बुधबार भारतीय सेनाका पूर्व प्रमुख चढेको वायु सेनाको एउटा हेलिकप्टर दुर्घटनामा परेको छ। तमिलनाडु राज्यको कुनुरमा दुर्घटनामा भएको हेलिकप्टरमा आगो लागेको थियो।
घटनास्थलमा पुगेका तमिलनाडुका वन मन्त्री रामचन्द्रनले हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेको जानकारी दिएका छन्। तीमध्ये पाँच जनाको शव मिलेको र दुई जनाको गम्भीर अवस्थामा उपचार भइरहेको उनले बताएको बिबिसी हिन्दीले उल्लेख गरेको छ।
समाचार पत्र द हिन्दुका अनुसार पूर्वसेना प्रमुख रावत र उनकी श्रीमती मधुलिका रावतको अवस्था अज्ञात छ।
यसअघि टाइम्स अफ इन्डियाले स्रोतलाई उद्धृत गर्दै रावतलाई उद्धार गरी अस्पताल लगिएको उल्लेख गरेको थियो।
दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति बनाइएको छ।
रावत यसअघि भारतीय सेनाका प्रमुख थिए। उनीपछि मनोजमुकुन्द नरवाणे सेना प्रमुख भएका छन्। रावत अहिले भारतको चिफ अफ डिफेन्स स्टाफ थिए। यो पद केही महिना अघिमात्रै सिर्जना गरिएको हो। पहिलो चिफ अफ डिफेन्स स्टाफको रूपमा रावतले २०२० जनवरीदेखि काम थालेका थिए।