दाङको पहाडी जिल्ला बंगलाचुली गाउँपालिकाले बिहीबारदेखि चुनढुंगा उत्खननमा रोक लगाएको छ।
गाउँपालिका क्षेत्रभित्रबाट अबदेखि सिमेन्ट उद्योगलाई चुनढुंगा उत्खनन गर्न नदिने सर्वदलीय सर्वपक्षीय भेलाले निर्णय गरेको हो।
गाउँपालिकाको कार्यालय कमिरेचौरमा बुधबार बसेको सर्वपक्षीय बैठकले घोराही (सगरमाथा) सिमेन्ट उद्योग, सम्राट सिमेन्ट उद्योग र शुभश्री अग्नि सिमेन्ट उद्योगले गर्दै आएको चुनढुंगा उत्खनन गर्न नदिने निर्णय गरेको हो।
उक्त निर्णयसँगै बिहीबारदेखि नै बंगलाचुली क्षेत्रबाट चुनढुंगा उत्खनन तथा ढुवानी कार्य रोकिएको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए।
तीन वटा सिमेन्ट उद्योगहरूले बंगलाचुली क्षेत्रबाट सिमेन्ट निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ चुनढुंगा उत्खनन तथा ढुवानी गर्दै आइरहेका थिए।
चुनढुंगा उत्खननले वातावरणमा नकारात्मक प्रभाव परेको, सर्वसाधारणको सामान्य जनजीवन प्रभावित बन्दै जान थालेको हुँदा उत्खनन तथा ढुवानी रोक्ने निर्णय गर्नुपरेको अध्यक्ष वलीले बताए।
बंगलाचुली गाउँपालिकाबाट सिमेन्ट उद्योगमा चुन ढुंगा ढुवानी गर्न दैनिक सयौं टिपर सञ्चालन गरिँदै आएको र त्यसले गर्दा एकाध महिनामै कालोपत्रे सडक जीर्ण बनिसकेको अध्यक्ष वलीले बताए।
‘महिना दिनमै कालोपत्रे घोराही-मुर्कुटी-प्युठान सडक खण्ड जीर्ण भइसकेको छ,’ अध्यक्ष वलीले भने, ‘धुलोले पैदल हिँड्नै मुस्किल पर्छ। विद्यालय जाने केटाकेटीले सास्ती खेप्नु परेको छ।’
सडक आसपासका सर्वसाधारण नागरिक, विद्यालयमा अध्ययनरत विद्यार्थी निकै प्रभावित बनेको हुँदा गाउँपालिका क्षेत्रबाट चुन ढुंगा उत्खनन र ढुवानी बन्द गर्ने निर्णय गरेको उनले जानकारी दिए।
‘मनपरी चुनढुंगा उत्खननले पानीका मुहान सुक्न थालेका छन्,’ उनले अगाडि भने, ‘पशु चौपायाले खाने घाँस, सडक आसपासमा रहेका बस्तीका जमिनमा लगाएको सागपात खान योग्न हुँदैन। अब स्थानीय कसरी बाँच्ने?’
उत्खननले सुन्दर शान्त पहाडी जनजीवन बिथोलिएको, वातावरण प्रदुषित बन्दै गएको तथा दैनिक ओहोर दोहोर गर्ने यसौं टिपरका कारण सर्वसाधारण आजिद बनेको उनले बताए।
सिमेन्ट उद्योगले नागरिकको स्वच्छ र शान्त वातावरणमा बाँच्न पाउने अधिकारमाथि बारम्बार खेलबाड तथा बेवास्ता गरेको अध्यक्ष वलीले आरोप लगाए।
खानी प्रभावित क्षेत्रका नागरिक, बंगलाचुली गाउँपालिका र जिल्ला प्रशासन कार्यालयका बीचमा विभिन्न समयमा भए गरेका सम्झौता कार्यान्वयन गर्न उद्योगले कुनै चासो नदेखाएको सर्वसाधारणले बताउँदै आएका छन्।
गाउँपालिकामा भएको सर्वपक्षीय भेलाले समेत उद्योगले विभिन्न समयमा गरेका सम्झौता र निर्णयको कार्वान्वयन गर्न तथा वातावरण प्रदूषण न्यूनीकरण गर्न चासो नदेखाएको उल्लेख छ।
जिल्लामा सञ्चालनमा रहेकामध्ये सोना सिमेन्ट, सगरमाथा सिमेन्ट बस्ती बीचमा रहेको हुँदा सुरूदेखि नै ती उद्योग स्थान्तरणको माग हुँदै आएको छ।
उल्लेखित उद्योगले धुँवा, धुलो र ध्वनी प्रदूषण नियन्त्रण गर्ने आवश्यक यन्त्र जडान नगर्दा स्थानीय सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको स्थानीयले बताउँदै आएका छन्।
विभिन्न समयमा संघर्ष समिति गठन गरी यहाँ आन्दोलन समेत हुँदै आएका छन्।
सर्वपक्षीय बैठकमा सबै वडाका वडाध्यक्षहरू, कर्मचारी, बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि र उद्योग प्रभावित स्थानीयको सहभागिता रहेको थियो।