भारतीय किसानहरुले एक वर्ष लामो विरोध प्रदर्शन अन्त्य गरेका छन्।
सरकारले विवादास्पद कृषिसम्बन्धी कानुन खारेज गरेको एक सातापछि किसानहरुले आफ्नो आन्दोलन अन्त्य भएको घोषणा गरेका हुन् ।
सरकारले ल्याएको कृषिसम्बन्धी कानुनको विरोधमा हजारौं किसानहरु राजधानी नयाँ दिल्लीको सीमाक्षेत्रमा विगत एक वर्षदेखि प्रदर्शन गर्दै आएका थिए।
प्रदर्शनका क्रममा गर्मी, ठन्डी तथा कोभिडका कारण दर्जनौ किसानहरुको मृत्यु भएको थियो। शनिबारदेखि किसानहरु आआफ्ना घरमा फर्किने भएका छन् ।
किसानका अन्य समस्या सम्बोधन गर्न र उत्पादित बस्तु तथा सेवाको मुल्य सुनिश्चित गर्न सरकार सहमत भएपछि किसानहरुका विभिन्न संगठनले एक वर्षदेखिको आन्दोलन समाप्त भएको बताएका हुन्। आन्दोलनरत किसानहरुमाथि लगाइएको मुद्दा पनि फिर्ता गर्न सरकार तयार भएको छ ।
गत महिना प्रधानमन्त्री नरेन्द्र मोदीले किसानहरुले आपत्ति जनाउँदै आएका तीन वटा कानुन खारेज गर्ने निर्णय गरेका थिए।
सरकारले बेइमानी गरेमा फेरि आन्दोलन शुरु गर्ने चेतावनी पनि किसान नेताहरुले दिएका छन् ।
‘१५ जनवरीमा एउटा समिक्षा वैठक आयोजना गरेका छौं । प्रतिबद्धता जनाए बमोजिम सरकारले हाम्रा माग पुरा गरेन भने हामी पुनः आन्दोलनमा फर्किनेछौं,’ किसान नेता गुर्नाम सिंह चरुनीले स्थानीय संचार माध्यमलाई भने ।
गत वर्ष भारत सरकारले ल्याएको कृषि सम्बन्धि नयाँ कानुन मध्ये उत्पादन, मूल्य र भण्डारण सम्बन्धि पक्षमा किसानहरुको आपत्ति रहँदै आएको थियो । कृषि क्षेत्र किसानको हातबाट ठूला ब्यापारीको हातमा पुग्ने भन्दै भारतभरिका किसान एकजूट भएका थिए ।