रोल्पामा रडले प्रहार गर्दा तीन जना गम्भीर घाइते भएका छन्।
रुन्टीगढी गाउँपालिकास्थित होलेरी बजारस्थित होलेरी गेष्ट हाउसमा तीन जना साथीमाथि रड प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।
रड प्रहारबाट रुन्टीगढी गाउँपालिका-७ का ४२ वर्षीय भीमबहादुर थापा, ३९ वर्षीय सरोज पुन र रुकुम पश्चिमको सानी भेरी गाउँपालिका-४ घर भई नेपालगन्ज बस्ने ४३ वर्षीय मैतबहादुर बिक गम्भीर घाइते छन्।
उनीहरूमाथि रुन्टीगढी-९ का ४६ वर्षीय टेकबहादुर वलीले सुतेको समयमा रड प्रहार गरेको घिमिरले बताए।
उनका अनुसार चारै जना मंगलबार राति गेष्ट हाउसमा बास बसेका थिए। उनीहरू सबै एउटै कोठामा सुतेका थिए। राति सबै जना सुतिसकेपछि वलीले एकाएक तीनै जना साथीहरूमाथि रडले हानेको घिमिरेले बताए।
घाइते तीनै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये थापा र बिकको बाँकेको कोहलपुरमा र पुनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए।
उनका अनुसार घटनाबारे सूचना प्राप्त गर्नासाथ बुधबार बिहान साढे ३ बजे प्रहरी होटलमा पुगेको थियो। प्रहरी पुग्दा तीनै जना रगताम्मे र अचेत अवस्थामा थिए।
तत्कालै प्रहरीले उनीहरूको उद्धार गरी दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो। त्यहाँबाट उनीहरूलाई भैरहवा र कोहलपुर रिफर गरिएको थियो।
घाइते सबैको टाउको र अनुहारमा गहिरो घाउ खत रहेको सबैजना अचेत रहेको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका वलीलाई प्रहरीले बुधबार रुन्टीगढी-५ हातखोलाबाट नियन्त्रणमा लिएको छ।
घटनास्थलबाट प्रहरीले फलामको रड फेला पारेको छ।
प्रहरी नायब उपरीक्षक घिमिरेले घटनाबारे अनुसन्धान भइरहेको र नियन्त्रणमा लिइएका वलीसँग सोधपुछ गर्न बाँकी नै रहेको बताए।