अमेरिकाको एउटा बैंकमा भएको चोरी कसले गरेको थियो भन्ने ५२ वर्षपछि पत्ता लागेको छ।
सन् १९६९, जुलाई ११ शुक्रबारको दिन थियो। थियोडोर जोन कनराड नामक व्यक्ति अमेरिकाको ओहायोको क्लिभल्यान्डस्थित पब्लिक स्क्वायरको सोसाइटी नेशनल बैंकमा काम गर्थे। त्यसदिन उनले बैंकबाट २ लाख १५ हजार डलर कागजको एक ब्यागमा लिएर हिँडेका थिए।
युएस मार्शल सर्भिसका अनुसन्धान अधिकृतहरूका अनुसार कनराड त्यतिबेला २० वर्षका थिए। बैंकका कर्मचारीहरूले चोरी भएको सोमबारमात्रै थाहा पाए। कनराड अफिसमा नआएपछि बैंकमा चोरी भएको खुलेको थियो।
त्यत्तिञ्जेल कनराड गायब भइसकेका थिए।
घटना भएको ५२ वर्षपछि भने अनुसन्धानकर्ताले बैंकलाई लुट्ने व्यक्ति पत्ता लागेको जनाएका छन्। कनराडको गत मेमा नै मृत्यु भइसकेको छ।
फोक्सोको क्यान्सरका कारण उनको ७१ वर्षमा मृत्यु भएको युएस मार्शल सर्भिसले जनाएको हो।
मार्शलका अनुसार कनराडले आफ्नो पहिचान बदलेर बसेका थिए। उनी सन् १९७० यता आफ्नो नाम थोमस रानडेल राखेर लिनफिल्डमा बस्दै आएका थिए।
उनले त्यो चोरी गर्ने तरिका भने फिल्मबाट सिकेका रहेछन्। सन् १९६८ मा बनेको स्टिभ मिकक्विनको 'द थोमस क्राउन अफेयर'बाट सिकेर उनले चोरी गरेको मार्शलले जनाएको छ।
कनराडले आफ्ना साथीहरूलाई पनि बैंकबाट सहजै चोरी गर्ने योजना पनि सुनाएका थिए। र संयोगवश कनराड सोही फिल्म सुटिङ भएको ठाउँनजिकै बस्न गएका थिए।
यो चोरीको घटना लामो समयदेखि अमेरिकाकै मस्ट वान्टेड र अनसल्भ्ड मिस्ट्रिजको सूचीमा राखिएको थियो।