सल्यानको शारदा नगरपालिका वडा नम्बर ५ रानीकोटका ३३ वर्षीय शेरबहादुर चन्दको हत्या रिसइबीका कारण गरेको तथ्य सार्वजनिक भएको छ।
यसअघि आफ्नै २६ वर्षीया भाउजु लक्ष्मी चन्दलाई जबरजस्ती करणीको प्रयास गरेको हुँदा शेरबहादुरको हत्या गरेको भनिएको थियो। तर अनुसन्धानको क्रममा सो कुरा गलत साबित भएको एक प्रहरी अधिकारीले बताए।
शेरबहादुर चन्दको गत मंसिर ९ गते मध्यराति हत्या भएको थियो।
उनको हत्या गरेको आरोपमा प्रहरीले दुई भाउजु २६ वर्षीया लक्ष्मी चन्द र २५ वर्षीया राधा पौडेल चन्दलाई पक्राउ गरेको थियो। त्यतिबेला लक्ष्मीमाथि बलात्कारको प्रयास गरेपछि हत्या गरेको उनीहरूले बयान दिएका थिए।
‘अनुसन्धानको आधारमा राधाले नै पुरानो रिसइबीका कारण शेरबहादुरको बञ्चरो प्रहार गरी हत्या गरेको तथ्य उजागर भयो,’ ती प्रहरी अधिकारीले भने, ‘राधाको चरित्रको बारेमा शेरबहादुरले उनकै दाजु र समाजमा समेत कुरा काट्दै आएको हुँदा त्यही रिसइबीले हत्या गरेको देखिन आयो।’
पारिवारिक जमघटमा सबैले संगै बसेर मदिरा सेवन गरी सबै सुत्न गएको भएपनि राधा फर्किएर मध्यरातमा आफ्नै घरको कोठामा सुतिरहेका शेरबहादुरमाथि बञ्चरो प्रहार गरी हत्या गरेको ती प्रहरी अधिकारीले बताए।
‘शेरबहादुरको हत्यापछि राधाले लक्ष्मीलाई समेत हत्या गर्ने त्रास देखाएर आफूलाई देवर शेरबहादुरले बलात्कारको प्रयास गरेको हुँदा हत्या गरेको भनेर झुट बोल्न लगाएको तथ्य उजागर भयो,’ ती प्रहरी अधिकारीले भने।
हत्यापछि शेरबहादुरको शव समेत मध्यरातमै जलाएर नजिकै बाँसको झाडीमा फेला परेको थियो।
शव जलाउन, फाल्न र कुरा कतै भने ज्यान लिने चेतावनी राधाले लक्ष्मीलाई दिएपछि झुट बोल्न आफू बाध्य भएको लक्ष्मीले प्रहरी समक्ष बयान दिएकी छन्।
ती प्रहरी अधिकारी अनुसार शेरबहादुर हत्या काण्डबारे प्रहरी अनुसन्धान पूरा भइसकेको हुँदा अब छिट्टै प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइने भएको छ।
यो पनि: जबरजस्ती करणी गर्न खोजेपछि भाउजुले शेरबहादुरको हत्या गरेको प्रहरीको दाबी