सार्वजनिक सिँचाई कुलो मासेर जग्गा प्लटिङ गर्न खोजिएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसबिरूद्ध खबरदारी गरेको छ ।
घोराही उपमहागनरपालिका वडा नं. १७ भैंसाहीको साबिक हरिद्वार ९ ‘ग’ ८१ नम्बर कित्तामा पर्ने चौघेरा, भैसाही, बर्गद्दी र ओखरासहित चार गाउँको सिँचाई कुलो मासेर भूमाफियाले घडेरी बनाउन लागेपछि अख्तियार उक्त काम तत्काल रोक्न निर्देशन दिएको हो।
घोराही उपमहानगरपालिकाका प्रशासन शाखाका उपसचिव बासुदेब आचार्यले अख्तियारले अघिल्लो साता पत्रसहित ह्यूमपाइप हटाउन निर्देशन दिएको सेतोपाटीलाई जानकारी दिए।
अख्तियारको पत्रका आधारमा उपमहानगरले घोराही १७ को वडा कार्यालय र कुलो समितिका अध्यक्षलाई पत्राचार गरि सात दिन भित्र कुलो मास्ने उद्धेश्यले भइरहेका गतिविधि रोक्न आग्रह गरेको आचार्यले जानकारी दिए ।
‘अख्तियारको पत्रका आधारमा हामी पनि घटनास्थल पुगेर निरीक्षण गरेका हौं,’ आचार्यले भने, ‘त्यहाँ केही भूमाफियाले सिँचाई कुलोमा आफूखुसी ह्यूमपाइप राखेर माटो फिलिङ गरि सडक निकाल्ने काम गरेको देखियो,’ उनले भने।
आफूहरूले गरेको आग्रह अनुसार ह्यूमपाइप झिकेर नफाले उपमहानगरले आफैं त्यो फाल्ने आचार्यले जानकारी दिए। ‘सर्वसाधारणको खेतबारीमा सिँचाई गर्ने कुरासँग जोडिएको कुलो मास्ने र भू-माफियालाई लाभ हुने गरि कार्य गर्न दिनु उचित हुँदैन,’ उनले भने ।
भूमाफियाले स्थानीय चार गाउँले सार्वजनिक सिँचाई कुलो मासेर सडक निर्माण गरि घर घडेरीका लागि प्लटिङ गर्न खोजेको भनेर त्यसविरूद्ध अख्तियारमा तीन वटा उजुरी परेका थिए।
अख्तियारबाट पत्र प्राप्त भएपछि उपमहानगरले प्राविधिक र इन्जिनियरसहितको टोली पठाएर स्थलगत निरीक्षण गरिसकेको आचार्यले जानकारी दिए।
‘त्यँहा सार्वजनिक कुलोमाथि ह्यूमपाइप राखेर त्यसलाई माटोले पुरेर सडक निर्माण गरिएको रहेछ,’ आचार्यले भने, ‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने मन्त्रिपरिषदले नै निर्णय गरिसकेको कुरा हो र त्यसमा स्थानीय तह, स्वायत्त शासन ऐनमा पनि संरक्षण गर्नुपर्ने स्पष्ट उल्लेख छ।’
ब्यक्ति विषेशलाई फाइदा हुने र समुदायलाई अहित हुने काम कसैले गर्न नपाउने उनले बताए।
यो विषयमा यसअघि जिल्ला प्रहरी कार्यालय घोराही दाङमा पनि उजुरी परेको थियो। जिल्ला प्रहरी प्रमुख एसपी सुरेशकुमार काफ्लेले पनि सार्वजनिक सिँचाई कुलो मास्ने गरि भइरहेको काम रोक्न निर्देशन दिएका थिए।
स्थानीय केही सर्वसाधारणले घोराही १७ का वडा सदस्य तुलप्रसाद घिमिरेको मिलेमतोमा सार्वजजिनक सिँचाई कुलो मास्ने काम भइरहेको भन्दै गुनासो गरेका छन्। तर, वडा सदस्य घिमिरेले भने आफू कुनै भूमाफिया नभएको तथा आफ्नो जग्गा त्यो भन्दा भित्र पर्ने प्रतिक्रिया दिए। ‘कुलोलाई ब्यवस्थित गर्ने सवाल हो। बाटो निकाले सबैलाई सहज हुने थियो,’ उनले भने ‘स्थानीय एक जना ब्यक्तिको उजुरीले गर्दा भइरहेको एउटा राम्रो काम भत्काउने स्थिति उत्पन्न हुनु त्यति उचित होइन।’
चार गाउँले सिँचाई कुलो क्षेत्रको चिरो भाटेर त्यसमा सडक बनाउन अनुमति घोराही उपमहानगरपालिका र वडा कार्यालयबाट प्राप्त भएको हुँदा काम भएको उनले जानकारी दिए ।
त्यस्तै स्थानीय सिँचाई कुलोका उपभोक्ता तथा कुलो सञ्चालक समितिका एक सदस्य उमानन्द खनालले पनि उक्त स्थानमा अलि ठूलो खाडल र चिरो रहेको भन्दै त्यो पुरेर सडक निर्माण गरे सबै गाउँलेलाई फाइदा पुग्ने बताए।
‘घोराही बजार क्षेत्रबाट बगेर आउने फोहर पनि जम्मै त्यसमा आउँथ्यो,’ उनले भने ‘त्यहाँ चिरो रहेको हुँदा धेरै दुर्घटना भइरहेका छन्। त्यो पुर्दा नै ठिक हुन्थ्यो।’
‘यो गाउँले मिलेर गर्न थालेको काम थियो,’ उनले भने, ‘सबै गाउँलेकै जग्गा जमिन छ र त्यहाँ प्लटिङ गर्दा जग्गाले राम्रै मूल्य पाउने अवस्था आउँछ।’
उनले चार गाउँले सिँचाई कुलोमा ह्यूमपाइप राख्ने र चिरो पुर्ने काम स्थानीयकै सहमतिमा भएको हुँदा त्यो उम्काएर फाल्न नहुने बताए। ‘हामीले हिजोमात्रै घोराहीका मेयरलाई गएर भेटेका छौं,’ उनले भने, ‘उहाँले पनि हामीलाई साथ दिने कुरा गर्नु भएको छ।’