शुक्रबार राति न्युजिल्यान्डको आकाशमा एउटा दुर्लभ चन्द्रग्रहण देखिने भएको छ।
यो ग्रहण आठ सय वर्षपछि न्युजिल्यान्डको आकाशमा देखिन लागेको हो।
द गार्डियनका अनुसार यो चन्द्रग्रहण स्थानीय समयअनुसार शुक्रबार राति ८:२० देखि सुरू हुनेछ। त्यसपछि पृथ्वीको छायाले विस्तारै चन्द्रमालाई ढाक्नेछ। झण्डै दुई घन्टापछि राति १० बजेसम्म चन्द्रमाको ९७ प्रतिशत ढाकिनेछ।
त्यस्तै साढे तीन घन्टापछि ग्रहण सकिनेछ।
ग्रहण लाग्दा चन्द्रमा हल्का रातो हुने खगोलविज्ञहरू बताउँछन्।
यसअघि यस्तो सबैभन्दा लामो आंशिक चन्द्र ग्रहण न्युजिल्यान्डबाट सन् १२१२ मा देखिएको समाचारमा उल्लेख छ।
'पूर्ण चन्द्रग्रहण हुँदा साढे तीन घन्टा ग्रहण लाग्नु असामान्य होइन, कहिले अलि छोटो हुन्छ त कहिले लामो। तर आंशिक चन्द्रग्रहणमा यति धेरै लामो हुनु एकदमै दुर्लभ हो,' अकल्यान्डको स्टारडोम अब्जर्बेटरीका खगोलविद् रब डेभिसनले भने, 'धेरैजसो समय चन्द्रमालाई पृथ्वीको छायाले ढाक्नेछ र छोटो समयको लागि हाम्रो आकाशबाट ब्लड माइक्रोमुनको रूपमा प्रस्तुत हुनेछ।'
यो चन्द्रग्रहण अमेरिकाको पश्चिमी राज्यहरूबाट पनि देखिन्छ। तर न्युजिल्यान्डबासीहरूलाई यो महत्वपूर्ण हुनेछ।
विशेषगरी खगोल विज्ञानमा रूची भएका व्यक्तिहरूका लागि यो महत्वपूर्ण हुनेछ।
यसको प्रत्यक्ष प्रसारण नासाले गर्ने द गार्डियनले जनाएको छ।