गत अगस्टमा अमेरिकी सैनिकले अफगानिस्तान छोड्दा केही अफगान नागरिक अमेरिकी सैनिक जहाजको ल्यान्डिङ गियरमा झुन्डिएका दृश्यले संसारको ध्यान तानेको थियो।
ल्यान्डिङ गियरमा झुन्डिएका केही मानिस आकाशबाट खसेका थिए।
काबुल विमानस्थलमा भएको उक्त घटनाको तीन महिनापछि अहिले फेरि एउटा अर्को त्यस्तै घटना भएको छ।
यसपालि दक्षिण दसियाली मुलुक होइन मध्य अमेरिकी मुलुक ग्वाटेमालाका नागरिक जहाजको ल्यान्डिङ गियर राख्ने ठाउँमा बसेर संयुक्त राज्य अमेरिका आइपुगेका छन्।
ग्वाटेमाला गरिब मुलुक हो। ग्वाटेमालाको बाटो भएर धेरै आप्रवासीहरू गैरकानुनी तरिकाले अमेरिका छिर्न खोज्छन्।
द न्युयोर्क टाइम्सका अनुसार ग्वाटेमाला सिटीबाट आएको अमेरिकन एयरलाइन्सको फ्लाइट नम्बर ११८२ को जहाज गत शनिबार बिहान १० बजे मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
विमानस्थलमा अवतरण भएपछि जहाजको सुरक्षा जाँच गर्ने अधिकारीहरूले उडानका क्रममा ल्यान्डिङ गियर राखिने ठाउँमा एक जना मानिस भेट्टाए।
अमेरिकाको भन्सार तथा सीमा रक्षाका अधिकारीहरूले ल्यान्डिङ गियरमा बसेर आएका २६ वर्षीय युवकलाई हिरासतमा लिए।
ती युवकको परिचय सार्वजनिक गरिएको छैन। ती युवक कसरी जहाजमा आइपुगे भन्नेबारेमा अनुसन्धान भइरहेको छ।
ग्वाटेमाला सिटीबाट मियामीसम्मको सिधा उडानमा साढे २ देखि पौने तीन घन्टासम्म लाग्छ।
फ्लाइटअवेर डटकमका उक्त फ्लाइटका लागि अमेरिकन एयरलाइन्सले बोइङ ७३७-८०० जहाज प्रयोग गरेको थियो।
अमेरिकाको संघीय उड्डयन प्राधिकरणले दिएको जानकारीअनुसार सन् १९४७ यता १२९ जना यसरी ल्यान्डिङ गियर वा अन्य खतरापूर्ण ठाउँमा लुकेर यात्रा गर्न प्रयास गरेका थिए। तीमध्ये १०० जना गन्तव्यमा नपुग्दै बितेका थिए।
पछिल्लो समय सन् २०१९ मा केन्याको नैरोवीबाट बेलायतको हिथ्रु विमानस्थलका लागि उडेको केन्या एयरवेजको जहाजको ल्यान्डिङ गियरबाट एक जना युवक खसेका थिए।