घोराही-तुलसीपुर चार लेन सडक खण्ड काम सकिने समय आउनै लाग्दा बल्ल काम सुरू गरिएको छ। घोराहीमा एक कार्यक्रम आयोजना गरी शुक्रबार काम थालनी गरिएको हो।
३१ किलोमिटर चार लेन सडकको काम तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बईले पाएको छ।
निर्माण कम्पनीले नेपाल सरकारसँग गरेको पहिलो सम्झौता समाप्त भइसकेपछि बल्ल काम थालेको हो।
सन् २०१९ मे महिनामा निर्माण सम्झौता भएको सडक सन् २०२१ मे अन्त्यमा पूरा गरिसक्नु पर्ने सम्झौता थियो।
तर, निर्माण कम्पनीका स्थानीय प्रतिनिधिको चरम लापरबाहीका कारण दुई पटक म्याद थपे पनि कार्य प्रगति भएन।
दुई वर्षको अवधिमा जम्मा भौतिक प्रगति ७ प्रतिशत र आर्थिक प्रगति १४ प्रतिशत मात्रै भएको पाइएको छ।
तथ्यको तर्फबाट दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ अश्वारका अनुप पाण्डे स्थानीय प्रतिनिधिका रूपमा थिए।
पत्रकारसँग कुरा गर्दै तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट मुम्बईका प्रबन्ध निर्देशक प्रवीण ब्रम्हदेव पाण्डेले आफूलाई कम्पनीका स्थानीय प्रतिनिधिले काम हेर्नका लागि नेपाल आउनै नदिएको दाबी गरे। उनले आफूलाई झुक्याउने गरेको बताए।
‘हाम्रो परियोजनाको कामको अवस्थाबारे हामीले खटाएका प्रनितिधिले हामीलाई काम राम्रो भइरहेको छ भनेर झुक्याउँदै आइरहे र भइरहेको ढिलासुस्तीबारे कुनै पनि जानकारी दिएनन्,’ उनले भने, ‘सबै ठिक छ भन्दै हामीलाई उतै अल्मल्याउन खोजेको अहिले आएर हेर्दा मैले थाहा पाएँ।’
उनले अहिले भने आफू नेपाल प्रहरीका एसपी र परियोजनासँग समन्वय गरेर मुस्किलले दाङसम्म आइपुगेको बताए। कम्पनीबाट काममा भएको ढिलासुस्तीबारे उनले सार्वजनिक रूपमै क्षमा मागेका थिए।
‘विगतमा जे भयो, त्यो अत्यन्तै गलत भयो र अब आफैं काममा आएको छु,’ उनले भने, ‘यस्तो गल्ती दोहोरिने छैन।’
अब दिनरात काम गरेर ३६५ दिनभित्रै सडक निर्माणको काम सक्ने उनले प्रतिबद्धता गरे।
सवा अर्ब लगानीमा सो परियोजना भारतको एक्जिम बैंकको आर्थिक सहयोगमा सुरू भएको हो। यसमा सम्पूर्ण सामग्री भारतबाट खरिद गर्नुपर्ने सर्त रहेको छ।
दोस्रो पटक थपिएको मिति अनुसार यो परियोजना निर्माणको काम सन् २०२२ मे महिनाभित्र पूरा गरिसक्नु पर्ने छ।
काम सन्तोषजनक भएको अवस्थामा पुनः ५/६ महिना थप गर्न सकिने परियोजनाका प्रमुख डिभिजनल इञ्जिनियर पारस हमालले बताए।