घोराही चारलेन सडक निर्माणको जिम्मा फेरि पनि पेटी ठेकेदारलाई दिइएको छ।
तुलसीपुर उपमहानगरपालिकाको हात्तिखौवा चोकदेखि घोराही उपमहानगरपालिकाको बबई नदीसम्म चार लेन सडक निर्माणको जिम्मा फेरि पनि पेटी ठेकेदारलाई दिइएको छ।
यो सडक विस्तार र कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लि.ले पेटी ठेकेदारहरू बेडा बाबा कन्स्ट्रक्सन, विमला निर्माण सेवा र शिवपुरी निर्माण सेवालाई सडक निर्माणको जिम्मा दिएको तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राका आधिकारीक प्रतिनिधि विजय पाठकले सेतोपाटीलाई बताए।
यसअघि तथ्य इन्जिनियरिङको तर्फबाट स्थानीय अनुप पाण्डेको अष्टभैरव निर्माण सेवा कम्पनीले कामको जिम्मा पाएको थियो।
२ वर्षमा काम पुरा गर्ने गरि करिब ३४ महिनाअघि ठेक्का सम्झौता सकारेको अष्टभैरवले काम नगरेको भन्दै तथ्यले उसँग सम्झौता तोडेको थियो।
समयमै काम नसकेपछि तथ्य इन्जिनियरिङले पाण्डेसँगको सम्झौता तोडेर आफैं सडक निर्माण गर्ने वाचा सार्वजनिक रूपमै गरेको थियो। तर, तथ्यले फेरि तीन वटा पेटी ठेकेदारलाई सडक निर्माणको निर्माणको जिम्मा दिएको छ।
तथ्यले गत मंसिर १० गते घोराहीमा चार लेन सडकको शुभारम्भ गर्दै कम्पनीका प्रमुख प्रविन ब्रह्मदेव पाण्डेयले अब सडक निर्माणको काम आफैंले पुरा गर्ने बाचा गरेका थिए।
आफैंले कामको जस वा अपजस लिने बताएको तथ्यले एक महिना नबित्दै काम गर्ने जिम्मा तीन नयाँ पेटी ठेकेदारलाई दिएको छ।
नयाँ ठेकेदारलाई कामको जिम्मा दिँदै तथ्य प्रमुख प्रविन ब्रह्मदेव पाण्डेयले अब सडक निर्माणको कामले गति लिने दाबी गरे। यद्यपी समयमै पुरा हुनेमा स्थानीय आशंका व्यक्त गर्छन्।
बबई नदीदेखि चौघेरासम्म पहिलो खण्डको ५ किलोमिटर बेडा बाबा कन्स्ट्रक्सन, घोराहीको डिके पेट्रोलपम्पदेखि खैरासम्मको १२ किलोमिटर बिमला निर्माण सेवालाई र बाँकी खैरादेखि तुलसीपुरको हात्तिखौवासम्मको १२ किलोमिटर सडक निर्माणको जिम्मा शिवपुरी निर्माण सेवालाई काम गर्ने जिम्मेवारी दिइएको तथ्यका प्रतिनिधि पाठकले जानकारी दिए।
तीन वटा निर्माण कम्पनीले उक्त सडक खण्डमा १४ दशमल ४६ किलोमिटर सडक चार लेन र १३ दशमल ७३ किलोमिटर दुई लेन सडक निर्माण गर्ने जिम्मा पाएका हुन्।
बबई नदीदेखि–कुटवा खोलासम्म ६ दशमल ५३ किलोमिटर, सर्रादेखि नारायणपुर बजारसम्म ३ किलोमिटर र खैरादेखि दुधरासम्मको ३ दशमलब ७ किलोमिटर सडक दुई लेन र घोराहीको डिके पेट्रोल पम्पदेखि सर्रा चोकसम्म ४ किलोमिटर, नारायणपुर बजारदेखि खैरासम्म २ किलोमिटर र दुधरासदेखि तुलसीपुरको हात्तिखौवासम्म ८ दशमलब ३१ किलोमिटर सडक चारलेन बनाउने गरी तीन पेटी ठेकेदारले कामको जिम्मा पाएको पाठकले बताए।
सडक निर्माणका लागि कानुनी तथा प्राविधिक प्रक्रिया मिलाउने क्रममा अहिले सडकमा भौतिक प्रगति देखिने गरि नभएको तथ्यका प्रतिनिधिले बताए।
‘पहिले निर्माणको जिम्मा पाएको ठेकेदारको लापरवाहीका कारण कागजी र कानुनी प्रक्रिया मिलाउँदा काम गर्न ढिलाई भएको छ । आज हामी काम मिलाउने अव अन्तिम चरणमा छौं,’ प्रतिनिधि पाठकले भने,‘यो काम सकेपछि सडकको निर्माणको कामले गति लिनेछ।’ उनले उक्त काम अबको एक हप्ताभित्र सकिने जानकारी दिए।
निमार्ण कम्पनीको कागजी प्रक्रिया अघि बढाएको, निर्माणका लागि चाहिने माटो ढुंगा खोज्ने काम भएको, स्ट्याम जेभी कन्सल्टेन्सीसँग सडकको पूरा इन्जिनियरिङ डिजाईन ल्याउने तथा माटो परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने काम भएको पाठकले जानकारी दिए।
पहिलाका ठेकेदार पक्ष अनुप पाण्डेयले ल्याब परीक्षणको रिपोर्ट नदिएपछि माटो परीक्षण गर्न केन्द्रमा पठाउनुपर्दा काममा ढिलाई भएको गुनासो गरे।
चार लेन सडक निर्माणको काम १ करोड २१ लाख ८२ हजार अमेरिकन डलरमा निर्माण गर्न लागिएको छ।
भारतीय एक्जिम बैंकमार्फत रकम भुक्तानीको ब्यवस्था गरिएको छ। सडक निर्माण गर्दा अधिकांस उपकरण तथा निर्माण सामाग्री भारतबाटै खरिद गरेको हुनुपर्ने प्रावधान राखिएको छ।
चार लेन सडक समयमै निर्माण नहुँदा सर्वसाधारणको यात्रा कष्टकर बनेको छ। jर्षायाममा हिलाम्मे र आजकल सडक धुलाम्मे हुने गरेको छ।