कुरा मंसिर २६ गते बेलुका ५ बजेतिरको हो। महानगरीय प्रहरी शिक्षालय काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक अनिता महत अटो चढेर दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० खैराबाट पूर्व घोराही बजार जाँदै थिइन्।
महतकी भान्जीको मंसिर २७ गते बिहे थियो। त्यसैको लागि उनी बिदा लिएर खैरास्थित घर गएकी थिइन्।
स्याङजाकी महत विवाह गरी खैरा आएको पनि नौ वर्ष भइसकेको छ। उनका श्रीमान् मदनजीत महरा पनि नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक हुन्। महरा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत छन्।
उनलाई दाङ साह्रै रमाइलो ठाउँ लाग्छ रे। त्योसँगै उनलाई आफन्तसँग सार्वजनिक सवारीसाधनमा घुम्न मनपर्छ।
त्यो दिन पनि उनी अटो चढेर जाँदै गर्दा तुलसीपुर–घोराही सडकखण्डमा फरक दृश्य देखिन्। त्यो दृश्य देखेपछि उनको ध्यान त्यतै मोडियो।
उनले दुई युवाले सडकमा पैसाका बण्डलहरू छिटो-छिटो टिपिरहेको देखेकी थिइन्।
आसपासमा सर्वसाधारण मानिसहरू पनि थिए। व्यस्त सडकमा मोटर गाडी पनि दौडिरहेका थिए। तर कसैले केही भनेनन्।
प्रहरी निरीक्षक महतले ठानिन्, 'सायद पैसा उनीहरूकै होला। नत्र त अरू सर्वसाधारण बोलिहाल्थे।' ती दुई युवाले सडकमा भएका पैसाका फटाफट टिपेर मोटरसाइकल हुइक्याएर तुलसीपुरतर्फ लागे।
महतको एक मनले ती युवा सवार मोटरसाइकल रोकेर सोधु कि? भन्ने पनि लाग्यो। तर उनी प्रहरी पोशाकमा थिइनन्।
सोधपुछ नै गर्न गएको भए पनि दुःख दिएको गुनासो गर्छन् कि भन्ने पनि लाग्यो।
‘सर्वसाधरणलाई जहिले पनि प्रहरीले अनावश्यक दुःख दिन्छ भन्लान् भन्ने ठानेर मैले सोध्न खोजिन,’ उनले भनिन्।
उनीहरू त्यसरी भागेको देखेपछि महतलाई शंका लाग्यो। उनी चुपचाप बस्न सकिनन्। तत्कालै उनले प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरिन्।
उनले आफ्नो परिचय समेत नदिइ सोधिन्, ‘ कतैबाट पैसा हराएको सूचना आएको छ?’
जवाफ आयो,‘छ सात लाख रुपैयाँ हराएको सूचना छ।’
उनले प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेको नम्बर मागिन्। तर उनी विदामा थिए।
त्यसपछि उनले जिल्ला प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मुकुन्द रिजाललाई फोन गरिन्। पहिलो पटक गर्दा उनको फोन नउठेपछि उनले मेसेज गरिन्,'सर आइएम इन्स्पेक्टर अनिता महत।'
त्यसपछि भने रिजालले फोन उठाए।
फोनबाटै उनले आफूले देखेको सबै घटनाक्रम बताइन्। उनले मोटरसाइकल नम्बर पनि टिपाइन्। साँझ परिसकेको हुँदा भोलिपल्ट बिहानै डिएसपी रिजालले आफूले पाएका सूचनाका आधारमा तुलसीपुरस्थित यातायात कार्यालयबाट मोटरसाइकलको खोजी गर्यो।
त्यसको केहीबेरमै मोटरसाइकल धनीको पहिचान खुल्यो। इलाका प्रहरी कार्यालयले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित अस्थायी प्रहरी पोष्ट जस्पुरलाई त्यसको रिले गर्यो।
जस्पुरबाट प्रहरीले तुलसीपुर १२ कचिलाका निमबहादुर चौधरीलाई मंसिर २७ गते फोन गर्यो। त्यतिबेला उनी उरहरी चोकस्थित आफ्नो मोटरसाइकल ग्यारेजमा काम गरिरहेका थिए।
चौधरीले प्रहरीलाई कुनै कुरा लुकाएनन्। उनले आफूहरूले सात लाख भेटाएको र सुरक्षित साथ राखेको जानकारी दिए।
चौधरीले सेतोपाटीलाई बताए अनुसार उनीहरू घोराहीको भरतपुरमा साथीको बिहेबाट फर्किदै गर्दा बाटोमा पैसा देखेपछि टिपेर ल्याएका हुन्।
‘सर्रा चोक पुग्नुभन्दा १०० मिटर पूर्वतर्फ सडकमै केही पैसा झोला बाहिरै निस्किएको र केही झोलामै देखेपछि हामीले टिपेका हौं,’ उनले भने, ‘हामीले त्यसरी पैसा उठाउँदा अरू मानिसले पनि देखेका हुन तर, कसैले केही भनेनन्।’
त्यतिधेरै पैसा बाटोमा फेला पारेपछि आफुहरू आत्तिएको उनले बताए।
‘के गर्ने के नगर्ने भन्ने भयो, प्रहरीमा जाँदा उल्टो आरोप लगाउँछ कि भन्ने लाग्यो,’ उनले भने ‘बरु हामीले सल्लाह गरेर कतै समाचार आएमा त्यो पैसा फिर्ता गर्दिने भनेर सुरक्षित राखेका हौं।’
निमबहादुरको साथमा तुलसीपुर ७ का साजन चौधरी पनि थिए। त्यसपछि उनीहरू दुबैलाई प्रहरीले इप्रका तुलसीपुर हुँदै सात लाख रकमसहित घोराही पुर्यायो।
अनुसन्धान पुरा गरी प्रहरीले मंसिर २९ गते घोराही १० नारायणपुरका व्यवसायी खिमराज शर्मालाई सबै रकम हस्तान्तरण गरेको थियो।
शर्माका अनुसार उक्त दिन उनी घोराहीस्थित सिद्धार्थ बैंकबाट उक्त रकम निकालेर झोलामा राखेर मोटरसाइकलको लेगगार्डमा झुण्ड्याएर पश्चिम घर जाँदै थिए। त्यसक्रममा झोला चुँडिएर त्यो पैसा खसेको थियो।
डिएसपी रिजाल र प्रहरी निरिक्षक महतले संयुक्त रूपमा रकम शर्मालाई हस्तान्तरण गरेका थिए। शर्माले प्रहरी निरीक्षक महत र डिएसपी रिजाललाई खुसी भएर खादा ओढाएर सम्मान गरेका थिए।
तर डिएसपी रिजाल र प्रहरी निरिक्षक महतले भने शर्मालाई फेरिफेरी यस्तो लापरबाही नगर्न सचेत गराएका थिए।
‘उहाँ त भन्दै हुनुहुन्थ्यो मेरो पैसा हराउने क्रममा ह्याट्रिक भइसक्यो,’ महतले भनिन्,‘ मैले उहाँलाई आइन्दादेखि सावधानी अपनाउन खबरदारी गरे। उहाँले सावधानी अपनाएको भए कसैले दुःख पाउनु पर्ने थिएन।’
प्रहरी निरीक्षक महत एउटा असल प्रहरीले ड्युउटीमा हुँदा होस वा नहुँदा आफ्नो कर्तव्य जहिलै पुरा गरेको हुनुपर्ने बताउँछिन्।
‘असल प्रहरी २४सै घन्टा ड्युटीमा हुनुपर्छ,’ उनले भनिन्, ‘यो जिम्मेवारी बोध बर्दी लगाउँदा हैन, नलगाउँदापनि पुरा गर्न सक्नुपर्छ।’