आइतबार बेलुकीपख दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
दुर्घटनाका घाइतेमध्ये तीन जनाको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुुख डिएसपी श्यामु अर्यालले जानकारी दिए।
सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ४ की ४६ वर्षीया साउने घर्ती, सोही ठाउँका ३९ वर्षीय प्रेमप्रकाश शर्मा र २६ वर्षीया लालमती खड्काको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
तुलसीपुर उपमहानगरपालिका ३ श्रीखोलानजिकै बेलुकी साढे ४ बजेतिर रा १ ज ४३८ नम्बरको यात्रुबाहक जीप दुर्घटना हुँदा थप १६ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि बाँके रिफर गरिएको छ।
चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। जीप झन्डै दुई सय मिटर तल खसेको छ।
एक जना घाइतेले क्षमताभन्दा बढी यात्रु बोकेको हुँदा उकालोमा जीपले नतानेपछि झरेर 'ओट' हाल्ने क्रममा जीप ब्याक हुन पुग्दा भिरबाट तल खसेको जानकारी दिए।
चालकको भनाइ उदृत गर्दै डिएसपी अर्यालले आफूलाई एक्कासि उकालोमा स्टार्ट बन्द भएपछि ओट हाल्न झर्ने क्रममा गाडी ब्याक भएर खस्न पुगेको बताए।
चालक प्रहरी नियन्त्रणमा छन्।