विश्वका दुई शक्तिशाली मुलुक अमेरिका र चीनबीच पछिल्लो समय तिक्ततापूर्ण सम्बन्ध छ। सन् २०१८ देखि सुरू भएको व्यापार युद्ध जारी छ। सिन्जियाङ, हङकङ र तिब्बतको मानव अधिकार, ताइवानको स्वतन्त्रता र साउथा चाइना सीबारे दुई मुलुक फरक ध्रुवमा छन्।
दोस्रो विश्वयुद्ध पछि महाशक्ति बनेको अमेरिका र अमेरिकालाई पछि पार्दै विश्व महाशक्ति बन्ने दौडमा रहेको चीनबीचको द्वन्द्व र प्रतिष्पर्धाले संसारका धेरै मुलुकको परराष्ट्र नीतिमा असर परेको छ।
संसारकै पहिलो र दोस्रो ठूलो अर्थतन्त्र भएका यी दुई मुलुक पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चमा बिरलै एक ठाउँमा उभिन्छन्। स्कटल्यान्डको ग्लास्गोमा भइरहेको संयुक्त राष्ट्र संघको वातावरण सम्मेलन कोप-२६ मा बुधबार चीन र अमेरिकाका प्रतिनिधि एक ठाउँमा उभिएका छन्। उनीहरूले संयुक्त व्यक्तव्य नै जारी गरेका छन्। यी दुई मुलुकलाई एक ठाउँमा ल्याएको छ- जलवायु परिवर्तनले।
कोप-२६ मा अमेरिकी राष्ट्रपति जो बाइडेन उपस्थित थिए। चीनका राष्ट्रपति सी चिनफिङ सम्मेलनमा नआएको भन्दै सीलाई गाली गरेका थिए। ग्लास्गोमा अनुस्पस्थित भएर सीले ठूलो गल्ती गरेको बाइडेनको भनाइ थियो।
बाइडेनले चिनियाँ समकक्षीलाई गाली गरिरहँदा उनका विश्व जलवायुका लागि दूत जोन केरी भने चिनियाँसँग गहन वार्तामा थिए। द न्युयोर्क टाइम्सका अनुसार यो अवधिमा ग्लास्गोमा बनेको अस्थायी भवनमा केरीले चिनियाँ समकक्षी सेई झेन्हुवालाई लगभग दिनहुँ भेटिरहेका थिए।
‘हामी निकै व्यस्त थियौं,’ सेईले भनेका थिए,‘मैले जोन केरीलाई दिनदिनैजसो भेटेको थिएँ।’
७७ वर्षीय केरी र ७२ वर्षीय सेईले एक-अर्कालाई चिनेको २० वर्ष भइसक्यो।
‘मास्क लगाएका अनुवादकलाई राखेर छलफल गर्दा उनीहरू सुरूमा आफ्ना नाति-नातिनाबारे कुरा गर्थे। त्यसपछिमात्रै कोइला, मिथेन र ग्रिनहाउस ग्यास उत्सर्जनको गम्भीर विषयमा प्रवेश गर्थे,’ उनीहरूको वार्तामा सहभागी एक जना अधिकारीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ।
जलवायु परिवर्तनको एउटा मुख्य कारण विश्वव्यापी तापमान वृद्धि हो। वायुमण्डलको तापमान बढाउन महत्वपूर्ण भूमिका खेल्ने कार्बन उत्सर्जन गर्नेमा चीन पहिलो र अमेरिका दोस्रो मुलुक हुन्। जलवायु परिवर्तनको असर अहिलेको भन्दा अब आउने पुस्ताले झन् धेरै भोग्नु पर्ने छ। नाति-नातिना पुस्तालाई बाँच्नयोग्य पृथ्वी हस्तान्तरण गर्ने हो भने यी दुई मुलुकले मिलेर काम गर्नुको विकल्प छैन।
‘हामी दुबैले जलवायु परिवर्तनलाई अस्तित्वसँग जोडिएको चुनौतीका रूपमा हेरेका छौं,’ सेईले भनेका छन्,‘संसारका दुई शक्तिशाली हुनुका नाताले अमेरिका र चीनले आफ्नो बाँकी जिम्मेवारी लिएर सँगै काम गर्नुपर्छ। र जलवायु परिवर्तनलाई सम्बोधन गर्न सहकार्यको मर्मअनुरूप अरू मुलुकसँग पनि काम गर्नुपर्छ।’
अमेरिकाका विदेश मन्त्री भएर लामो समय चीनसँगको नेगोशिएसनमा सहभागी भइसकेका केरीले ग्लास्गोमा बोल्दै चीनसँग थुप्रै कुरामा बिमति भए पनि जलवायु परिवर्तनको मुद्दामा नमिलेर नहुने अवस्था रहेको बताए।
‘मतभेदका लागि अमेरिका र चीनबीच विषयको खाँचो छैन,’ केरीले भने,‘जलवायुको कुरा गर्दा यो काम फत्ते गर्न सहकार्यबाहेक अर्को कुनै विकल्पै छैन।’
बुधबारको संयुक्त वक्तव्यमा चीन र अमेरिकाले विश्व अर्थतन्त्रलाई कार्बन उत्सर्जन शून्य बनाउन सहयोग गर्न उल्लेख गरेका छन्।
चीनले सन् २०२६ बाट सुरू हुने १५ औं राष्ट्रिय योजनाबाट कोइला प्रयोगलाई कम गर्दै लैजाने बताएको छ।
संयुक्त राष्ट्रसघले अमेरिका र चीनले जलवायु परिवर्तनका क्षेत्रमा गरेको घोषणाको स्वागत गरेको छ।
संयुक्त राष्ट्रसघका महासचिव एन्टोनियो गुटर्रेसले स्वागत गरेका हुन्। उनले ट्वीटमा लेखेका छन्- जलवायु परिवर्तनको प्रभाव कम गर्ने विषयमा अमेरिका र चीनले आगामी वर्षहरूमा सहकार्य गर्ने भनी गरेको घोषणाको म स्वागत गर्दछु, यसले विश्वमा नै सकारात्मक परिणाम दिने कुरामा म विश्वस्त छु।
अहिले कोप-२६ सम्मेलनको घोषणापत्र तयार भइरहेको छ। त्यसमा भएका सहमतिहरुमा धनी देशहरूलाई गरिब राष्ट्रहरूका लागि सहयोग बढाउन प्रोत्साहन गर्ने बताइएको छ। उक्त सम्मेलनको सहमतिको मस्यौदा जलवायु परिवर्तनका प्रभाव कम गर्ने कार्यका लागि सहयोग पुग्नेगरी तयार गरिएको बताइएको छ। खासमा ती सम्झौताहरूमा अनुकूलन र आर्थिक पाटोमा केन्द्रित रहने पनि बताइएको छ।