लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्तीमा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले आफ्नो सेवा सुरू गरेको छ।
बुधबार स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारूले कार्यालय उद्घाटन गर्दै मन्त्रालयको नियमित सेवा सुरू भएको सेतोपाटीलाई बताए।
‘अबदेखि मन्त्रालयले पूर्णरूपले दाङबाटै सेवा सुरू गरेको छ,’ चौधरीले भने, ‘स्थायी राजधानीबाटै जति सक्यो छिटो सेवा सुरू गर्ने हाम्रो प्रयासले सार्थकता पाएकोमा खुसी लागेको छ।’
हालसम्म राप्ती प्राविधिक शिक्षालयमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय र पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयको सम्पर्क कार्यालय स्थापना भइसकेको भन्दै मन्त्री थारूले अब छिटोभन्दा छिटो अन्य मन्त्रालयले पनि स्थायी राजधानीमै स्थान्तरण गरिने जानकारी दिए।
प्राविधिक शिक्षालयको हाताभित्रै प्रदेश सभा सञ्चालन गर्नका लागि सभाहल निर्माणको काम धमाधम भइरहेको र करिब ८० प्रतिशत निर्माण कार्य पूरा भएको मन्त्री थारूले फोनमा सेतोपाटीलाई बताए।
प्रदेश सभा हल निर्माणमा बिलम्ब गरेको भन्दै अघिल्लो महिना मात्रै मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) ले निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीलाई कि काम छिटो सम्पन्न गर्न वा छोड्न चेतावनी दिएपछि हाल दिन रात निर्माणको काम भइरहेको छ।
२०७६ साल असोज १९ गतेको प्रदेश सभा बैठकले दाङको राप्ती गाउँपालिकालाई लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउने निर्णय बहुमतले पारित गरेको थियो। त्यतिखेर मुख्यमन्त्रीका रूपमा दाङकै शंकर पोखरेल थिए।
कार्यालयको सेवा उद्घाटन गर्दै मन्त्री थारूले संघ सरकार र प्रदेश सरकारको नीति अनुसार सबै पालिकामा १५ शय्याको अस्पताल, खोप केन्द्र, स्वास्थ्य संस्था निर्माणका लागि काम सुरू भएको मन्त्री जानकारी दिए।
स्वास्थ्य सेवामा मध्यकालीन तथा दीर्घकालीन रणनीतिका साथ काम भइरहेका भन्दै मन्त्री थारूले कोभिडको तेस्रो भेरियन्टबाट नागरिकलाई सुरक्षित राख्नका लागि प्रदेश सरकारले संघ सरकारसँग खोपको व्यवस्थाको लागि पहल गरिरहेको बताए।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले स्थायी राजधानीमा मन्त्रालयको काम सुरू भएसँगै नागरिकले सरल र सहज रूपमा सेवा पाउन सक्ने आशा व्यक्त गरिन्।
मन्त्रालयका सचिव विकास देवकोटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सेवामूलक मन्त्रालय भएका कारण सेवा दिने काममा कुनै कसुर बाँकी नराख्ने बताए।