रूकुम पश्चिमको बाफीकोट गाउँपालिका-३ का वडा सदस्य देवबहादुर बोहोरा शनिबार नेकपा (माओवादी केन्द्र) केन्द्रको पालिकास्तरिय अधिवेशनमा ब्यस्त थिए।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार भर्चुअल्ली एकैपटक देशैभरका पालिकाको अधिवेशनको उद्घाटन गरेका थिए।
माओवादी केन्द्र नेता तथा अर्थमन्त्री गृह जिल्ला रूकुममै थिए। संघ-संगठन र संस्थाको अधिवेशन त्यसमा आवद्ध व्यक्तिका लागि उत्सवसमान नै हुन्छ। त्यस्तै उत्सवको माहोलबाट घर फर्किरहेका थिए, देवबहादुर।
शनिबार बेलुकीपख अफ्रिकी मुलुक घानाबाट निरज गिरीको फोनले उनी थुचुक्क भुइँमा बस्न पुगे।
‘फोनमा खबर सुन्नासाथ एकाएक म उभिएको जमिन भासिएझैं भयो,’ देवबहादुरले भने, ‘चारैतिर अन्धकार छायो र घरतर्फ हिँडिरहेको एक्लो म थुचुक्क भुइँमा बसे।’
निरजले देवबहादुरका २८ वर्षीय छोरा रूपकको उपचारका क्रममा शनिबार नै अफ्रिकी मुलुक घानाको राजधानी आक्रास्थित रिज अस्पतालमा मृत्यु भएको जानकारी दिएका थिए।
निरज रूकुमको साँख भन्ने ठाउँका बासिन्दा हुन। कुनै दलालले ‘अमेरिका सपना’ देखाएपछि उनी पनि त्यसलाई पच्छयाउँदै गएका पात्र हुन्। अहिले उनी घाना पुगेका छन्।
देवबहादुरका अनुसार निरजले पाँच दिनअघि गम्भीर बिरामी रूपकलाई त्यहाँको एयरपोर्टबाट अलपत्र अवस्थामा गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका खबर गरेका थिए।
त्यसपछि पनि निरिजले देवबहादुरलाई बीच/बीचमा फोन गरी रूपकको अवस्थाबारे जानकारी दिँदै आएका थिए।
‘तपाईं र घर परिवार कत्ति पनि नआत्तिनुहोला। हामीले आर्थिक सहयोग संकलन गरी रूपकको उपचारका लागि सम्भव भएसम्मको प्रयास गरिहेका छौं,’ निरजले देवबहादुरलाई भनेका थिए, ‘रूपकलाई अलि ब्लडको आवश्यकता छ, हामी जसरी पनि व्यवस्था गर्नेछौं, तपाईं नआत्तिनुहोला।’
निरजले बुवा देवबहादुरलाई रूपकलाई मलेरिया भएको र उच्च ज्वरो आएकै कारण इमिरेट्स एयरलाइन्सले त्यहाँको आक्रा एयरपोर्टको ट्रान्जिटमा अलपत्र छाडेर हिँडेको अवस्थामा उद्धार गरी अस्पताल पुर्याएको खबर दिएका थिए।
निरजले रूपकको अवस्था गम्भीर रहेको सूचना दिए पनि देवबहादुरले श्रीमती ठगी र बुहारी गीता पुरी बोहोरा, कान्छो छोरा नारायण र कान्छी बुहारी सबैलाई रूपकलाई ज्वरो आएको हुँदा घानाको अस्पतालमा भर्ना भएको खबर आएको भनेका थिए।
देवबहादुरले भने, ‘घर-परिवार आत्तिएलान् भनेर मैले धेरै कुरा मनमै छिपाएको थिएँ।’
रूपकका डेढ वर्षीय छोरा र तीन वर्षकी छोरी छन्।
शनिबार जेठो छोरा रूपकको राजधानी अक्रास्थित रिज अस्पतालमा मृत्यु भएको खबर सुनाउँदा भने देवबहादुर घर परिवारसँग आफैं भक्कानिएका थिए।
‘आमा र जेठी बुहारी अर्ध मुर्छितजस्तै छन्,’ देबबहादुले भने, ‘गाउँ घरका मानिसहरू आएर सम्झाउन खोज्दा पनि केही सीप लागेको छैन।’
देवबहादुरले दलालकै भनाइमा लाग्दा लाखौं पैसा र छोरोसमेत गुमाउनु पर्दा असह्य पीडा भइरहेको बताए।
‘हाम्रो परिवारको सबै सपना चकनाचुर भयो,’ उनले भने, ‘जताततै ऋणमात्रै छ। सायद अब हामीले गाउँघरमात्रै होइन देश नै छोड्नु पर्ने दिन आउन सक्छ।’
रूपक १८ वर्षकै उमेरमा रोजगारको सिलसिलामा मलेसिया पुगेका थिए। त्यहाँ केही वर्ष काम गरी फर्किएपछि उनले विवाह गरे। बालबच्चा जन्मिए। उनीसँग त्यतिबेलै कमाएर साँचेको केही पैसा थियो।
देबहादुरका अनुसार रूपक आफ्नै गाउँ-ठाउँमा केही उद्योग धन्दा गर्न चाहन्थे। स्वदेशमै आफू र युवाहरूका लागि रोजगारी सृजना गर्ने उनको सपना थियो।
‘अहिलेसम्म तपाईंहरूले दुःख गर्नुभयो। अब म तपाईंहरूलाई दुःख पर्न दिन्न र सुखका साथ राख्छु,’ रूपकको कुरा देवबहादुरले भने, ‘दलालको पछि लाग्दा आज सबै सपना चकनाचुर भयो।’
दुई वर्ष पहिला पनि मानव तस्करको प्रलोभनमा परेर रूपक अमेरिकाको यात्रामा निस्किएका थिए। ५/६ महिनाको यात्रा गर्दा पनि रूपक अमेरिका पुग्न सकेनन्। दलालले बीच बाटोमै अलपत्र छोडेपछि रूपक मुस्किलले नेपाल फर्किन सफल भएको बुवा देवबहादुरले बताए।
त्यतिखेरै रूपकको लाखौं रुपैयाँ फसिसकेको थियो। रूपकमात्रै होइन परिवारका सबैलाई तनाव थियो।
बुवा देवबहादुर, आमा ठगी, श्रीमती गीतालगायत सबैले उनलाई अब अमेरिका सपना लत्याएर अन्य देश जान आग्रह नगरेका हैनन्। रूपकलाई फेरि रूकुम खलंगाकै मनोज महतरा, बाफिकोट २ का निरज बस्नेत लगायतले अहिले जसरी पनि पठाउँछौं भनेर आश्वासन दिए। रूपकले फेरि उनीहरूलाई विश्वास गरे।
त्यही विश्वासका आधारमा गत वैशाखमा रूपक घरबाट अमेरिका सपना पछ्याउँदै निस्किए।
रूपकले परिवारलाई अहिलेसम्म सक्किएको पैसा भारतमा काम गरेर कमाउन सम्भव नभएको तर अमेरिका गए एकै वर्षमा कमाउन सकिने बताएका थिए।
त्यसैले नचाहँदा-नचाहँदै पनि छोरा रूपकलाई अमेरिका पठाउन आफू बाध्य भएको बुवा देवबहादुरले बताए।
‘एक पटक डुबेपछि ऋण काढ्नु पर्ने बाध्यता भयो,’ देवबहादुरले भने, ‘छोराले भनेजस्तै फसेको लाखौं रकम इण्डियामा गएर जति काम गरे पनि उठ्दैन भन्ने मलाई पनि लाग्यो।’
छोरालाई अमेरिका पठाउँदा देवबहादुरले वकिल राखेर ३१ लाखको कागज गराएका थिए। त्यो पैसा दिइसकेको भए पनि दलालले उनलाई बीच/बीचमा थप पैसा चाहियो भन्दै तनाव दिइराखे।
‘रूपकलाई अगाडि बढाउनु छ। पकेट खर्च चाहिन्छ भन्ने धेरै पटक पैसा मागे,’ देवबहादुरले भने, ‘पहिलो पटक अमेरिका छिराउन नसके पनि अहिले जसरी पनि पुगाउँछौं भन्ने आश्वासन दिन्थे।’
त्यही आश्वासनको भरमा परी आफूले गाउँघरमा धेरैसँग दश हजारदेखि ऋण खोजेर मनोज महतरा र निरज बस्नेतलाई बुझाएको देवबहादुरले बताए। आफूसँग उनीहरूले ४१ लाख रुपैयाँ असुलेको जानकारी दिए।
घरबाट हिँडेपछि रूपक कसरी घानासम्म पुगे भन्ने देवबहादुरले मेसो पाएका छैनन्।
रूपकलाई अमेरिकाको सपना देखाउन दुबै जनाले अहिले मोबाइल स्वीच अफ गरेको र एक पटक पनि सम्पर्कका नआएको उनले गुनासो गरे।
‘बुढेस कालको सहारा मेरो छोरा बित्दा र लाखौं रुपैंया खर्च भई मेरो उठिबास लाग्ने अवस्था आउँदा दलालहरूले सामान्य सान्त्वनासमेत दिएनन्,’ देवबहादुरले भने, ‘उनीहरूमा थोरै पनि मानवता छ भने मेरो छोराको लास घरसम्म ल्याउन सहयोग गरिदेऊन्।’
छोराको शव घरसम्म ल्याउनका लागि आफूले वडाध्यक्ष चन्द्रबहादुर केसी, गाउँपालिकाका अध्यक्षलगायतलाई आग्रह गरेको देवबहादुरले जानकारी दिए।
‘निरज गिरीले घानाबाट फोनमा रूपकको शव अस्पतालमै रहेको र दलालहरू सम्पर्कमा नआएको हुँदा आफूहरूसमेत अलमलमा परेको कुरा गर्नुभएको छ,’ देवबहादुरले प्रश्न गरे, ‘अब शव घरसम्म ल्याइदिनु दलालहरूकै कर्तव्य हो नि, होइन र?’