काठमाडौं लैजान सुझाव दिएको थियो। खर्च जोहो गर्न नसकेपछि तुलसीपुरबाट झन्डै सय किलोमिटर टाढाको कोहलपुर लैजान बाध्य भए। एम्बुलेन्स खोज्न पनि उनीहरूलाई निकै कष्ट भयो।
पार्वतीका आफन्त देवीराम कुसारीले दाङजस्तो सुगम भनेर चिनिने उपत्यकामा एउटा सुविधासम्पन्न अस्पतालसमेत नहुनु दुर्भाग्यपूर्ण भएको बताए।
'अघिपछि दालभातको जोहो नागरिक आफैंले गर्छन्,' उनले भने, 'यस्तो अप्ठ्यारोमा समेत बिरामी वा घाइतेले नजिकै उपचार नपाउनु भनेको राज्य नहुनु सरह हो।'
जिल्लामा दूई ठूला सरकारी अस्पताल भए पनि ती रेफर सेन्टर मात्र भएको उनले गुनासो गरे।
'सानातिना भैपरी आउने घटना र दुर्घटनाका घाइतेको समेत उपचार नहुने अस्पतालको के काम?' उनले भने, 'यसले संघीयताको उपहास भइरहेको छ।'
उपचारका लागि छपटाउँदै गरेका घाइतेलाई एम्बुलेन्स र हेलिकप्टरबाट सयौं किलोमिटर टाढाका ठूला सहरमा लैजानुपर्ने बाध्यता अन्त्य गर्न राज्यले कुनै ध्यान नदिएको भन्दै उनले आक्रोश पोखे।
यो आजको घटना मात्र होइन। यहाँ पटकपटक दुर्घटनाका घाइतेले यस्तै नियति भोग्नुपरेको छ।
यसै साता आइतबार बिहान करिब ११ बजेतिर सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुर आउँदै गरेको ना२ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका-५, खारखोला नजिकै दुर्घटना हुँदा १० महिला र २ पुरूष गरी १२ जनाले ज्यान गुमाए। मृतकमध्ये सात जना दाङका र पाँच जना सल्यानका थिए।
सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाका अनुसार ६ जनाको घटनास्थलमै र ६ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
दुर्घटनास्थल खारखोला सल्यान खलंगाबाट ३६ किलोमिटर, लुहाम बजारबाट करिब ७ किलोमिटर र दाङसँग सीमा जोडिएको कपुरकोट बजारबाट करिब ७ किलोमिटर दुरीमा छ। दाङको तुलसीपुरदेखि सल्यानको दुरी २४ किलोमिटर छ। तर दुर्घटनाका घाइतेलाई कहाँ लैजाने भनेर एकछिन अन्यौल भयो।
दाङ वा सल्यान जहाँ लगे पनि ढुक्कसँग उपचार हुन खालको अवस्था कतै थिएन। त्यही भएर अधिकांश घाइतेलाई सुरूमा सल्यानको श्रीनगर पुर्याइयो। त्यहाँबाट केहीलाई खलंगा पुर्याइयो। त्यहाँबाट फेरि केहीलाई दाङको तुलसीपुर ल्याइयो।
तुलसीपुरमा पनि उपचार सम्भव नभएकाहरूलाई झन्डै सय किलोमिटर टाढा बाँकेको कोहलपुर पुर्याइयो। घाइतेमध्ये १९ जनालाई कोहलपुर लगिएकामा ८ जनालाई हेलिकप्टरमा र ११ जनालाई एम्बुलेन्समा कोहलपुर लगिएको डिएसपी थापाले जानकारी दिए।
'हेलिकप्टरले आठ जना घाइते ओसार्न तीन खेप गर्नुपर्यो,' डिएसपी थापाले भने, 'नजिकै राम्रो उपचार नहुँदा घाइतेलाई कहाँ पठाउने भनेर निकै तनाव बेहोर्नुपर्यो।'
गम्भीर अवस्थाका आठ जनालाई हेलिकप्टरमा नपठाएको भए थप क्षति हुने निश्चित भएकाले बिरामीको अवस्था हेरेर हेलिकप्टर मगाउनुपरेको थापाले बताए।
दाङ, सल्यान, रोल्पा, रूकुम, प्युठान लगायत आसपासका जिल्लामा कहीँ पनि यस्ता भैपरी आउने घटना वा दुर्घटनामा बिरामी उपचार गर्न सघन उपचार सेवा उपलब्ध छैन। दाङ आसपासका ती पहाडी जिल्लाबाट बिरामी ल्याउने दाङमै हो। तुलसीपुरमा राप्ती प्रादेशिक अस्पताल छ भने घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान छ। तर ती अस्पतालमा भरपर्दो सेवा छैन।
नजिकै राम्रो उपचार सेवा नहुँदा यस्ता आकस्मिक घटनामा घाइतेले ठूलो सास्ती खेप्नुपर्छ। रूकुम, रोल्पा, सल्यानजस्ता पहाडी जिल्लामा हुने दुर्घटनाका घाइतेलाई दाङ र दाङदेखि फेरि नेपालगन्ज दौडाउने परम्पराजस्तै बनेको छ। धेरै घाइते बाटोमै छटपउँदै प्राण त्याग्छन्। त्यो प्रत्यक्ष देख्ने आफन्तले ठूलो मानसिक पीडा खेप्नुपर्छ।
दुर्घटनाजस्तो आकस्मिक अवस्थामा मात्र होइन, सामान्य समयमा पनि यहाँका स्थानीयले राम्रो स्वास्थ्य सेवा पाउन सकेका छैनन्। यसको उदाहरण कात्तिक १८ गतेको घटना हो।
त्यस दिन दाङको घोराही उपमहानगरपालिका-१६ की धनमाया नाथलाई सुत्केरी भएलगत्तै ब्रेन ह्यामरेज भयो। बुवा खिमबहादुर नाथ लगायत आफन्तले हारगुहार गरे। सरकारले नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं लगेर उनको उपचार गरेको थियो। उनको मृत्यु भइसकेको छ।
धनमायाजस्ता थुप्रै सुत्केरी र दुर्घटनाका घाइतेलाई हेलिकप्टर चार्टर्ड गरेर काठमाडौंलगायत जिल्लामा उपचार निम्ति लगिएका घटना छन्। कोरोना महामारीको दोस्रो लहर चल्दा पनि दाङका धेरै सिकिस्त बिरामीहरू व्यक्तिगत खर्चमा हेलिकप्टर चार्टर्ड गरेर काठमाडौं पुगेका थिए।
आर्थिक अवस्था कमजोर भएकाहरू यसरी हेलिकप्टर चार्टर्ड गर्न सक्दैनन्। यसले गरिब परिवारका घाइतेलाई ऐया र आत्थु गर्दै एम्बुलेन्समा घन्टौं दौडाएर अन्य जिल्ला लग्नुको विकल्प छैन। ती एम्बुलेन्स पनि आकस्मिक सेवासुविधायुक्त होइनन्, बिरामी ओसारपसार गर्ने गाडी मात्र हुन्। गम्भीर बिरामी वा घाइतेका लागि अत्यावश्यक सुविधाविहीन यस्ता गाडीमा लामो समय दौडाउँदा बीच बाटोमै ज्यान जान्छन्।
अहिले दाङ लुम्बिनी र सल्यान कर्णाली प्रदेशमा विभक्त भए पनि यी दुई जिल्लाको लाइफलाइन एउटै हो। दाङमा रोल्पा, सल्यान, रूकुम, प्युठानका मानिस बसाइ सरेर आउने क्रम रोकिएको छैन। सल्यानबाट बसाइ सरेर आउनेको संख्या पनि ठूलो छ। तर यी जिल्लामा भरपर्दो अस्पताल एउटै छैन। भए पनि दरबन्दीअनुसार विशषेज्ञ चिकित्सक छैनन्।
मुलुक संघीयतामा गएको पाँच वर्ष बित्नै लाग्दा पनि ठूला सहरबाहेक दुर्गम पहाडी क्षेत्रका नागरिकले त्यसको अनुभूत गर्न पाएका छैनन्। उनीहरूले उपचारका लागि राम्रो अस्पतालसमेत पाएका छैनन्।
दाङ र सल्यानजस्ता ठाउँका घाइतेले समयमै र नजिकै राम्रो उपचार नपाउनु नै यसको सबभन्दा ठूलो उदाहरण हो।