सल्यानका शेरबहादुर चन्दले आफ्नी भाउजुमाथि जबरजस्ती करणको प्रयास गरेपछि उनको हत्या भएको प्रहरीले बताएको छ।
शारदा नगरपालिका वडा नम्बर ५ रानीकोटका ३३ वर्षीय शेरबहादुर चन्दको बिहीबार मध्यराति हत्या भएको थियो।
हत्या अभियोगमा शेरबहादुरकी भाउजू २६ वर्षीया लक्ष्मी चन्द र २५ वर्षीया राधा पौडेल पक्राउ परेका छन्।
जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले प्रारम्भिक अनुसन्धानबाट शेरबहादुरले भाउजू लक्ष्मीमाथि जबरजस्ती गर्न गरेपछि हत्या भएको तथ्य खुल्न आएको बताए।
डिएसपी खड्काका अनुसार बिहीबार कुपेन्डेदहमा पूजा गरेको बोकाको टाउको चन्दको घरमा ल्याइएको थियो।
घर परिवारभित्रै जमघट र खानपिन भयो। दुई भाउजू, हत्या गरिएका शेरबहादुर, राधाका श्रीमान सँगै बसेर मदिरा सेवन गरेका थिए।
लक्ष्मीका पाँच वर्षीय छोराले निद्रा लाग्यो भनेपछि घरको माथिल्लो तलामा राधाका श्रीमान् शेरबहादुरको कोठामा गएर सुतका थिए।
शेरबहादुर पनि आफ्नो कोठामा सुत्न गइसकेका थिए। राधा घर जाने तर्खर गर्दै थिइन्। लक्ष्मी पनि सुत्न खोजिरहेकी थिइन्।
प्रहरीका अनुसार राति साढे ११ बज्दै थियो। लक्ष्मीको छोरा शेरबहादुरसँग सुतेका थिए।
छोराको पानी खाने भनेपछि राधा माथिल्लो कोठामा पुगेकी थिइन्।
‘त्यहीबेला लक्ष्मीमाथि शेरबहादुर एकाएक झम्टिए,’ डिएसपी खड्काले भने, ‘लक्ष्मीले गुहार मागिन्। लक्ष्मीको गुहार सुनेर राधा माथिल्लो कोठा पुगिन्।’
शेरबहादुरलाई सुरूमा राधाले लात्तीले हिर्काइन्। तर पनि शेरबहादुले भाउजुलाई छोडेनन्। त्यसपछि राधाले आवेगमा आएर शेरबहादुरमाथि बञ्चरो प्रहार गरेको प्रहरीसँग बयान दिएकी छिन्।
शेरबहादुर ढलेपछि लक्ष्मीले पनि फेरि त्यही बञ्चरोले प्रहार गरेको खड्काले बताए।
बञ्चरो प्रहारबाट शेरबहादुरको तत्कालै मृत्यु भएको थियो। त्यसपछि लक्ष्मी र राधा रातारात घर सफा गर्न तथा शव व्यवस्थापन गर्न लागेका थिए।
शवलाई ब्ल्याङ्केटमा बेरेर घर बाहिर राखे। रत्ताम्मे घर सरसफाइपछि दुबै मिलेर मध्यरातमै शव जलाउने प्रयास गरे।
चन्दको घर एकान्तमा थियो। कसैले देख्ने अवस्था थिएन। मध्यरातमै ब्ल्याङकेट र झुत्रा कपडा राखेर शव जलाए।
तर, शव टाउकोको भागदेखि आधा मात्रै जल्यो। त्यसपछि उनीहरूले आधाजति जलेको शवलाई उठाएर घर नजिकैको बाँसको झाँडीमा फालेको प्रहरीले जनाएको छ।
स्थानीयले बाटो नजिकैको झाँडीमा मानिसका खुट्टा देखेपछि शुक्रबार प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुगेर अनुसन्धान थाल्यो। मृतकको पहिचान खुलेपछि आफन्त र घर परिवारको खोजी सुरू भयो। दुई भाउजू भागेको भन्ने खुलेपछि प्रहरीले उनीहरूको खोजी थालेको थियो।
१२ घन्टा नबित्दै प्रहरीले आरोपित दुई फरार महिलालाई पक्राउ गरेको थियो। डिएसपी सुमित खड्काले उनीहरूले घटना स्वीकार गरिसकेको बताए।
शेरबहादुरको हत्या भएपछि उनका घर परिवारकै एक भाइले दुई भाउजुका विरूद्धमा किटानी जाहेरी दिइसकेको डिएसपी खड्काले जानकारी दिए।