सोमबार भारतको राजधानी नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा एउटा समारोहको आयोजना गरिएको थियो।
उक्त समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले सात जनालाई प्रतिष्ठित पद्म विभूषण, १० जनालाई पद्म भूषण र १०२ जनालाई पद्मश्री पुरस्कारबाट सम्मानित गरेका थिए।
पद्मश्री पुरस्कार लिन राष्ट्रपति भवन पुगेकी दुई जनाका तस्बिरको भने अहिले चर्चा भइरहेको छ। ७७ वर्षीया आदिवासी महिला तुलसी गौडा र ६५ वर्षीय सुन्तला व्यापारी हरेकाला हजाब्बा राष्ट्रपति कार्यालय जाँदा पनि खाली खुट्टा थिए।
तुलसी खाली खुट्टा आफ्नो जातिको परम्परागत पहिरन लगाएर राष्ट्रपति भवन पुगेकी थिइन्। पर्यावरणको सुरक्षामा दिएको योगदानका लागि तुलसीलाई पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको थियो।
तुलसी कर्नाटककी पर्यावरणविद् हुन्। उनलाई जंगलकी इन्साइक्लोपिडिया पनि भनेर चिनिन्छ। उनले अहिलेसम्म ३० हजार बिरूवा रोपेकी छन्।
उनले १२ वर्षको उमेरदेखि नै बिरूवा रोप्न थालेकी थिइन्। ती बिरूवाको हेरचाह उनी आफैंले गर्थिन्।
तुलसी वन विभागमा पनि काम गर्छिन्। त्यसअघि उनले त्यहाँ स्वयंसेवकको रूपमा काम थालेकी थिइन्।
सहारोहमा राष्ट्रपति कोविन्दले उनलाई बधाई दिएका थिए।
'राष्ट्रपति कोविन्दले सामाजिक कार्यको लागि श्रीमती तुलसी गौडालाई पद्मश्री पुरस्कार प्रदान गरेका छन् उनी कर्नाटककी एक पर्यावरणविद् हुन्, जसले ३० हजार बढी बिरूवा रोपेकी छन्। र छ दशकदेखि उनी पर्यावरण संरक्षण गतिविधिमा सामेल छिन्,' राष्ट्रपति कार्यालयको आधिकारिक ट्विटरमार्फत् गरिएको ट्विटमा उल्लेख छ।
यसअघि इन्दिरा प्रियदर्शिनी वृक्ष मित्र अवार्ड, राज्योत्सव अवार्ड र कविता मेमोरियल लगायत पुरस्कारबाट सम्मानित गरिएको थियो।
त्यस्तै कर्नाटकाको एक गरिब परिवारका ६५ वर्षीय सुन्तला व्यापारी हरेकाला हजाब्बालाई पनि पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको थियो। उनले आफ्नो कमाइबाट दक्षिण कन्नाडाको न्युपादुपु गाउँका गरिब बालबालिकाहरूलाई पढाउन मद्दत गरेका थिए।
उनले गाउँमा बालबालिकाहरूका लागि प्राथमिक र माध्यामिक विद्यालय बनाएका थिए। उनी पनि सोमबार खाली खुट्टामा पद्मश्री पुरस्कार लिन पुगेका थिए।